बागलुङ, २० पुस/रासस
प्रेस काउन्सिलले विगत तीन आर्थिक वर्षदेखि रोकिएको पत्रपत्रिकाको वर्गीकरण नतीजा छिट्टै सार्वजनिक गर्ने भएको छ। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मङ्गलवार काउन्सिलद्वारा यहाँ आयोजित पत्रकार आचारसंहिता जागरण कार्यक्रममा सो जानकारी दिएका हुन्। “भरसक यही पुस महीनाभित्रैमा नभए पनि आउँदो १५/२० दिनमा वर्गीकरण नतीजा सार्वजनिक हुन्छ,” उनले भने, “विविध कारणले रोकिएको वर्गीकरण प्रक्रियालाई काउन्सिलको अहिलेको नेतृत्वले टुङ्गो लगाउँँदैछ।”
उनले आफूहरू काउन्सिलमा आएको सात महीना मात्रै भएको र पत्रपत्रिकाको वर्गीकरण प्रक्रिया पहिलेदेखि नै अवरुद्ध रहेको स्मरण गराए। अध्यक्ष बस्नेतले वर्गीकरण काउन्सिलले मात्रै गर्ने नभएर त्यसमा राज्यका अन्य निकाय पनि सम्बद्ध रहेको स्पष्ट पारे।
बेलैमा वर्गीकरण नतीजा नआउँदा पछिल्लो अवधिमा सञ्चालनमा आएका पत्रपत्रिकाले राज्यले दिने लोककल्याणकारी विज्ञापनबाट वञ्चित हुनुपरेको छ। त्यसको सोझो मार जिल्लास्तरमा सञ्चालित स्वरोजगारमूलक पत्रपत्रिकामा परेको छ।
सोही क्रममा अध्यक्ष बस्नेतले आचारसंहिता पत्रकारको मूलमन्त्र भएको उल्लेख गरे। “आचारसंहितामा टेकेर हामीले पत्रकारिता गर्नुपर्छ, पत्रकारले यसलाई सधैं मनमा लिएर हिंड्नुपर्छ, पढिरहनुपर्छ,” उनले भने।
पत्रकारितामा नवप्रवेशीहरूले त झन् आचारसंहिताबारे बढी ध्यान दिनुपर्ने उनको सुझाव छ। काउन्सिलका सदस्य दुर्गा भण्डारीले सञ्चारका नयाँ–नयाँ माध्यम विकास भएसँगै आचारसंहिता पालना थप चुनौतीपूर्ण बन्दै गएको धारणा राखे।
पत्रकारितामा स्वच्छता र विश्वसनीयता कायम गर्न पत्रकारले आचारसंहिता पालना गर्नु अनिवार्य शर्त रहेको उनको भनाइ छ। कार्यक्रममा पत्रकार पुण्य पौडेलले पत्रकार आचारसंहिताका विषयमा सहजीकरण गरेका थिए।
नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको संयोजनमा भएको कार्यक्रममा ३० भन्दा बढी पत्रकारले भाग लिएको महासङ्घका जिल्ला उपाध्यक्ष नवीन शिशिर विकले जानकारी दिए।