प्रस, जनकपुरधाम, २० पुस/
‘लोक सेवा आयोगको कर्मचारी हुँ’ भन्दै ठगी गरेको आरोपमा एकजना युवकलाई जिल्ला प्रहरी कार्यालय, धनुषाले पक्राउ गरेको छ। विभिन्न नक्कली कागजातहरू देखाइ रेलवे कम्पनीमा नोकरी लगाइदिन्छु भन्दै सर्वसाधारणसँग ठगी गरेको युवकमाथि आरोप छ।
पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका वडा नं ७ दनौली बनौली बस्ने ३२ वर्षीय सागरकान्त चौधरी रहेको प्रहरीले जनाएको छ। धनुषा प्रहरीले बितेको आइतवार जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ स्थित सीता प्यालेस होटलअगाडिबाट पक्राउ गरेको चौधरीबारे मङ्गलवार सञ्चारकर्मीलाई जानकारी दिएका हुन्।
पक्राउ परेका चौधरीको साथबाट लोकसेवा आयोगको नक्कली नियुक्तिपत्र, नतीजा प्रकाशन शाखा, नेपाल रेलवे कम्पनी लिमिटेड कम्पनी लेखिएको कागजात, नेपाल इन्भेस्टमेन्ट बैंक लि.का राजेश कापरको नाउँको दस्तखत भएको खाली चेक दुईवटा, पर्सा जिल्ला अदालत, वीरगंज लेखिएको रबर स्टाम्प, रेलवे कम्पनीको नोकरी गर्न चाहने केही व्यक्तिको नाममा नक्कली नियुक्तिपत्र र शपथग्रहण पत्रलगायतका कागजात फेला परेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।
नक्कली नियुक्तिपत्र तयार गरी ठगी गरेको कुरा पक्राउ परेका युवकले स्वीकार गरेको प्रहरीको भनाइ छ। चौधरीलाई धनुषा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसूर मुद्दामा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।