काठमाडौं ७ भदौ/रासस
लोडसेडिड्ढो अन्त्य भएपनि विनाजानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन। किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको छ। यस्तै, नयाँ बत्ती जडानका लागि मिटरसमेत पाउन छाडियो। नो लाइट नम्बरमा फोन गर्दा कर्मचारीको व्यवहार रूखो हुन थाल्यो। एकातिर फोन नउठ्ने, उठीहाले पनि कुनै जानकारी नदिने अवस्था देखिन थाल्यो। पछिल्लो एक वर्षमा आम उपभोक्ताले यस्ता भोग्दै आएका छन्। गुनासो गर्ने निकायले गुनासो सुन्दैन, आवश्यक परेको बेलामा विनाजानकारी बिजुली काटिन्छ।
समस्या बढ्दै गएपछि त्यसलाई समाधान गर्न प्राधिकरणले पहल थालेको छ। प्राधिकरणमा कार्यकारी निर्देशकको रूपमा पुनः नियुक्ति भएर आएपछि कुलमान घिसिङले उपभोक्ता भनेका देवता समान रहेको भन्दै समस्या समाधानका लागि पहल थालेका छन्।
विद्युत् आपूर्तिलाई नियमित, भरपर्दाे, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालिएको प्राधिकरणले जनाएको छ।
विनाजानकारी झ्याप्पझ्याप्प बत्ती जाने गरेको, नयाँ बत्ती जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउनेजस्ता गुनासा आउन थालेपछि यस्ता समस्या समाधान गरी सेवा प्रवाहमा सुधार ल्याउन प्राधिकरण व्यवस्थापनले आवश्यक प्रयत्न गरेको छ। प्राधिकरणले विद्युत् आपूर्तिलाई नियमित, भरपर्दाे तथा गुणस्तरीय र सेवा प्रवाहलाई छिटो, छरितो एवं सहज बनाउने विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ।
प्राधिकरणका कार्यकारी घिसिङले आज ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, सातवटै प्रादेशिक कार्यालयहरू, प्रदेश डिभिजन कार्यालयहरू र शाखाका प्रमुखहरूसँग भर्चुअल बैठक राखी कार्यालयहरूले बेहोरिरहेका समस्याबारे छलफल गरेका हुन्। छलफलको कार्यसूची अनुसार गुणस्तरीय विद्युत् आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन कायम गर्न कठोर बन्न उनले निर्देशन दिएका छन्।
“छिनछिनमा बत्ती जाने गरेको, गुनासो गर्दा नो लाइटमा फोन नउठ्ने, यस्ता गुनासा मलाई मात्रै हैन ऊर्जामन्त्रीकोमा समेत आउने गरेको छ। यस्ता गुनासालाई तत्काल समाधान गरी उपभोक्तालाई नियमित, गुणस्तरीय, भरपर्दाे विद्युत् आपूर्ति र सेवा प्रवाह सुधारमा केन्द्रित हुनुपर्छ,” उनले भने।
उनले जोड दिएर भने, “संस्थाभित्रको सुशासन कायम गरी ग्राहकलाई दिने सेवा सुधार गर्न आफैं सुध्रिएर नैतिक आचरण देखाउनुपर्छ, चुहावट नियन्त्रण अभियान रोकिएको छ, स्थानीय तह र प्रशासनसँगको समन्वय र सहकार्यमा यसलाई तत्काल शुरू गर्नुपर्छ।”
उनले कसैको दबाब र प्रभावमा नपरी उच्च नैतिक आचरण देखाएर काम गर्न कर्मचारीलाई निर्देशन दिए। उनले भने, “विद्युत्को माग बढाउन ग्राहकले माग्नसाथ ‘थ्री फेज’ मिटर दिनुपर्छ, प्रसारण तथा वितरण संरचनाहरूको सुदृढीकरण तथा स्तरोन्नति गर्ने योजना बनाइ तत्काल काम शुरू गर्नुपर्छ, निर्माणाधीन आयोजनाहरू छिटो सम्पन्न गर्नुपर्छ, रुग्ण बनेका र काम नगर्ने ठेकेदारसँगको ठेक्का तोड्नुपर्छ।”
खर्च नियन्त्रणका लागि स्टोरमा रहेका पुरानो सामानको अधिकतम प्रयोग गरी जिन्सी सामानको स्टक घटाउने, नयाँ सामान खरीदमा नियन्त्रण, काम नलाग्ने जिन्सी सामानहरूको लीलामी र ट्रान्सफर्मरको मर्मत समयमैं आफ्नै वर्कशपमा गरिनेछ। वित्तीय अनुशासन कायम गर्न ठाडो खरीद, कोटेशनमार्फत हुने खरीदको नियन्त्रण आर्थिक प्रशासन विनियमावलीलाई कडाइका साथ पालना गरिनेछ।
कर्मचारीको आचरण सुधार गरी सुशासन कायम गर्न गलत काम गर्ने कर्मचारीलाई कारबाई, माथिल्लो निकायलाई जानकारी नदिई कार्यालय नछोड्ने, संस्थालाई थप आर्थिक भार पर्ने कुनै पनि गतिविधि नगर्ने जस्ता व्यवस्था प्राधिकरणले गरेको छ।
शहरी सौन्दर्यलाई वृद्धि गर्न ‘उज्यालो र सफा शहर अभियान’ चलाउने घोषणा गरेको प्राधिकरणले उज्यालो शहर अभियान अन्तर्गत नगरपालिकाहरूसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरूमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गर्ने प्रक्रिया शुरू गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ। साथै सफाइ अभियान अन्तर्गत मुख्य तथा सहायक सडकहरूमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरू हटाउने, तारहरूलाई भूमिगत गर्नेलगायत काम अगाडि बढाउन पनि प्राधिकरणको निर्देशन छ।
बैठकमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले चुहावट नियन्त्रण, विद्युतीकरण, सेवा प्रवाह सुधारमा केन्द्रित हुन निर्देशन दिए। उनले रुग्ण बनेका आयोजनाहरूको ठेक्का तोड्न र कुनै ठेकेदारबाट काम हुँदैन जस्तो लागेमा ठेक्का तोड्ने प्रस्ताव ल्याउन आग्रह गरे। कार्यक्रममा प्रादेशिक कार्यालयका प्रमुखहरूले आफ्नो क्षेत्रमा संरचना अभावमा माग अनुसार विद्युत् दिन नसकिएको, खम्बा, ट्रान्सफर्मर, मिटरलगायतका अभाव रहेको जानकारी गराएका थिए।