नामको सट्टा प्रयोग गरिने शब्दलाई सर्वनाम भनिन्छ। अहिले भारतीय लोकसभा निर्वाचनमा नामको सट्टा प्रयोग गरिने सर्वनामले धूम मचाएको छ। जस्तैः राहुल गाँधीको नामको सट्टा साहबजादे र पप्पु प्रयोग गरिन्छ, त्यस्तै मोदी–अमित शाहको जोडीलाई रङ्गा–बिल्लाको जोडी भनिन्छ। नीतीश कुमारलाई पल्टुराम र लालु यादवलाई लालटेन युगको बच्चा पैदा गर्ने मेशिन भनिन्छ। सोनिया गाँधीलाई साहबजादेकी अम्मा र कङ्गना रनौतलाई चिकनीचुपडी गुडिया वगैरह वगैरह।
त्यस्तै भारतमा निर्वाचनलाई ‘वादा गर्ने सुनहरा’ अवसर ठानिन्छ। त्यहाँ निर्वाचनका बेला हुने होनी–अनहोनी बकवासलाई खुबै प्राथमिकता दिइन्छ। त्यहाँ चुनावमा दिलचस्प नारा, गीत र ढोल–नगाडा खुबै बज्छ। राजनीतिक दल, कार्यकर्ता, मतदाता, सञ्चारमाध्यम, विदेशी तत्व आदि सबै भारतको निर्वाचनमा एडीचोटी र न्वारनदेखिको बल झिकेर ताल ठोक्न तल्लीन रहन्छन्।
निर्वाचन आयोग, चलचित्रकर्मी र खेलाडी आदि सबैको सक्रियताका बावजूद यसपटक त्यहाँको पहिलो चरणको निर्वाचनमा निराशाजनक मतदानले सबैको होश उडाएको देखिन्छ। पहिलो खेपमा बिहारका कतिपय क्षेत्रमा अधिकतम ४८ प्रतिशत मात्र भोटिङ भएको पाइयो। यसपटक गाउँमा निर्वाचन पुरजोर उफानमा थियो भने शहर बजारमा चुनावको रौनक प्रभावहीन थियो।
चुनावी नारासमेत उही घिसापिटा ‘आधी रोटी खाएँगे ………. जीको जिताएँगे’ ‘गलीगली मे शोर हे फलाना …..जी चोर है, ………..जीको जिताएँगे, अबकी बार ……….सरकार अर्थात् राम राम जपना पराया माल अपना’ खुबै चल्यो। दिल्ली र झारखण्डमा त जेलका ताला टुटेगा ………..जी छुटेगा ले प्राथमिकता पाएको देखिन्छ। अबकी बार चार सौ पार, …….तडीपार’ बीच घमासान नै छ रे। कोई बेल में, कोई जेल में, भनेर रेलपेल गर्ने पनि थिए।
यसपटक टिकटका थुप्रै आकाङ्क्षीहरू टिकटहीन भएपछि निर्दलीय (स्वतन्त्र) उम्मेदवार बने। यस्ता निर्दलीय उम्मेदवारहरूप्रति मतदाताहरूले सहानुभूतिको सट्टा ‘भोटकटुवा’को संज्ञा दिए। सन् २०१४ को आम निर्वाचनमा भारतीय संसद्मा जम्माजम्मी चार थान निर्दलीय उम्मेदवार जितेका थिए। भारतमा निर्दलीयहरूले जितेर सांसद बन्ने सङ्ख्या घट्दो छ। सन् १९५२ को पहिलो आम निर्वाचनमा ३७ जना निर्दलीय उम्मेदवारको विजय भएको इतिहास छ। भोटकटुवा र डमी उम्मेदवारको आरोप लाग्नाले निर्दलीयहरूलाई जित्न कठिनाइ भएको प्रस्ट सन्देश देखिन्छ। यसपटक दलहरूको रोजाइमा युवा उम्मेदवारहरूको सङ्ख्या न्यून छ। अधिकांश दलको रोजाइमा उही घिसापिटा ज्येष्ठ नागरिक नै हावी छन्। मोदी, जेपी नड्डा, अमित शाह, राजनाथ सिंह, हेमा मालिनी, शत्रुघ्न सिन्हा, खड्गे आदि यस्ता उदाहरण हुन्।
भाजपामा गुजराती मोदी, अमित शाह, जेपी नड्डा जस्ता तिकडीको बोलबाला नै छ। अमित शाहलाई त गुजरातको तडीपार नै भनिन्छ। कश्मीरका फारूक अब्दुल्ला, महबुबा, मुप्mीतहरू समेत ज्येष्ठ नागरिकको श्रेणीमा पर्दछन्। कश्मीरको खुशहालीसँग यिनको मनसा, वाचा, कर्मणा दूर–दूरको नाता छैन। नामको सट्टा सर्वनाम प्रयोग गरी विभिन्न आरोप–प्रत्यारोप, अनहोनी घोषणापत्र, शपथपत्र र न्यायपत्रको आधारमा भइरहेको यो निर्वाचनले विदेशी मुलुकहरूलाई पनि चपेटामा लिएको पाइन्छ। जस्तै चीनलाई ड्रैगन भन्छन् र पाकिस्तानलाई कङ्गाल मुलुक भनिन्छ। भर्खरै निर्वाचन सम्पन्न भएको मालद्वीपलाई ड्रैगनका पिछलग्गु भन्दै सत्तोसराप गरेर राष्ट्रवादी बन्ने लहर पनि खुबै चलेको छ।
साहबजादे पप्पु र रङ्गा–बिल्लाको टोलीले के गुल खिलाउने हो त्यो त ४ जून दिनका दिन खोलिने पेन्डोराज बक्सले छर्लङ्ग पार्ने नै छ। ‘अबकी बार चार सौ पार’ लाई पहिलो चरणको निर्वाचनले दच्काएको बुझिन्छ।