काठमाडौं, ४ भदौ/रासस
क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत बुधवार राति भएको आफ्नो पहिलो खेलमा सन्दीप लामिछानेले विकेट लिएका छन्।
सेन्ट लुसियाविरुद्धको यस यामको पहिलो खेलमा सन्दीपले एक विकेट लिएका हुन्। उक्त खेलमा उनको टिम जमैका तलावाज विजयी भयो। जमैकाले सेन्ट लुसियालाई पाँच विकेटले हराएको हो। सन्दीपले आफ्नो टोलीबाट सबैभन्दा किफायती बलिङ गरे।
सन्दीपले चार ओभर बलिङ गर्दै २३ रन खर्चेर एक विकेट लिएका थिए। नवौं ओभरमा बलिङ गर्न आएका उनले पहिलो ओभरमा आठ रन दिए। त्यसपछि ११औं ओभरमा सन्दीपले तीन रन मात्रै खर्चे। यस्तै, खेलको १३औं ओभरमा उनले आठ रन दिए। सन्दीपले १५औं ओभरको दोस्रो बलमा विकट लिए। २१ बलमा २५ रन बनाएर खेलिरहेका सेन्ट लुसियाका नाजिबुल्लाह जाड्रनको विकेट लिएका थिए। उनले चौथो ओभरमा मात्र चार रन खर्चे।
ट्रिनिडाड एन्ड टोबेगोमा जमैकाको कप्तानी रोभमन पावेलले तथा सेन्ट लुसियाको कप्तानी ड्यारेन स्यामीले गरेका थिए। जमैकाले टस जितेर फिल्डिङ राजेको थियो। सेन्ट लुसियाले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनायो। १५९ रनको विजयी लक्ष्य जमैकाले १८ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर पूरा ग–यो।
अब सन्दीपको टोली जमैकाले शनिवार ट्रिबागो नाइट राइडर्ससित दोस्रो खेल खेल्नेछ। उक्त खेल बिहान सवा तीन बजे शुरू हुनेछ।