जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्रकुमार साहको नेतृत्वमा बाराको कोल्हवी र निजगढ नगरपालिकास्थित बकैया खोलामा नदीजन्य पदार्थ उत्खनन कार्य तुरुन्त रोक्न निर्देशन दिएका छन् ।
मङ्गलवार दिउँसो कोल्हवी र निजगढ नगरपालिकाको बकैया खोलाको स्थलगत अनुगमन गर्दा ठेकेदार कम्पनीले मापदण्डविपरीत नदीजन्य पदार्थ ग्राभेल उत्खनन गरेको पाइएकोले ठेक्काको परिमाण र उत्खनन परिमाणको यकीन हिसाब स्थानीय तह कोल्हवी र निजगढ नपाले जिल्ला समन्वय समिति कार्यालयमा नबुझाएसम्म उत्खनन कार्य तत्कालै बन्द गर्न स्थलगत निर्देशन दिएको जिसस, बाराका प्रमुख साहले बताए ।
“खोला ठेक्का सकार गर्ने दुवै ठेकेदार कम्पनीले अहिलेसम्म के कति परिमाणमा नदीजन्य पदार्थ उत्खनन गरिसकेको छ । सोको यकीन विवरण प्राप्त भएपछि र त्यस उपर समन्वय समितिको बैठकको निर्णयको आधारमा थप आवश्यक निर्देशन स्थानीय तहलाई दिइनेछ,” जिसस प्रमुख साहले भने ।
ठेक्कामा तोकिएको परिमाण ठेकेदारले उत्खनन गर्न पाउनुपर्ने देखिए वातावरणीय परीक्षण प्रतिवेदनको मापदण्डको पूर्ण अधीनमा रही उत्खनन गर्न पुनः निर्देशन दिइने अनुगमनमा सहभागी बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए ।
“हामीले तत्कालै खोलामा उत्खनन बन्द भए नभएको निरीक्षण गरी जानकारी गराउन स्थानीय सुरक्षा निकाय इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी सुरक्षा बेसलाई निर्देशन दिइसकेका छौं । अटेर गरेको पाइए कानूनी कारबाही हुनेछ । खोलाको अनुगमन गरी ठेकेदारलाई मापदण्डको पालना गर्न गराउन कोल्हवी नपाका प्रमुख रामप्रसाद चौधरी र निजगढ नपाका प्रमुख सुरथ पुरीलाई कडाइका साथ भनेका छौं,” प्रजिअ घिमिरेले बताए ।
कोल्हवी नपाको सुवेदी निर्माण सेवा, महागढीमाई नगरपालिका–२ तेलकुवा र निजगढ नपाको हिमानी सप्लायर्स, निजगढ–७ ले मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरिरहेको पाइएकाले तत्कालै रोक्न निर्देशन दिएको प्रजिअ घिमिरेले बताए ।
कोल्हवी नगरपालिकामा चालू आव २०८०/८१ को लागि नदीजन्य पदार्थको ठेक्का बन्दोबस्ती मूअकरबाहेक दुई करोड ५६ लाख ४९ हजार ०६६ रुपैयाँ ७० पैसामा सुवेदी निर्माण सेवाले सकार गरेको थियो । जसबापत ठेकेदार कम्पनीले २८ लाख ४९ हजार ८९०.३० घनफिट मात्रै नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, बिक्रीवितरण गर्न पाउने ठेक्का सम्झौता भएपनि यसको पाँच गुना बढी परिमाण उत्खनन गरिसकेको स्रोतले जनाएको छ ।
त्यसैगरी, निजगढ नगरपालिकामा आव २०८०/८१ को लागि बकैया खोला, लाल–भक्तलाल खोला, शक्ति खोलाको नदीजन्य पदार्थको ठेक्का बन्दोबस्ती मूअकरसहित हिमानी सप्लायर्सले आठ करोड २८ लाख २९ हजारमा सकार गरेको थियो । ती खोलाहरूबाट ७० लाख छ हजार ६०८ घनफिट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, बिक्रीवितरण गर्न पाउने ठेक्का सम्झौतामा उल्लेख छ । तीनवटा खोलामध्ये ठेकेदार कम्पनीले बकैया खोलामा मात्र उत्खनन गरेको छ । यस आवको खोला ठेक्काको समयसीमा जेठ मसान्तमा सकिन्छ ।
खोलाहरूको अनुगमन गर्न टोली आउने जानकारी पाएपछि निजगढ नगर प्रमुख सुरथ पुरी, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलालगायत निजगढ नपाका कर्मचारीहरू खोलामा पुुगेका थिए । जिसस प्रमुख साह नेतृत्वको अनुगमन टोलीमा प्रजिअ घिमिरे, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख महेन्द्र खड्का, सशस्त्र प्रहरी बल, नेपाल बारा प्रमुख सन्तोषबहादुर सिंह, राष्ट्रिय अनुसन्धान कार्यालय बाराका प्रमुख दीपक खड्का, डिबका बाराका वन अधिकृत जवाहरलालप्रसाद कुर्मी, जिल्ला समन्वय अधिकारी आमोद चौधरी, सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस निजगढका प्रहरी नायब उपरीक्षक श्रीराम कुँवरलगायतको सहभागिता थियो ।