चौथो परवानीपुर गोल्डकप माघ २६ गतेदेखि

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, १९ माघ/

चौथो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिता यही माघ २६ देखि फागुन ३ गतेसम्म आयोजना हुने भएको छ। 

परवानीपुर युथ क्लबको आयोजना र शक्ति युवा स्पोट्र्स क्लब परवानीपुरको सहआयोजनामा उक्त प्रतियोगिता परवानीपुर खेलमैदानमा हुने शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ। प्रतियोगितामा मधेस प्रदेशका छ र बाग्मती प्रदेशका दुई गरी आठवटा टीमको सहभागिता छ। 

मधेस प्रदेशका छवटा टीममा वीरगंज युनाइटेड क्लब, शक्ति युवा क्लब, परवानीपुर, नवजनजागृति युवा क्लब, सिमरा, बेंगखाडी युवा क्लब, महोत्तरी, जनकपुर स्पोट्र्स क्लब, धनुषा, रोमन फूटबल क्लब, सर्लाही, बाग्मती प्रदेशका हेटौंडा फूटबल एकेडेमी, मकवानपुर, चितवनको केभिए ग्लोबल भरतपुर फूटबल क्लब रहेका छन्। 

प्रतियोगिताका विजेताले नगद रु तीन लाख एक हजार र उपविजेताले नगद रु एक लाख ५१ हजार प्राप्त गर्ने आयोजक क्लबका सचिव धु्रव मण्डलले जानकारी गराए। 

प्रतियोगिता आयोजना गर्न करीब २० लाख ५० हजार खर्च लाग्ने र उक्त रकम परवानीपुर गापा, वीरगंज महानगरपालिका र अन्य दाताहरूबाट सहयोग सङ्कलन गरी आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। 

परवानीपुर युथ क्लबका अध्यक्ष अलि अख्तरको अध्यक्षता एवं पत्रकार अनिल गौरवको सहजीकरणमा सम्पन्न पत्रकार सम्मेलनमा वडाध्यक्ष राधाकृष्णप्रसाद साह रौनियार, आयोजक क्लबका वरिष्ठ उपाध्यक्ष अनिल श्रीवास्तव, क्लबका पदाधिकारी कृष्ण यादव, त्रिलोकी कुशवाहालगायतको सहभागिता थियो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस