राधेश्याम पटेल, वीरगंज, ३२ साउन/
बारा प्रहरीले पर्सा, बारामा कोरोना महामारी नियन्त्रणको लागि निषेधाज्ञा जारी गरेको अवस्थामा सातजना जुवाडेलाई सिमराबाट पक्राउ गरेको छ। सगुन होटलको तेस्रो तलामा कुमार श्रेष्ठ र प्रद्युम्न वैद्यले सञ्चालन गरेको जुवा खालबाट बारा, सर्लाही, सल्यान र सिन्धुपाल्चोकका सातजना कौडा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ परेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन्।
सूचनाको आधारमा शनिवार साँझ ५ बजे इलाका प्रहरी कार्यालय, सिमराका प्रहरी निरीक्षक सूर्यबहादुर रानामगरको नेतृत्वमा गएको प्रहरी टोलीले १६ थान कौडासहित सातजनालाई हिरासतमा लिएको थियो। पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–१५ का ५१ वर्षे मानबहादुर लोप्चन, सोही वडाका ४२ वर्षीय मानबहादुर गुरुङ, कलैया उपमहानगरपालिका–२ का विनोदप्रसाद यादव, बारा, परवानीपुर गापा–३ का ३७ वर्षीय जयराम दास, सर्लाही, बागमती नपा–१ का ४१ वर्षे ताराकुमार श्रेष्ठ, सल्यान बढीमालिका नपा–८ का ३२ वर्षे भुवन चन्द र सिन्धुपाल्चोक बा–हबिसे नपा–७ का २५ वर्षे पद्म नेवार रहेको बारा प्रहरीले जनाएको छ। उनीहरूको साथबाट प्रहरीले २ लाख ९१ हजार ५ सय रुपैयाँ पनि बरामद गरेको छ।