प्रस वीरगंज, २६ पुष/
जगरनाथपुर गाउँपालिका–४ स्थित पाडाबजारबाट सशस्त्र प्रहरीले गएराति एक ट्रक चौपाया नियन्त्रणमा लिएको छ । गाउँपालिकाले सञ्चालन गरेको उक्त बजार अहिले ठेकेदारमार्फत सञ्चालन हुँदैछ । सो बजार सञ्चालनमा स्थानीय शीर्ष नेताहरूको संलग्नता रहेको बताइन्छ ।

चौपाया तस्करहरूले रातिको समयमा भारतबाट अवैधरूपमा भन्सार छलेर राँगा, भैंसी, पाडा ल्याउने र पाडाबजारबाट नक्कली खरीद बिक्रीको बिल तथा नीरोगिताको प्रमाणपत्र बनाइ नेपालका विभिन्न ठाउँमा पठाउने गरेको स्थानीयले बताएका छन् ।

बिहीवार राति पाडाबजारबाट चौपाया ट्रकमा लोड गरेर बाराको जीतपुर हँुदै काठमाडौं पठाउँदै गरेको सूचनाको आधारमा सशस्त्र प्रहरी भिखमपुरले एउटा ट्रकमा लोड चौपाया नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक रमेश गुरुङले ना.७ख ६२८० नम्बरको ट्रकमा लोड गरिएका भैंसी र पाडासहित दुईजनालाई पक्राउ गरेको छ ।

भन्सार बुझाएको ट्रकमा ११ वटा भैंसी र नौवटा पाडा रहेको सप्रनाउ गुरुङले जानकारी दिए । नियन्त्रणमा लिइएका दुईजना व्यक्ति कामदार रहेको उनले बताए । भैंसी र पाडा जीतपुरका कारोबारी सद्दाब हुसेनको रहेको अनुसन्धानका क्रममा खुलेको छ । भन्सारमा बुझाएको भैंसी र पाडासहितको ट्रक छुटाउन जगरनाथपुरका निर्वाचित जनप्रतिनिधिहरूले हानाथाप शुरू गरेको बताइन्छ ।

सशस्त्र प्रहरीको दोहोरो नीति
एक ट्रक पाडा र भैंसी नियन्त्रणमा लिने सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरले दोहोरो नीति अपनाएको बजार सञ्चालकले आरोप लगाएका छन् । गापालाई वार्षिक हजारौं रकम कर तिरेर बजार सञ्चालन गर्दै आएको सञ्चालकले बताएका छन् ।

सीमामा रहेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले भारतीय व्यापारीसँग मोटो रकम असुल गरी चौपायालाई नेपालभित्र आउन दिने तर पाडाबजारमा आएपछि चौपाया नियन्त्रणमा लिनु गलत रहेको ती सञ्चालकको आरोप छ ।

सशस्त्र प्रहरीको गाडी मर्मत, इन्धन तथा रातिको समयमा ड्युटी गर्ने जवानहरूको खर्च बजार व्यवस्थापन गर्ने व्यापारीले दिने गरेकामा अहिले आएर चौपाया नियन्त्रणमा लिनु गलत रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here