बजेट अभावमा सामाजिक विकासको कार्यक्रम प्रभावित

प्रस, वीरगंज, १ जेठ/

वीरगंज महानगरपालिका कार्यालय अन्तर्गतको सामाजिक विकास महाशाखाले बजेट अभावमा चालू आवमा एउटा पनि कार्यक्रम सञ्चालन गर्न सकेको छैन ।

चालू आवमा महानगरले आन्तरिक बजेटबाट सामाजिक विकास कार्यक्रमको लागि रु दुई करोड रकम विनियोजन गरेको थियो ।

नगरसभाले यो रकम विनियोजन गरे पनि महानगर आर्थिक सङ्कटमा परेपछि महाशाखालाई सोअनुरूपको रकम प्राप्त नहुँदा कार्यक्रम नभएको हो । सामाजिक महाशाखा प्रमुख राजीव गिरीले गत आव दुई करोड रकम विनियोजन भएकामा जनचेतना तथा सीपमूलक कार्यक्रमहरूमा पौने दुई करोड खर्च भएको बताए ।

उनले चालू आवको वैशाख मसान्तसम्म महानगरको आन्तरिक स्रोतबाट कुनै कार्यक्रम नभएको जानकारी गराए । प्रमुख गिरीले सङ्घीय सरकारबाट दलितहरूलाई लक्षित गरेर दुईवटा कार्यक्रम आएको र सो सञ्चालन हुने क्रममा रहेको बताए । उनले रु आठ लाख लागतमा दुईवटा कार्यक्रमको योजना तय भइसकेको र सो कार्यक्रम तुरुन्तै सम्पन्न गर्ने बताए ।

यसैगरी, प्रदेश सरकारबाट पनि आएको रकम सोही प्रकारले सञ्चालन भएको तर महानगरको आन्तरिक स्रोतबाट भने बितेको १० महीनासम्म कुनै पनि कार्यक्रम नभएको बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्