वीरगंजमा दशकौंदेखि लोकप्रिय ब्यान्डबाजा पार्टीको नाम ‘झुमक ब्यान्ड’ हो । झन्डै आधा शताब्दीअगाडिदेखि नै झुमक ब्यान्डले वीरगंज र आसपासका क्षेत्र तथा भारतमा समेत धूम मचाउँदै आएको हो । पञ्चायतकालमा हुने सबै राष्ट्रिय पर्व, धार्मिक काम र राजारानीको वीरगंज आगमनमा समेत सबैको पहिलो रोजाइ झुमक ब्यान्ड नै हुने गथ्र्यो ।
झुमक ब्यान्डको स्थापनाको कथा पनि घतलाग्दो छ । हाल वीरगंजमा झुमक ब्यान्डका सञ्चालक गणेश परियारका बुबा झुमकसिंह परियार र हजुरबुबा टलसिंह परियार कुनै जमानामा कलकत्ता पुलिस (बिएमपी)मा ब्यान्डबाजा मास्टर थिए । बङ्गाल मिलिट्री पुलिसमा टलसिंह परियार र झुमकसिंह परियारले वर्षौंसम्म ब्यान्डबाजा बजाएर तहल्का मचाए । सिंह टाइटल भएकाले बङ्गाल पुलिसमा यिनलाई राजपूत भनिन्थ्यो ।
त्यसताका बङ्गालमा ठूलो हिन्दू–मुस्लिम दङ्गा भयो । त्यो जातीय दङ्गाले डराएर टलसिंह र झुमकसिंह परियार जागीर छाडेर नेपाल आए । उतिबेला नेपालमा छुवाछूतको ेभावना अचाक्ली थियो, काठमाडौंमा झनै अति । त्यसपछि उनीहरू वीरगंज झरे र वीरगंजमा जातीय गन्ध न्यून महसूस गरे अनि वीरगंजमैं रमाएर बसे । टलसिंह परियारले त्यतिखेरै छोरा झुमकको नाममा झुमक ब्यान्डको स्थापना गरे । जुन आजपर्यन्त झुमक ब्यान्डको नामले मधेसमा प्रसिद्ध छ । त्यतिखेर वीरगंजमा ब्यान्डबाजाको चलन थिएन । टल र झुमक बिन बुलावल मेहमानझैं आप्mनो टीम लिएर ठूलाबडाको जन्मदिन, विवाह, धार्मिक काममा पुग्थे, बाजा बजाउँथे, भोज खान्थे, फर्किन्थे । त्यतिखेर बाजावालालाई नगदी दिने चलन थिएन तर बाजा बजाएबापत भरपेट भोजन पाइन्थ्यो ।
गहवाका केही चमार जातिलाई बाजा ठोक्न सिकाएर झुमकले पाँचजनाको टीम बनाए । झुमक ब्यान्ड टलसिंह परियार, झुमकसिंह परियार, गणेश परियार हुँदै चौथो पुस्ताले बजाउँदै आएको छ । गणेशदाइ अचेल बजाउन सक्दैनन्, उनका सन्तानहरूले बजाउँछन् । टलसिंह र झुमकबाहेक कलकत्ता पुलिसमा बाजा बजाउने मनहरि सिंह पनि थिए । कलकतिया दङ्गापछि टलसिंहको परिवार नेपाल पस्यो भने मनहरि सिंह बम्बई गए । टलसिंहले झुमकको विवाह वीरगंजको बिर्तामैं गरिदिए । गणेश परियार विसं २००८ मा वीरगंजमंै जन्मिए । अझै पनि दशकौंदेखि फूलपाती माल अड्डा अर्थात् अहिलेको मालपोत कार्यालय बिर्ताबाट माईस्थान भिœयाइन्छ र यो कार्य झुमक ब्यान्डले आधा शताब्दीदेखि बाजा बजाइ गहवा माईस्थान ल्याउँछ । माल अड्डामा निशानमाईको मन्दिर छ । दशमीका दिन निशानमाईमा एउटा कालो बोका र राँगा ढालिन्छ । राँगाको मासु प्रसादको रूपमा झुमकका चमार ब्यान्ड मास्टरहरूलाई वितरण गरिन्छ । २०८१ को बडादशैंमा बजेट छैन भन्दै हाकिमले बोका ढाल्ने तर राँगा नकाट्ने भनेपछि ब्यान्ड मास्टरहरू निराश भए तर पछि राँगो पनि ढालिएछ । अहिले पनि झुमक ब्यान्डमा बाजागाजासहित ३० जनाको टीम छ । यो टीमलाई झुमक ब्यान्डले ३० हजार शुल्क तोकेको छ । विगतमा ठूलाबडाका धार्मिक उत्सव, शुभकार्यमा जाँदा सरोकारवालाहरूले ‘ए मास्टर तिमीहरूलाई कसले बोलायो ?’ भनी प्रश्न गर्दा झुमकले हजुर हामी गाउँछौं, बजाउँछौं, नाच्छौं, खान्छौं अनि जान्छौं भन्थे । त्यो दिनको सम्झना गणेश परियारलाई ताजै छ ।
अचेल त पेश्की दिएर महीनौंअगाडिदेखि झुमक ब्यान्ड बूक गर्नुपर्छ । अन्य थुप्रै ब्यान्ड (बाजा बजाउने टीमहरू) अस्तित्वमा आए पनि झुमक ब्यान्डको छुट्टै शान, बान र आन छ । झुमकले पञ्चेबाजासमेत बजाउँथे । गणेशले १० वर्षको उमेरदेखि ७० वर्षको उमेरसम्म ६० वर्ष लगातार बाजा बजाए, स्याबासी कमाए ।