प्रस, वीरगंज, २० असार/

पर्सा जिल्लामा निषेधाज्ञा अर्को आदेश नहुन्जेलसम्म बढाइएको छ र यो अवधिमा यसअघिभन्दा केही सेवा खुकुलो पारिएको छ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र पर्साको आइतवार बसेको बैठकले निषेधाज्ञालाई निरन्तरता दिने सिफारिश गरेबमोजिम जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकार पीताम्बर घिमिरेले वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई लम्ब्याएका छन्।

यसपटकको निर्णयमा निषेधाज्ञा अवधि निर्धारण नगरिएकोले अर्को आदेश नहुन्जेल निषेधाज्ञा जारी रहेको बुझ्नुपर्ने सहायक प्रजिअ भीमकान्त पौडेलले बताए।

निषेधाज्ञा थप गरिए पनि यसअघि निजी सवारीसाधन मात्र सञ्चालन अनुमति दिइएकोमा यसपटक भने जिल्लाभरि सबैखाले सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउने अनुमति दिइएको छ। जिल्लाबाहिर भने सार्वजनिक सवारीसाधन सञ्चालनमा निषेध जारी छ।

यसैगरी, होटल, रेस्टुराँलाई सञ्चालन गर्न अनुमति दिइएको छ। कुल क्षमताको पचास प्रतिशत ग्राहक राखेर सञ्चालन अनुमति दिइएको छ। विद्यालय सञ्चालन सम्बन्धमा भने यसपटकको बैठकले पनि कुनै निर्णय गरेको छैन। मन्त्रिपरिषद्को निर्णय भएकोले सो सम्बन्धमा उतैबाट निर्णय हुनुपर्ने भन्दै आजको बैठकले पनि विद्यालय सञ्चालनबारे मौनता कायम गरेको छ।

सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाटबजार, मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय सञ्चालनमा रोक कायमै छ।

वीरगंज मुख्य नाकाबाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपारमा रोक कायमै छ। यसैगरी, आजको बैठकले मुख्य नाकाबाट विदेशी नागरिक प्रवेशमा रोक लगाइएको छ। नेपाली नागरिक मात्र मुख्य नाकाबाट प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, पर्साले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्दै आए पनि यस अवधिमा उसले गरेका निर्णय कार्यान्वयन गर्ने सवालमा कमजोर देखा परेको छ। जिप्रकाले निर्णय मात्र गर्ने र कार्यान्वयनको पाटोलाई बेवास्ता गरिरहेको छ।

निषेधाज्ञा अवधिमा रोक लगाइएका विषयहरू सञ्चालनमा रहँदा पनि अनुगमन नगरिएको कारण कारबाई प्रक्रिया फितलो देखा परेको हो।

निषेधाज्ञामा विवाह, व्रतबन्ध, न्वारन, संस्कार जस्ता कार्यमा बढीमा २५ जनाको उपस्थितिमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने भनिए पनि अहिले वैवाहिक कार्यक्रम वीरगंजमा खुलेआम पार्टी प्यालेसमा भइरहेका छन्। अहिले लगनको समयमा एकपछि अर्को पार्टी प्यालेसमा कार्यक्रम भइरहँदा पनि कुनै पनि निकायले रोकथाममा चासो देखाएका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here