प्रस, निजगढ, २ साउन/
इलाका प्रहरी कार्यालय निजगढले तीन महीनाको अवधिमा विभिन्न मुद्दाका फरार नौजना प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाएको छ । पक्राउ परेकाहरूबाट एक वर्ष १० महीना २८ दिन कैद र ८२ हजार ४७१ रुपैयाँ नगद जरिवानाबापत सङ्कलन गरिएको इप्रका निजगढ जनाएको छ ।
जबरजस्ती करणी ठहर भएका फरार प्रतिवादी हीरालाल हजरालाई प्रहरीले पक्राउ गरी बारा जिल्ला अदालतमा बुझाएको छ । उनी पुर्पक्षका लागि जेल चलान भएका छन् । त्यसैगरी, २५० ग्राम लागूऔषध बरामद मुद्दामा अनिलकुमार थिङ पक्राउ परेका छन् । उनलाई बारा जिल्ला अदालतले एक महीना कैद तोकेको छ ।
लागूऔषध मुद्दामा हरिबहादुर भण्डारीलाई इप्रका निजगढले पक्राउ गरेको छ । त्यसैगरी, निजगढ सडकको १२ किलोमिटरमा बेवारिसे अन्दाजी ६५ वर्षीया महिलालाई ठक्कर दिई घटनास्थलमा नै मृत्यु भएको घटनाका फरार ट्रक चालक सन्तोष थापालाई पनि प्रहरीले नियन्त्रणमा लिई ३५ हजार रुपैयाँ जरिवाना लिई धरौटीमा छोडेको छ ।
यसैगरी, निजगढ–७ नागचोकस्थित राजमार्गमा एक वृद्धलाई मोटरसाइकलले ठक्कर दिई फरार रहेका मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई अदालतमा बुझाएको छ ।
प्रहरीले २०७८ वैशाख ११ देखि असार २८ गते करीब ३ महीनाको अवधिमा विभिन्न समयमा उक्त व्यक्ति र सामानहरू नियन्त्रणमा लिई सम्बन्धित निकायमा आवश्यक कारबाहीको लागि पठाएको इप्रका निजगढले जनाएको छ । अन्य विभिन्न मुद्दामा संलग्न फरार प्रतिवादीहरूको खोजी कार्य भने तीव्ररूपमा भइरहेको प्रहरीले जनाएको छ ।