प्रस, गरुडा, २८ फागुन/
हिजो सम्पन्न मधानी महायज्ञमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ ले बन्द रहेको नेपाल–भारत सीमानाका खुलाउने वचनबद्धता व्यक्त गरे। उपप्रम पोखरेलले नेपाल–भारत असल मित्र भएको र सीमा क्षेत्रका बासिन्दालाई असहज अनुभव भइरहेको वर्तमान परिवेशमा सवारीसाधन आवागमन हुने गरी सीमानाका खुलाउने वचनबद्धता व्यक्त गरे।
उपप्रम पोखरेलले तराई–मधेसलाई सुनको टुक्रासित दाँज्दै आफ्नो मौलिक संस्कार र संस्कृति रहेको मधेसलाई चिनाउन मधानी महायज्ञले ठूलो सहयोग गर्ने बताए। झन्डै लिच्छविकालको पुरातात्विक महादेव मन्दिर मानिएको मौलापुरको पतौरा महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन नेपाल सरकारको तर्फबाट आफूले पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।कार्यक्रममा शहरी विकासमन्त्री प्रभु साहले तराई–मधेस आफैंमा इतिहास र संस्कृतिको क्षेत्रमा समृद्ध रहेको बताउँदै मौलापुरको पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरको कर्णाटकाल, सेन शासनकाल र हाल गरी कम्तीमा इतिहासको तीन युगमा पुनरुद्धार गरिएको तथा अहिले पुरातात्विक अन्वेषण र अध्ययन भइरहेको जानकारी गराए।
तराई–मधेसको मुख्यगरी बारा र रौतहटका थारू समुदायमा प्रचलनमा रहेको मधानी यज्ञ र कमरनाथु परम्परा लोप हुन लागेको वर्तमान समयमा मौलापुर नगरपालिकाले मधानी महायज्ञको निरन्तरता दिएर इतिहास तथा संस्कृतिको क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताए। मन्त्री साहले नेपाल तथा भारतका विशिष्ट कलाकारहरूले पनि पुरातात्विक महादेवको संस्कृतिमा योगदान दिएकोमा प्रशंसा गरे।
कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख राजेश झा तथा वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले सम्बोधन गर्दै मधानी यज्ञ तराई–मधेसको मौलिक संस्कृति रहेको बताए। मौलापुर नगरपालिकाले संस्कृतिको संरक्षणमा पु–याएको योगदानको प्रदेश प्रमुख झा तथा सभामुख श्रेष्ठले खुलेर प्रशंसा गरे।
कार्यक्रममा इतिहास तथा संस्कृतिका जानकार लेखक सञ्जय साह मित्रले पुरातात्विक महादेव मन्दिरको सम्बन्ध लिच्छविकालसित रहेको स्पष्ट पार्दै कर्णाटकालमा स्थापना भएका मन्दिरहरूको अवशेष अद्यपर्यन्त रहेको र पुरातात्विक महादेव धरतीमा विलीन भइसकेको अवस्थामा प्रकाश पारेका थिए। मधानी संस्कृति पनि यस क्षेत्रको मौलिक शिवपूजन संस्कृतिको अङ्गको रूपमा रहेको लेखक मित्रले स्पष्ट पारे।
मौलापुर नगरपालिकाको आयोजना भएको कार्यक्रममा नेपाली कलाकारहरू शिव श्रेष्ठ, दीपाश्री निरौला, विजय यादव निर्बिज, सरिता साह कानु, भारतीय भोजपुरी सिनेमाका चर्चित कलाकारहरू अक्षरा सिंह, चिन्टु सिंहलगायतको सांस्कृतिक कार्यक्रम रहेको थियो।
गत वर्ष सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पहिलोचोटि मधानी महायज्ञ सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साहले गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here