प्रस, रौतहट, २७ माघ/
रौतहट जिल्ला क्षेत्र नं ३ का पूर्वसांसद प्रभु साहले आफ्नो संसदीय कोषको बजेटबाट भएका विकास कार्यको प्रगति विवरण सार्वजनिक गरेका छन्।
नेकपा विभाजित भएपछि माओवादी परित्याग गरी नेकपा एमालेमा रहेकाले उनको सांसद पद गुमेको थियो। यो अवधिमा उनले आफू सांसद हुँदा २०७६/७७ मा गरेका विकास कार्यलाई सार्वजनिक गरेका हुन्। उनले सार्वजनिक गरेको बूकलेटमा जिल्लामा पिछडिएको आफ्नो क्षेत्रको विकास गरी अनुहार फेरिएको दाबी गरेका छन्। बाटोघाटोको अभाव, बिजुली, खानेपानी, शिक्षाजस्ता आधारभूत आवश्यकताबाट विमुख आफ्नो क्षेत्रको मुहार फेर्ने गरी परिवर्तन गरेको दाबी उनले गरेका छन्।
उनले आफ्नै प्रयासमा मौलापुर बजारलगायत क्षेत्र नं ३ अहिले जिल्लाको विकसित क्षेत्रमा गणना भएको बूकलेटमा उल्लेख गरेका छन्। उनले प्रत्येक गाउँमा जाने सडकको स्तरोन्नति गरेको, खानेपानीमा सुधार गरेको, शिक्षाको उचित व्यवस्थापन, घरघरमा ग्याँस चुलो, सिलिन्डर पु–याएको, छात्राहरूलाई साइकल र विद्यार्थीहरूलाई प्रविधिसँग जोड्न ल्यापटपलगायत उपकरणहरू उपलब्ध गराएको, चोकहरूको नामकरण गरेको, जनताको जमीनलाई ल्यान्डपुलिङ गरी शहरसँग जोड्ने प्रयास गरेकोजस्ता राम्रा कामहरू गरेको दाबी गरेका छन्। बूकलेटमा उनले सबै नेताले आफूसरहको उत्तरदायीपूर्ण काम गरेको भए देशको विकास हुने बताएका छन्।