प्रस, वीरगंज, १५ वैशाख/
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेतले वर्तमान समीकरणको सरकार ढलेर एमाले–काङ्ग्रेस गठबन्धनको सरकार बन्ने बताएका छन् ।

शनिवार बाराको प्रसिद्ध गढीमाई मन्दिर दर्शन गरी स्थानीय कार्यकर्ताहरूसँगको भेटमा उनले अहिलेको समीकरणको सरकार चाँडै ढल्ने र एमाले–नेकाबीच गठबन्धनको सरकार बन्ने ठोकुवा गरे । नेता बस्नेतले आगामी चुनावमा काङ्ग्रेसले कसैसँग गठबन्धन नगर्ने र सोअनुरूप बहुमतको सरकारका लागि तयारी रहन कार्यकर्ताहरूलाई निर्देशन दिए । उनले कार्यकर्ताहरूको चाहना अनुरूप ८४ को चुनावमा गठबन्धन हुँदैन र काङ्ग्रेस एक्लै बहुमत ल्याउने गरी लड्छ भने । उनले गठबन्धनबाट चुनाव लड्दा नेकालाई घात भएको र कार्यकर्ताहरूको मनोबल खस्किएको महसूस भएको भन्दै अब गठबन्धन हुँदैन तर कुनै स्थानमा भने सहकार्य भएर मित्रवत् प्रतिस्पर्धा हुन सक्छ ।

नेपाल तरुण दलका अध्यक्ष विद्वान् गुरुङले लोकतन्त्रको रक्षार्थ नेका कार्यकर्ता आगामी दिनमा एकजुट भएर प्रस्तुत हुनुको विकल्प नरहेको बताए । उनले सबै कार्यकर्तालाई उच्च मनोबलका साथ ८४ को तयारीमा जुट्न र नेकालाई बहुमत प्राप्त गर्नेगरी आफ्नो क्षेत्रमा जनताबीच रहेर काम गर्न निर्देशन दिए ।

कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवाल, नेका बाराका सभापति राजेशराय यादव, क्षेत्रीय सभापति लोकेश सिंह, तरुण दल बाराका सभापति दीपेन्द्र पटेल, वडाध्यक्ष दीपेन्द्र कुशवाहा, राजकिशोर गुप्तालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here