• विश्वराज अधिकारी

कुनै पनि देश केवल प्राकृतिक स्रोत, साधन एवं धन–सम्पत्ति आदिको अभावले गरीब हुँदैन । गरीब हुने अरू विभिन्न कारण हुन सक्छ । देशवासीको चेतनाको स्तर, राष्ट्रिय परम्परा, संस्कृति, सरकारले निर्माण गर्ने राजनीतिक–आर्थिक नीति–नियम आदिले पनि कुनै देशलाई धनी वा गरीब पार्न सक्छ ।

देशवासीको चेतनाको स्तर उच्च छ भने, कुनै पनि राष्ट्र, साधन र स्रोतको अभावमा पनि धनी हुन सक्छ र यो तथ्यको उदाहरणको रूपमा कतार र इजराइललाई लिन सकिन्छ । इजराइलको स्थिति कतारभन्दा पनि विषम छ । इजराइल चारैतिरबाट शत्रु (राष्ट्र) हरूबाट घेरिएको छ । फिलिस्तिनीहरू र लेबनानमा इरानले पालेका योद्धाहरूले इजराइलमाथि बेलाबेला साङ्घातिक हमला गरिरहन्छन् । इरान, इजराइलको कट्टर शत्रु हो । इरान त इजराइल भन्ने देश नै छैन भन्छ । यदि अमेरिकाको सैन्य सहयोग इजराइलाई नहुँदो हो, यदि इजराइलले अमेरिकासँग भरपर्दो मैत्री सम्बन्ध नराखेको हुँदो हो भने, इजराइल भन्ने देश विश्व मानचित्रबाट उहिले नै हराइसकेको हुन्थ्यो । अरब राष्ट्रहरूले इजराइलको अस्तित्व उहिले समाप्त पारिसकेका हुन्थे । यस्तो भयावह र कठिन स्थिति हुँदाहुँदै पनि शत्रुहरूको माझमा इजराइलले आफ्नो अस्तित्व कायम राख्न सकेको छ । प्रशस्त आर्थिक विकास गरेको छ । इजराइलको कृषि विश्वका उन्नत कृषिमध्ये मान्ने गरिन्छ । इजराइलले यो स्तरको आर्थिक प्रगति आफ्नो देशवासीको चेतनाको स्तर उच्च भएको कारणले गर्दा प्राप्त गरेको हो ।

कतारलाई पनि उदाहरणको रूपमा लिन सकिन्छ । केही दशक पहिलेसम्म कतारको आर्थिक अवस्था अति सामान्य थियो । गएको केही वर्षभित्र कतारले चमत्कारी किसिमले आर्थिक प्रगति गरेको छ । आर्थिक विकासका लगि आवश्यक भौतिक संरचना निर्माण गर्ने पूर्वाधारमा कतारले ठूलो लगानी गरेको छ । हवाई यातायातका लागि दोहा विमानस्थल संसारको नै ‘हब’ हुने किसिमले ठूलो खर्च गरिरहेको छ । चमत्कारी किसिमले आर्थिक प्रगति गरेको कारण कतार अहिले अरब जगत्का शक्ति राष्ट्रहरू मध्ये एक हुन पुगेको छ । करीब २८ लाख जनसङ्ख्या र ११,५८१ स्क्वायर किलोमिटर क्षेत्रफल भएको विश्वको एउटा सानो राष्ट्र कतार, अहिले महाशक्ति राष्ट्रहरूको पङ्Íिमा गाभिने बाटोमा हुनु आश्चर्यजनक होइन त ?

हाम्रो देशमा भने हामीसँग स्रोत र साधनको प्रचुरता भए पनि हामी गरीब छौं । देशभित्र रोजगारको प्रचुर सम्भावना भएर पनि रोजगारका लागि लाखौं सङ्ख्यामा हामी विदेशिएका छौं । हाम्रो चेतनाको स्तर दयनीय छ । हामी व्यक्ति र परिवार केन्द्रित छौं । समाज र राष्ट्र केन्द्रित हुन सकेका छैनौं । सरकारले पनि अव्यावहारिक नीति–नियम निर्माण गर्छ । हाम्रा जनप्रतिनिधिहरू (सङ्घीय एवं प्रदेश) ले पनि देशको आर्थिक विकास हुने किसिमका कानून निर्माण गर्न सकेका छैनन् । उनीहरू जहिले पनि षड्यन्त्र गरेर, गठबन्धन गरेर, चुनावमा विजयी भएर, सदा शक्ति र सत्तामा रहने दाउमा रहन्छन् । हाम्रा जनप्रतिनिधिहरू यही समाजका उपज हुन् । जनप्रतिनिधिहरू यस्तो हुनु हाम्रो सामाजिक चेतनाको स्तर दयनीय हुनु हो ।

हाम्रो चेतनाको स्तर कसरी सोचनीय स्थितिमा छ त्यसका केही उदाहरण हेरौं–

संसारका विकसित देशहरूको आर्थिक विकासको ढाँचा हेर्ने हो भने ती राष्ट्रहरूले आर्थिक विकासका लागि अति महŒवपूर्ण मानिने शिक्षा र स्वास्थ्य, ती देशहरूका समुदायलाई सञ्चालन गर्न दिएका हुन्छन् ।

नेपालमा भने शिक्षा र स्वास्थ्य दुवै निजी क्षेत्रले चलाएको छ । बहुसङ्ख्यक स्कूल, कलेज वा शिक्षालय व्यापारीहरूले मुनाफाका लागि सञ्चालन गरेका छन् । सरकारी स्कूलमा केवल गरीबका सन्तान बाध्यतावश अध्ययनका लागि जान्छन् । सामुदायिक वा सरकारी विद्यालयहरूको शैक्षिक स्तर सन्तोषजनक छैन । कलेजहरू त झन् शिक्षा प्राप्त गर्ने स्थल नभएर नेताहरूका लागि विद्यार्थीहरूले राजनीति गरिदिने स्थल बनेका छन् । सरकारी कलेजहरू मुलुकका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने भूमिका निर्वाह नगरेर, राजनीतिक नेता–कार्यकर्ता उत्पादन गर्ने कारखाना बनेका छन् । सङ्क्षिप्तमा भन्ने हो भने नेपालमा शिक्षा अहिले व्यापार भएको छ । राम्रो आम्दानी हात पार्ने भरपर्दो आयमूलक व्यवसाय भएको छ ।

यस्तै स्थिति स्वास्थ्य क्षेत्रमा पनि छ । नेपालमा बहुसङ्ख्यक अस्पताल व्यापारीबाट सञ्चालित छन् । अनेक किसिमका स्वास्थ्य सुविधाहरू निजी अस्पतालहरूले उपलब्ध गराएका छन् । अस्पताल सञ्चालन अहिले राम्रो आम्दानी दिने व्यापार हुन पुगेको छ । सरकारी अस्पतालहरूको स्तर भने दुःखलाग्दो छ । निजी अस्पताल अहिले केही व्यक्ति करोडपति हुने माध्यम बनेको छ ।

देशको सामाजिक एवं आर्थिक विकासका लागि देशवासीको स्वास्थ्य असल राख्ने स्वास्थ्य क्षेत्र र देशवासीलाई बाँच्नका लागि अनेक ज्ञान एवं सीप सिकाउने, उनीहरूलाई अनेक किसिमका अनुसन्धान गर्न सहयोग प्रदान गर्ने शिक्षा क्षेत्र व्यापार हुन पुगेपछि देशले कसरी आर्थिक विकास गर्न सक्छ ?

अहिले स्वास्थ्य र शिक्षा दुवै क्षेत्र एक किसिमले निजी क्षेत्रको नियन्त्रणमा रहेकोले नेपालमा शिक्षा र स्वास्थ्य सुविधा निकै खर्चिलो एवं महँगो हुन पुगेको छ । सामान्य आम्दानी हुने परिवारको आम्दानीको ठूलो अंश केवल शिक्षा एवं स्वास्थ्यमा खर्च हुने गरेको छ । यस्तो स्थितिले उनीहरूको बचत प्रभावित भएको छ । र यो कारणले गर्दा निम्न आय भएका व्यक्तिहरूको आम्दानीले मासिक खर्च पनि नाघ्न सकेको छैन । अर्थात् निम्न आय भएका व्यक्तिहरू बचत गर्न सक्ने स्थितिमा छैनन् । अर्कोतिर स्वास्थ्य र शिक्षालाई व्यापारिक वस्तु बनाएर, तिनलाई अति उच्च मूल्यमा बिक्री गरेर, केही व्यापारी लाखौं, करोडौं कमाउन सफल भएका छन् ।

राज्यको फितलो नियमले गर्दा नेपालमा शिक्षा र स्वास्थ्य दुवै राम्रो मुनाफा दिने व्यापार हुन पुगेका छन् । तर यी दुवै सुविधा, स्वास्थ्य र शिक्षा, देशवासीको आधारभूत आवश्यकताभित्र पर्दछ । राज्यले माध्यमिक तहसम्मको शिक्षा र सामान्य स्वास्थ्य सुविधा निश्शुल्क उपलब्ध गराउनुपर्छ । शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच सजिलो हुनुपर्छ ।

शिक्षा र स्वास्थ्य सुविधाको व्यवस्थापन सरकार होइन, समुदायले गर्दा राम्रो हुन्छ । हामीले शिक्षा र स्वास्थ्य दुवै समुदाय अन्तर्गत राख्नुपर्छ । यी दुवै क्षेत्र अन्तर्गत सञ्चालन हुने विभिन्न शिक्षालय एवं अस्पतालहरूको स्वामित्व समुदायले ग्रहण गर्नुपर्छ । स्थानीय स्रोत एवं साधन उपयोग गरेर सामुदायिक रूपमा शिक्षालय र अस्पतालहरू सञ्चालन गर्नुपर्छ । शिक्षालय र अस्पताल मुनाफमुखी होइन, सेवामुखी बनाउनुपर्छ । यस्तो गरेमा हामीले शिक्षा र स्वास्थ्य सुविधा महँगो होइन, सस्तो पार्न सक्छौं । गरीबहरूलाई पनि सस्तोमा स्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध हुने वातावरण सृजना गर्न सक्छौं ।

यो लेखको उद्देश्य भने निजी शिक्षालय र अस्पतालहरू बन्द गर्नुपर्छ भन्ने होइन । निजी क्षेत्रका शिक्षालय एवं अस्पताल पनि सञ्चालनमा रहनु पर्छ तर उनीहरूको व्यापारिक प्रवृत्तिमा नियन्त्रण हुनुपर्छ । उनीहरूको कार्यलाई मुनाफामुखी होइन, सेवामुखी पार्नुपर्छ ।

स्थानीय सरकार– गाउँ, नगर वा प्रदेशको स्वामित्वमा सञ्चालन हुने शिक्षालय एवं अस्पतालहरूको सेवा र सुविधाको स्तरमा यस किसिमले वृद्धि गर्नुपर्छ जसले गर्दा व्यक्ति निजी होइन, सामुदायिक शिक्षालय एवं अस्पतालहरूमा जाने स्थिति सृजना होस् । अर्थात् निजी शिक्षालय तथा अस्पतालहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुपर्छ ।

नेपालमा शिक्षालय एवं अस्पतालहरूमा निजी क्षेत्रको भूमिका नियन्त्रणकारी रहेसम्म शिक्षा र स्वास्थ्य सुविधा सस्तो हुन सक्तैन । निजी शिक्षालय तथा अस्पतालहरूले स्तरीय सेवा प्रदान गरे पनि त्यो सेवा केवल धनीहरूले मात्र उपभोग गर्न पाउने स्थिति रहन्छ ।

हामीले प्रशासकीय संरचनामा समुदायको भूमिकालाई महŒवपूर्ण किसिमले स्थापित गर्न सकेका छैनौं । हामी आफ्नो गाउँ वा शहरको लागि आफैंले स्रोत एवं साधनको विकास गर्न सक्तैनौं र केन्द्र (सङ्घीय सरकार) को मुख ताक्छौं ।

शिक्षा र स्वास्थ्यलाई व्यापारिक वस्तु हुन नदिन सरकार होइन, समुदायले महŒवपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । गाउँ र नगर सक्रिय हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here