काठमाडौं, ७ भदौ/रासस

बितेको २४ घण्टामा एक हजार ८०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या आठ लाख २९ हजार ४४३ पुगेको छ।

थप आठ हजार ७०४ जनाको पिसिआर परीक्षण तथा दुर्ई हजार ६२२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो। पिसिआर विधिबाट एक हजार ५४८ तथा एन्टिजेनबाट २५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।    

हालसम्म सात लाख ९७ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ९२४ सङ्क्रमित निको भएर घर फर्केका छन्। निको हुने दर ९३ दशमलव पाँच प्रतिशत रहेको छ। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ३५१ रहेको छ।

बितेको २४ घण्टामा देशभर १२ हजार ३४४ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। हाल देशभर ६७९ सङ्क्रमितको सघन उपचार कक्षमा तथा १७६ सङ्क्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ।

काठमाडौं उपत्यकामा ७०८ सङ्क्रमित

काठमाडौं उपत्यकामा पछिल्लो समय ७०८ सङ्क्रमित थपिएका छन्। काठमाडौंमा ४४१, ललितपुरमा १६७ तथा भक्तपुरमा १०० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १८२, भक्तपुरमा एक हजार ४११ तथा ललितपुरमा दुर्ई हजार २४० रहेको छ।

थप २४ सङ्क्रमितको मृत्यु

पछिल्लो समय देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २४ जना सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ५३३ पुगेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here