राजस्थान, २ जेठ/एएनआई

भारतस्थित कोलिहान तामाखानीमा लिफ्ट खसेपछि खानीमा फसेका थप सातजनालाई निम का थाना जिल्लामा उद्धार गरिएको बुधवार एक अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार बुधवार बिहान तीनजनालाई उद्धार गरिएको थियो भने हालसम्म उद्धार गरिएका व्यक्तिको सङ्ख्या १० पुगेको छ । यसैगरी, खानीमा फसेका बाँकीलाई निकाल्ने प्रयास भइरहेको छ ।

“घटनास्थलबाट १० जनाको उद्धार गरिएको छ, पहिलो चरणमा तीनजनालाई खानीबाट बाहिर निकालिएको छ, पाँचजनाको उद्धार गरिएको छ, दोस्रो र तेस्रो चरणमा थप दुईजनालाई बाहिर निकालिएको छ,” निम का थानाका प्रहरी उपरीक्षक प्रवीण नायकले भने ।

झुनझुनु सरकारी अस्पतालका डा प्रवीण शर्माले सबै मानिस सुरक्षित रहेको जानकारी दिए । उनका अनुसार तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई जयपुर पठाइएको छ । केही घाइतेको हात र केहीको खुट्टा भाँच्चिएको छ ।

कोलिहान खानीमा लिफ्ट खसेपछि कम्तीमा १४ जना खानीभित्र फसेका छन् । घटना मङ्गलवार राति निम का थाना जिल्लामा हिन्दुस्तान कपर लिमिटेड  (एचसिएल)को तामाखानीमा भएको हो ।

लिफ्टमा कोलकाताको सतर्कता टोली र खानीका अधिकारीहरू पनि थिए । लिफ्ट खानीभित्र एक हजार आठ सय फिटभन्दा तल खसेको अनुमान गरिएको छ । लिफ्टलाई समर्थन गर्ने डोरी चुँडिएको कारण यो घटना भएको हो ।

फसेका अधिकारीहरूमा मुख्य सतर्कता अधिकारी उपेन्द्र पाण्डे, खेत्री कपर कम्प्लेक्स (केसिसी) एकाइ प्रमुख जिडी गुप्ता र खानीका उपमहाप्रबन्धक एके शर्मा थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here