दुघर्टनामा पाँचजना नेपाली तीर्थयात्रीको मृत्यु 

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

नितेश कर्ण, वीरगंज, १९ माघ/

भारतको प्रयागराजमा आयोजना भइरहेको महाकुम्भ मेलाबाट फर्किंदै गरेको जीप बिहारको मुजफ्फरपुरमा शनिवार दुर्घटना हुँदा पाँचजना नेपालीको मृत्यु भएको छ। मृतक सबै एकै परिवारको रहेको बताइएको छ। दुर्घटनामा चारजना घाइते भएका  छन्।

प्रयागराजबाट फकिंदै गरेको स्कार्पियो जीप शनिवार दिउँसो मुजफ्फरपुरको मधुबनी मन्दिरनजीक दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परी मन्तरणा देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दु देवी र चालकको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।

दुर्घटनामा मनोहर ठाकुर, कामिनी झा, सृष्टि ठाकुर र नाम नखुलेका एकजना घाइते भएका छन्। घाइते मनोहर नेपाल प्रहरीका जवान रहेको बताइएको छ।

दैनिक भास्करले जनाए अनुसार मृतक र घाइते एकै परिवारका रहेका छन्। उनीहरू महाकुम्भ मेलामा स्नान गरेर अयोध्या र त्यसपछि वाराणसी पुगेर फर्किरहेको घाइते कामनी झाले बताइन्। घाइतेलाई उपचारका लागि एसकेएमसी हस्पिटलमा पठाइएको छ। तीव्र गतिमा रहेको जीप मोटरसाइकललाई बचाउन खोज्दा अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको प्रहरीले बताएको छ। प्रत्यक्षदर्शीका अनुसार जीपले पाँच बल्ड्याङ खाएको थियो।

दैनिक भास्करले जनाए अनुसार मृतक र घाइते सबैजना जनकपुरका हुन्। धनुषाका प्रमुख जिल्ला अधिकारीले दुर्घटनाबारे कुनै जानकारी नआएको बताए। त्यस्तै, जिल्ला प्रशासन कार्यालय, महोत्तरीले पनि दुर्घटनाबारे कुनै खबर नआएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस