प्रस, वीरगंज, ८ असार/

निषेधाज्ञा खुकुलो भएसँगै वीरगंज महानगरमा निश्शुल्क भोजन गराउने कार्य बन्द हुँदैछ ।विभिन्न सङ्घसंस्थाले वैशाख १६ गतेदेखि निषेधाज्ञा शुरू भएपछि त्यसको एक सातापछि निश्शुल्क भोजन व्यवस्था गर्दै आएका थिए ।

अस्पतालका कुरुवा, सडकपेटीमा दिन बिताउने, दीनदुःखी, दैनिक ज्याला मजदूरी गर्नेहरूलाई निश्शुल्क भोजन गराउँदै आएको संस्थाले निषेधाज्ञा खुकुलो भएसँगै सेवा बन्द गर्न थालेका छन् ।

यसै क्रममा अहिले महानगरमा रेलवे कटेजले मात्र निश्शुल्क भोजन सेवालाई निरन्तरता दिएको छ । रेलवे कटेजका सञ्चालक ओमप्रकाश सर्राफले निषेधाज्ञा जारी रहुन्जेलसम्म भोजन गराउने बताए । उनले पहिलो चरणमा दाताहरूबाट सहयोग प्राप्त भएपनि पछिल्लो समयमा आफ्नो खर्चमा निश्शुल्क भोजनलाई निरन्तरता दिंदै आएको र निषेधाज्ञा जारी रहुन्जेलसम्म निश्शुल्क भोजन गराउने बताए । उनले अहिले बिहान करीब डेढ सय मानिसलाई शङ्कराचार्यद्वारदेखि पावरहाउस चोकसम्म भोजन गराउँदै आएको बताए ।

यसका साथै रात्रि भोजन भने फोन गरेर आग्रह गर्नेलाई उपलब्ध गराउने गरेको उनले जानकारी गराए । वीरगंज महानगरमा समर्पण सेवा संस्था र साहिब दरबार सेवा संस्थानले निषेधाज्ञा शुरू भएको एक सातापछि सर्वप्रथम निश्शुल्क भोजनको सुरुआत गरेका थिए । ती संस्थाले ४६ दिनपछि निश्शुल्क भोजन बन्द गरेका थिए ।

यसका अतिरिक्त कोभिड एक्शन टीम (क्याट)ले पनि १९ दिन निश्शुल्क भोजन गरायो । क्याट किचनको नाममा १९ दिन निश्शुल्क भोजन गराएको र निषेधाज्ञा खुकुलो भएपछि बन्द गरिएको क्याटका सदस्य तबरेज अहमदले बताए । नेपाली काङ्ग्रेस, पर्सा क्षेत्र नं १ ले गत सोमवारदेखि निश्शुल्क भोजन बन्द गरेको छ । क्षेत्रीय सभापति विजय सर्राफले महाधिवेशनको सिलसिलामा काठमाडौं जानुपरेकोले तत्काल निश्शुल्क भोजन बन्द गरेको बताए । उनले आवश्यकता परे पुनः सेवा सुचारु गर्ने बताए ।

यसैगरी, वीरगंजमा हन्डेड्स गु्रपले पनि २९ दिनपछि निश्शुल्क भोजन बन्द गरेको छ । साँझको खाना र दिउँसो महानगरमा खटेका सुरक्षाकर्मीलाई खाजा, पानीको प्रबन्ध गर्दै आएको गु्रपका कोषाध्यक्ष आशिष गुप्ताले बताए । यसैगरी, वीरगंजमा दुई वर्षदेखि सद्भाव समितिले साप्ताहिकरूपमा शनिवार निश्शुल्क भोजन गराउने कार्यलाई हालसम्म निरन्तरता दिएको संस्थाका रमेश जाटियाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here