नयाँ दिल्ली, १ जेठ/सिन्ह्वा

भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमवार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै करीब ७५ जना घाइते भएका छन् ।

आँधीबेहरी र वर्षाका कारण ठूलो विज्ञापन बोर्ड खस्दा उक्त घटना घटेको नागरिक एजेन्सीका अधिकारीले फोनमा पुष्टि गरेका छन् । उक्त घटना देशको आर्थिक राजधानी मुम्बईको घाटकोपर क्षेत्रमा भएको हो । सामाजिक सञ्जालमा साभार गरिएका श्रव्यदृश्य सामग्रीहरूमा हावाहुरीबाट बच्न ठूलो विज्ञापन बोेर्ड मुनि धेरै कार तथा अन्य सवारीसाधनमा मानिसहरूले आश्रय लिएको देखाइएको छ ।

इन्धन स्टेशनको छेउमा जडान गरिएको उक्त विज्ञापन बोर्ड तीव्र गतिको हावाहुरीका कारण क्षतिग्रस्त भई खसेको थियोे । पीडितहरू आँधी र वर्षाबीच इन्धन स्टेशनमा शरण लिइरहेका अवस्थामा दुर्घटना हुँदा ठूलो सङ्ख्यामा ज्यान गएको स्रोतले जनाएको छ ।

स्थानीय प्रहरी र अग्नि नियन्त्रक विभागका कर्मचारीहरूले विज्ञापन बोर्डको मुनिबाट मानिसहरूको उद्धार गरी स्थानीय अस्पताल पु¥याएका थिए । पछिल्लो रिपोर्ट अनुसार मुम्बई पुलिसले अवैधरूपमा जडान गरिएको विज्ञापन बोर्डका मालिकविरुद्ध आपराधिक मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको बताइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here