ओशो, जसलाई भगवान् श्री रजनीश पनि भन्ने गरिन्छ, २०औं शताब्दीको सबैभन्दा विवादास्पद र बुद्धिमान् दार्शनिकको रूपमा लिने गरिन्छ । उनको विचार र प्रवचनले समाजमा विद्यमान पारम्परिक मूल्य–मान्यता, धार्मिक संस्था र वर्षाैंदेखि जकडिएको सामाजिक मापदण्डलाई नै चुनौती दिएको थियो, जसले गर्दा उनी अत्यधिक विवादित बन्न पुगे । उनी भन्ने गर्थे, जो व्यक्ति आफूलाई सबैभन्दा धेरै धार्मिक भन्ने गर्छन्, उनीहरू नै सबैभन्दा बढी अधार्मिक हुन्छन्, जुन कुरा भारतमा समयको गतिसँगै पुष्टि हुँदै गयो । धार्मिक गुरुहरू जो अहिले जेलमा छन्– रामरहिम, स्वामी परमानन्द, आशाराम बापू, स्वामी अमृत चैतन्य अर्थात् सन्तोष माधवन, स्वामी सदाचरी साइँ बाबा ॐ जी, सन्त रामपाल, परमहंश नित्यानन्द, इच्छाधारी सन्त स्वामी भीमानन्द, राधे माँ, चन्द्रास्वामी आदि । ओशोको आध्यात्मिकताप्रतिको गहिरो ज्ञानको दृष्टिकोण नै क्रान्तिकारी हुने गथ्र्याे । उनको शान्त हुँकारदेखि अमेरिकी साम्राज्य पनि हल्लिएको थियो ।
ओशो विवादास्पद हुने कारणहरू ः
१. पारम्परिक धर्मको कटु आलोचकः ओशोले सङ्गठित धर्महरू, विशेषगरी हिन्दू, इस्लाम र इसाई धर्ममाथि आफ्नो तर्कले कडा प्रहार गर्थे । उनी भन्ने गर्थे– यी सबै धर्मले व्यक्तिको स्वतन्त्रतालाई दमित पारेको छ र यी धर्महरूले मानिसमा भय र अपराधबोधलाई मात्र प्राथमिकता दिने गर्छन् । यही कारणले उनलाई धर्मविरोधीको ट्याग लगाइएको थियो । जबकि उनले आफूलाई कहिल्यै धार्मिक नेताको रूपमा उभ्याएनन् । उनी आफूलाई एक आध्यात्मिक दर्शनशास्त्री र मार्गदर्शकको रूपमा हेर्न सबैलाई आग्रह गर्थे ।
२. कामुकताप्रति उनले राखेका खुला विचारः ओशोको सबैभन्दा विवादास्पद विचार नै यौन अर्थात् कामुकतालाई लिएर गरिएको थियो । उनी यसलाई उच्च चेतना प्राप्त गर्ने माध्यमको रूपमा लिने गर्थे, जबकि त्यस बेला अधिकांश धार्मिक गुरु कामुकताको कुरा गर्नुलाई पाप ठान्थे तर आफैं विभिन्न यौनकाण्डमा लिप्त हुने गर्थे । तर रूढिवादी वर्गले उनको वाणी, बयान र प्रवचनको कडा आलोचना गथ्र्यो । उनको धर्ममाथिको कटाक्ष मिडियामा सनसनीखेज खबर बन्थ्यो ।
३. भौतिकवाद र आध्यात्मिकतामा उनको फरक धारणाः ओशोले भौतिकवाद र विलासितालाई अपनाए, जबकि अरू धार्मिक गुरुहरू सादगी जीवन बाँच्नको लागि प्रेरित गर्थे र अहिले पनि गरिरहेका छन् । त्यस बेला ओशोसँग करीब १०० वटा त रोल्स रायस कार थियो, जुन उनको विलासितापूर्ण जीवनको प्रतीक नै बनेको थियो । उनको त्यो जीवनलाई धार्मिक गुरुहरूले पाखण्डीको संज्ञा दिने गर्थे । तर ओशोको अटुट विश्वास थियो कि गरीबीमा कोही पनि आध्यात्मिक बन्न सक्दैन र मुख्य कुरा आत्माको मुक्ति हुनुपर्छ, न कि भौतिक वस्तुलाई त्यागेर ।
४. राजनीतिक व्यवस्थाका कट्टर आलोचकः ओशोले पूँजीवाद, समाजवाद, र विद्यमान लोकतन्त्रसहित सबै राजनीतिक व्यवस्थाको डरलाग्दो आलोचना गर्ने गर्थे । उनको भनाइ थियो कि यी सबै व्यवस्थाले मानव अस्तित्वको गहिरो समस्यालाई कहिल्यै समाधान गर्न सक्दैन किनकि मानव अस्तित्वको कुरा आध्यात्मिक हो र जबसम्म आध्यात्मिकलाई गहनरूपले बुझिंदैन, कुनै व्यवस्थाले केही पनि ताŒिवक परिवर्तन यो संसारलाई दिनै सक्दैन । उनी त महात्मा गाँधी र कार्ल माक्र्स जस्ता कालजयी व्यक्तिहरूको पनि आलोचना गर्न पछि पर्दैनथे ।
५. व्यक्तिवाद र विद्रोहलाई प्रोत्साहनः ओशोले सधैं व्यक्तिको स्वतन्त्रता र व्यक्तिवादीलाई प्राथमिकता दिने गर्थे । उनको भनाइ नै हुने गथ्र्यो कि म नबनीकन हामी हुन लगभग असम्भव छ । उनको भनाइ थियो कि समाजमा जकडिएका रूढिवाद र परम्पराले एउटा व्यक्तिलाई बन्धनमा बाँधिदिन्छ, जसले गर्दा उसको ऊर्जा, सृजनशीलता र नवप्रवर्तक सोचलाई कहिल्यै अगाडि बढ्न दिंदै दिंदैन र उसको आत्माको मुक्तिमा ठूलो बाधा बन्न जान्छ । ओशोले पारम्परिक र तर्कविहीन सामाजिक मापदण्डको खुलेर विद्रोह गर्न प्रेरित गरे । जसको कारणले पश्चिमी देशका युवा र आडम्बरका विद्रोही सबै देशका युवाहरू उनीप्रति आकर्षित भए । जसले गर्दा उनी धार्मिक र राजनीतिक सङ्गठनको लागि एक खतरा बन्न पुगे ।
६. ओरेगन कम्युन र कानूनी झन्झटः ओशोले सन् १९८० मा अमेरिकाको ओरेगन राज्यमा रजनीशपुरम नामको कम्युन स्थापना गरेका थिए । त्यो कम्युनमा उनका हजारौं अनुयायी आउने गर्थे । ठीक त्यसै बेला जैविक आतङ्कवादको मुद्दा उठेको थियो । जसमा ओशो पनि मुछिएका थिए तर उनको कुनै संलग्नता त्यसमा देखिएको थिएन तर यस घटनाक्रमले उनको छविमा केही न केही धक्का लाग्यो ।
७. जनमानसलाई भड्काउने खालको भाषाको प्रयोगः ओशोमाथि त्यस बेलाको समाजको लागि आफ्ना श्रोताहरूलाई आश्चर्यचकित पार्ने र समाजलाई भड्काउने खालका भाषाको प्रयोग गर्ने गरेको दोषारोपण लागेको थियो । तर उनी जे बोल्थे अनुसन्धानमूलक ग्रन्थहरूको आधारमा बोल्ने गर्थे, जुन त्यस बेलाका धर्मका ठेकेदारहरूलाई मन पर्ने कुरै भएन ।
ओशोलाई ज्यादै बुद्धिमान् र २०औं शताब्दीको घाघडान दार्शनिक मानिएका कारण ः
उनले पूर्वी र पश्चिमी दुवै दर्शनको गहिरो अध्ययन गरेका थिए । उनले बौद्ध धर्म, ताओवाद, जैन, हिन्दू धर्म र सुफिवादबाट धेरै प्रेरणा लिएका थिए भने पश्चिमी दार्शनिकहरू जस्तै नित्से, फ्रायड, माक्र्स, बर्टन रसेल जस्ता विद्वान्हरूको दर्शनलाई बृहत्रूपमा अध्ययन गरे । जसले गर्दा उनलाई दुवैतिरका दर्शनलाई तुलना गर्न सजिलो भयो र एक किसिमको हाइब्रिड दर्शनको रूपमा आफूलाई उभ्याए । जो त्यस समयको लागि एक सामाजिक क्रान्तिको विगुल थियो ।
स्वतन्त्र सोच र बौद्धिक गहिराइः ओशोको शिक्षा व्यक्तिवादि र स्वतन्त्र सोचमा आधारित थियो । उनले यो सिकाए कि जीवनलाई आफ्नो अनुभव र समझदारीबाट अगाडि लग्नुपर्छ, न कि समाजले लादेको कुतर्क र चित्त नबुझ्दो नियम र नैतिकताबाट । उनको चित्तबुझ्दो तर्क र विश्लेषणले गर्दा नै समयको गतिसँगै उनका अनुयायीहरू प्रेरित हुँदै गए ।
मनोविज्ञान र ध्यानः ओशोले ध्यान र मनोविज्ञानलाई गहिरोरूपले ग्रहण गरेका थिए । उनले ध्यानका विभिन्न विधिहरूको विकास गरेका छन्, जसमा प्राचीन योग र मनोविज्ञानको सम्मिश्रण छ । उनले विकास गरेको ‘डायनामिक मेडिटेशन’ले धेरैको जीवनमा अकल्पनीय र ताŒिवक परिवर्तन गरेको कुरा यो स्तम्भकार आफैंले अनुभव गरेको कुरा यहाँ उल्लेख गर्न चाहन्छु । आज पनि ओशोका अनुयायीहरू यसलाई निरन्तरता दिइरहेका छन् ।
प्रश्न सोध्न सक्ने र परम्परालाई चुनौती दिन सक्ने क्षमताः ओशोले मात्र सामाजिक र धार्मिक परम्परालाई चुनौती दिएनन्, उनले मूल्य–मान्यतालाई पनि प्रश्नको घेरामा राख्ने हिम्मत गरे । उनले जीवन, मृत्यु, प्रेम र समाजका बारेमा जुन गहिरो र जटिल प्रश्न उठाए, त्यसबाट विश्वका बुद्धिजीवीहरूले पनि उनको मुक्तकण्ठले प्रशंसा गर्न थाले ।
ओशोका केही विवादास्पद उद्धरणहरूः
– ईश्वर मरिसकेका छन्, र अब व्यक्ति आफैं आफ्नो जिन्दगीको मालिक बन्नुपर्छ ।
– कुनै पनि नैतिकता त्यस बेलासम्म सही हुन सक्दैन, जबसम्म त्यसलाई हाम्रो भित्री आत्माले स्वीकार गर्न सक्दैन । बाहिरबाट थोपरिएको संस्कार र नैतिकताले एउटा व्यक्तिलाई आडम्बरी संसारमा बाँच्न बाध्य गराउँछ ।
– सेक्स जीवनको सबैभन्दा प्राकृतिक र शुद्धतम् रूप हो, र यसलाई पनि ध्यानको एउटा अमूल्य गहनाको रूपमा लिन सकिन्छ ।
– गाँधीजीले अवलम्बन गरेको अहिंसाको विचार केवल दमनको एक रूप हो । हिंसालाई दमन गर्नु झन्
ठूलो हिंसा हो र यसले झन् ठूलो आक्रोशको निर्माण गर्छ । भारत जस्तो देशमा जहाँ गाँधीजीलाई राष्ट्रपिता मानिन्छ, यो विचार सा¥है नै आपत्तिजनक छ ।
– म गरीबको भक्तिमा विश्वास गर्नै सक्दिनँ किनकि भौतिक सम्पन्नता आध्यात्मिक उन्नतिलाई एकै साथ लिएर जान सकिन्छ ।
– मृत्यु सबैभन्दा ठूलो उत्सव हो, किनकि मृत्यु नै जीवनको सबैभन्दा गहिरो सत्य हो । यसलाई अँगालो हाल्न जान्नुपर्छ, न कि यसबाट भाग्न ।
बुद्ध, महावीर, गुरु नानकलाई यदि कसैले बुझेका थिए भने ती ओशो नै थिए । यिनीहरूले समाजलाई दिएका ज्ञान अतुलनीय छ भनी ओशोले व्याख्या गरेका छन् । अझ बुद्ध त ओशोको प्रेरणाको स्रोत नै हुन् भन्दा अतिशयोक्ति नहोला । उनी नै हुन्, जसले बुद्धलाई धार्मिक होइन वैज्ञानिक भनेका थिए, त्यस बेलाका । ओशोले बुद्धका बारेमा गरेको मन्थनलाई अर्को आलेखमार्पmत पाठकमाझ ल्याउनेछु ।
ओशोको बुद्धिमता र उनको विचारधाराले उनलाई २०औं शताब्दीको सबैभन्दा विवादास्पद र प्रभावशाली दार्शनिक बनाइदियो । अझ उनी मरेपछि उनको यश झनै बढ्दै गयो । ओशो आज हिजोभन्दा धेरै लोकप्रिय छन् किनकि उनले दिएको शिक्षा र विचार आधुनिक जीवनको जटिलता र चुनौतीबीच ज्यादै ठूलो सामञ्जस्यता देखिन्छ । उनले दिएका सन्देश जस्तै व्यक्तिगत स्वतन्त्रता, आत्मिक मुक्ति, ध्यान र समाजमा विद्यमान पारम्परिक संरचनालाई चुनौती दिनु चानचुने कुरा थिएन । जुन आज पनि प्रासाङ्गिक छ ।
ओशोको लोकप्रियता आज पनि यो कारणले तार्किक लाग्छ कि उनले दिएका प्रवचन आज पनि अहिलेकै आवश्यकता जस्तो प्रतीत हुन्छ । उनको त्यस बेलाका वाणीले आधुनिक समाजको प्रश्न र समस्याहरूको सटीक जवाफ दिन्छ । उनले दिएको शिक्षाले जीवनलाई एक अलग दृष्टिकोण दिंदै जीवनलाई आफैंले गहिरोसँग बुझ्नलाई मार्ग प्रदान गर्छ । जुन आजपर्यन्त प्रासाङ्गिक लाग्छ । उनको त्यही दृष्टिकोणले उनलाई एक अद्भुत व्यक्तिको रूपमा आज संसारले चिन्छ ।