राजविराज, ७ भदौ/रासस
लगातारको वर्षाका कारण सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको कोशी टप्पु भनेर चिनिने गोबरगाढाका बाढीपीडित भोकभोकै बस्न बाध्य छन्। हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबरगाढाका झन्डै ३५ परिवार विगत चार दिनदेखि राहतको पर्खाइमा छन्।
कोशी नदीमा आएको बाढीले गोबरगाढाका घर जलमग्न भएका थिए। वडाध्यक्ष विन्देश्वर यादवका अनुसार स्थानीय प्रमोद, रामस्वरूप, हरिबोध, रामानन्द, कुशेश्वर, भुवनेश्वर, सन्तोष, महेन्द्र यादवलगायतका घर जलमग्न भएको थियो।
अझै घरआँगनमा दुर्ई/तीन फिटसम्म बाढी रहेकाले खाना पकाउन समस्या भइरहेको जनाइएको छ। स्थानीयवासी सीताराम यादवले भने, “खाद्यान्न पनि सकिन लाग्यो। के खाएर छाक टार्ने ?” प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले खाद्यान्नलगायत राहत वितरणका लागि स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिंदै आवश्यकता अनुसार शीघ्र राहत वितरण गरिने जानकारी दिए।