• कुमार रुपाखेती

सानोतिनो चोरी–चकारी गर्नेले जेल जीवन बिताउनुपर्ने, जघन्य अपराध गर्नेको संविधान दिवसका उपलक्ष्यमा कैद मिनाहा हुने, महँगी र कृत्रिम अभाव बढेपछि दशैं, तिहार आएको आभास हुने, समानुपातिकको नाममा आफन्त, गाँडे, गोल्चेहरू सांसद, विधायक बन्ने, बेरोजगारी र महँगी थेग्न नसकेपछि जनता विदेश पलायन हुने, भ्रष्ट र कामचोरहरूले राष्ट्रपतिबाट पदक पाउने, बिजनेस गणतन्त्र नेपालमा खुबै फस्टाएको छ । यस्तो गोलमाल कतिन्जेल चल्ने र गणतन्त्रको नाममा यस्तो मनमानी कहिलेसम्म सहने भन्ने प्रश्न आम नागरिकको मनमा उठ्न थालेको छ ।

सरकारी कार्यालयमा जायज काम गराउन जाँदासमेत जनताले गोजी छाम्नुपर्ने, नेताकोमा जाँदा टाउको निहुराउनुपर्ने, अदालतले दिएको निर्मम न्याय शिरोधार्य गर्नुपर्ने, प्रशासकहरूको अनावश्यक रोबदाब सहनुपर्ने, राजनैतिक दलका लुटेरा कार्यकर्ताहरूको दबदबालाई रमिते बनेर हेर्नुपर्ने आदि इत्यादि यस्तै छ अहिले नेपालको चलन ।

साम्प्रदायिक सद्भाव रसातलमा पुगेको छ । मुलुक साम्प्रदायिकताले ग्रस्त छ, नेताहरूको विदेश शयर धडल्लेले चलिरहेको छ । मलङ्गवा, वीरगंज हुँदै साम्प्रदायिक सद्भाव बिगार्नेहरू नेपालगंजमा सलबलाउन थालेका छन् । यो मुलुकमा आजदेखि होइन, राणाकाल अघिदेखि मुस्लिम, हिन्दूहरू भाइचाराको सुमधुर सम्बन्ध बनाएर बस्दै आएका छन् । नेपालमा राजनीतिमा मात्र होइन, धर्म–सम्प्रदायबीच एकता खलबल्याउन विदेशी शक्तिहरूको हात देखिन्छ ।

सरकारले त गोहीको आँसु चुहाउँछ, त्यसैले सामाजिक सद्भाव मिलाउन तपाईं हामीजस्ता जिम्मेवार नागरिक सक्रिय हुनु नै श्रेयस्कर देखिन्छ । पञ्चायतकालको अन्तिम क्षणमा ‘राजा चोर देश छोड’, ‘ज्ञानेन्द्र देश छोड’ भन्ने नारा खुबै घन्कियो तर विडम्बना हेर्नुस्, शाह परिवार र दरबारियाहरू त नेपालमैं–स्वदेशमैं छन्, तर यस्ता नारा लगाउनेहरू दिनहुँ विदेशिंंदै छन् । राजा चोर… भन्नेहरूका गुरुहरू सत्ताको केन्द्रमा छन् तर यिनका हुल्लडबाज कार्यकर्ताहरू धमाधम पेट पाल्न खाडीको गर्मी खाँदैछन् । पञ्चायतकालमा पाँच लाख नेपाली विदेशिएको इतिहास छ, अहिले करोडौं जनता मुलुकबाट पलायन भइरहेको छ । एकातिर नेपालीहरू हातमुख जोर्न दिनहुँ हजारौंको सङ्ख्यामा विदेशिंदै छन् भने गैरनेपालीलाई नेपाली बनाउने चोरबाटो खुलमखुल्ला पारिएको छ । भनिन्छ खुँखार राजनीतिज्ञ अपराधीहरूको मुद्दा किनारा लगाउन न्यायाधीशहरूसमेत निर्णय गर्न नसक्ने र पन्छाउने प्रवृत्ति बढेको छ रे । जहाँ न्याय दिने नै त्रसित छ, हामीजस्ताको के कुरा १ अस्ति एउटा विदेशका मन्त्रीले नेपालमा शान्ति छ तर न्याय रहेन छ भनेर हाकाहाकी गणतन्त्र नेपालको न्यायालयको धज्जी उडाइदिए । यस्तो सुनेर लाज लाग्नुपर्नेहरूलाई लाज लागेन, हामीजस्ता भने लाजले भुतुक्क भयो ।

लामो समयदेखि नेपालमा खलनायकलाई नायक बनाउने शकुनी खेल धडल्लेले विनारोकटोक चल्दैछ । खलनायकहरू नायक बनेका मुलुक धराशायी भएको इतिहास खोज्न धेरै टाढा जानुपर्दैन । शिक्ष्Fा, स्वास्थ्य आम जनताको पहुँचबाट बाहिर छ, बेरोजगारी चरममा छ, असामाजिक तŒव समाजमा सक्रिय छ, अपराधीहरू शानले हिंड्दै छन्, न्याय महँगो र जनताको पहुँच बाहिर छ, नेताहरूमा शान्ति अमनचयन छ, आम जनता भयाक्रान्त छ, अनि धनवान झन्झन् धनी र गरीब झन्झन् गरीब बनेका छन् । सञ्चारमाध्यमहरू खेमा खेमामा विभाजित भएर रमाइरहेका छन् । यस्तो अवस्थामा पनि हामी फलानो पार्टी जिन्दाबाद, फलानो शीर्ष नेता जिन्दाबाद, संविधान दिवस अमर रहोस्, गणतन्त्र जिन्दाबाद आदि कसरी भनिरहेका छौं भेउ पाउनै गा¥हो परेको छ ।

 ‘सत्यमेव जयते’को सट्टा नेपालमा देखिएको ‘असत्यमेव जयते’ अब धेरै टिक्दैन होला । भगवान्को घरमा देर छ, अन्धेर छैन भन्ने दिन छिट्टै आओस् भन्ने आम जनताको चाहना पूरा होस् । अझै कतिन्जेल गंजागोल भन्न नपरोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here