नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं, ६ जेठ/रासस

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत कर्जा प्रवाह विस्तारमा केही लचिलो नीति लिएपछि त्यसको सकारात्मक प्रभाव पूँजीबजारमा देखिएको हो।

आइतवार परिसूचक ४५ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६४ दशमलव ४५ को बिन्दुमा कायम भएको हो। आज ३२३ कम्पनीका एक करोड २२ लाख ४० हजार ८०२ कित्ता शेयर ७४ हजार ९९१ पटक खरीद–बिक्री हुँदा रु पाँच अर्ब २५ करोड १० लाख २५ हजार बराबरको कारोबार भएको छ। सबै समूहका उपसूचक हरियो देखिएका छन्। सबैभन्दा धेरै जीवन बीमा समूह चार दशमलव ३८ र निर्जीवन बीमा समूह तीन दशमलव ८१ प्रतिशतले बढेका छन्।

चारवटा लघुवित्त कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो।

            माण्डु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु १४ करोड ८० लाख ८३ हजार २५७ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नबिल ब्यालेन्स फन्ड–२ को चार लाख २१ हजार २०७ कित्ता शेयर किनबेच भएका छन्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्