चैनपुर प्रिमियर लिग शुरू, इगलको विजयी सुरुआत

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, १९ माघ/

बारा, परवानीपुर गाउँपालिका–४ चैनपुरमा शनिवारदेखि चैनपुर प्रिमियर लिग शुरू भएको छ। एउटै वडाका चारवटा टोलका दर्जनौं खेलाडीलाई मिलाएर छवटा टीम बनाइ यो प्रतियोगिता भइरहेको हो। 

प्रतियोगिताको उद्घाटन परवानीपुर गापाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले गरेका थिए। प्रतियोगिता अन्तर्गत आज पहिलो खेल चैनपुर क्यापिटल र चैनपुर इगलबीच भएको थियो। जसमा चैनपुर इगलले नौ रन अन्तरले चैनपुर क्यापिटललाई पराजित गरेको थियो। टस जितेर चैनपुर क्यापिटलले इगललाई ब्याटिङ गर्ने निम्तो दिएको थियो। निर्धारित १६ ओभरको खेलमा नौ विकेटको क्षतिमा इगलले १२१ रन  बनाएको थियो। क्यापिटलले निर्धारित ओभर खेल्दै पाँच विकेटको क्षतिमा ११२ रन मात्र बनाउन सक्यो। 

यस खेलमा चैनपुर इगलका ४२ रन बनाउनुका साथै तीन विकेट लिएका राज पटेल ‘म्यान अफ द म्याच’ घोषित भए। 

दिल्ली पब्लिक स्कूलको उत्तरपट्टि रहेको खेलमैदानमा फागुन ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। विगत दुई वर्षदेखि आयोजना भइरहेको उक्त प्रतियोगिताको संयोजक विशालकुमार पटेलको अध्यक्षतामा प्रतियोगिताको उद्घाटन समारोहमा वडाध्यक्ष गम्भीरा पटेल, पूर्ववडाध्यक्ष गजेन्द्र पटेल, स्थानीय समाजसेवी जगदीश साह, छवटा टीम चैनपुर क्यापिटलका सञ्चालक रोशन पटेल, चैनपुर इगलका भुलन साह, बिर्ता राइडरका सुनील पटेल, सुपर टाइगरका श्रवण यादव, रामटोल वारियरका जयराम राम, रोयल च्यालेन्जर चैनपुरका जाहिर हुसेनलगायतको सहभागिता थियो। 

एउटा टीमको पकेटमनी रु ७० हजारमध्ये २०० देखि दुई हजार रुपैयाँमा खेलाडी खरीद गरी टीम बनाइएको हो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस