ओमप्रकाश चौधरी, सेढवा, ८ साउन/

पर्सा जिल्लाको थारूवान क्षेत्रमा अगहनी वर्षे बाली धानको रोपाइँ भएको दुई साता नबित्दै बालीमा रोग लाग्न थालेको किसानहरूले बताएका छन् ।

यस वर्ष अन्य वर्षको तुलनामा बढी पानी परेका कारण धानबाली कुहिनुका साथै विभिन्न रोग लाग्न थालेपछि किसानहरू चिन्तामा परेका हुन् । सारो धान अन्तर्गतका सोना सारो, भदई मन्सुली हाइब्रिड तथा अगहनी धानभित्र पर्ने सोना मन्सुली, मोटरी मन्सुली जातका धानमा रोगको प्रकोप बढेको किसानहरू बताउँछन् ।

जीराभवानी गाउँपालिका–१ शान्तिनगरकी किसान अञ्जना श्रेष्ठले धानको बोटलाई कीराले खाने तथा कुहिने गरेको बताइन् । उनले भनिन–रोपाइको दुई सातामा धान हरियो हुनुको साटो पहेलो भएर सुक्न थालेको छ ।

जीराभवानी गापा–५ सखुवनियाका किसान मुक्तिनारायण दासले डेढ बिघा खेतमा रोपिएको धानबालीमा यही रोगको समस्या भएको बताए । रोग नियन्त्रणका लागि मलमा कीटनाशक औषधि मिसाएर छरेको उनले बताए । औषधिबाट रोग नियन्त्रण हुन नसके बाली नष्ट हुने सम्भावना बढी हुने चिन्ताले दास थप पीडा महसूस गर्दैछन् ।

यता ठोरी गापा–५ सुवर्णपुरमा पर्ने क्षेत्रीलाइन, गडुवालाइन, बथेटोल, बाघमोर्चा, शिवचोकलगायत क्षेत्रका किसानहरूले यो रोगका कारण यस वर्षदेखि कीटनाशक औषधि प्रयोग गर्न शुरू गरेको स्थानीय किसान बलराम कोर्मोचाले बताए ।

रोपिएको धानको गाभामा कीरा लागेर बाली सुक्न थालेपछि सो क्षेत्रका किसानहरूले कीटनाशक औषधि प्रयोग गरेको कोर्मोचाले बताए । विगतमा यहाँका किसानले धानबालीमा कीटनाशक औषधि प्रयोग गर्दैनथे ।

जीराभवानी गापाको कृषि शाखा प्रमुख बृजेश साहले यस वर्ष अत्यधिक वर्षाका कारण घाममा खेत जोताइ गर्न नसकेको कारण जमीनभित्र रहेका कीरा, कीराको अन्डा तथा गड्यौला नष्ट हुन नसकेपछि धानमा अहिले रोगको प्रकोप बढेको बताए । उनले पछि पनि रोगको प्रकोप बढ्ने सम्भावना रहेको हुँदा समय–समयमा जेटिएसँग कृषिसम्बन्धी सल्लाह लिएर औषधि प्रयोग गर्न सुझाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here