प्रस, जनकपुरधाम, ४ भदौ/
    प्रदेश नंं २ मा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या बिहीवारसम्ममा चार हजार नाघेको छ।
    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा बिहीवार गरिएको पिसिआर परीक्षणमा धनुषा, महोत्तरी, सर्लाहीका ४८ जना र नारायणी केन्द्रीय अस्पताल वीरगंजको प्रयोगशालामा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहटका ५३ जना कोरोनाका नयाँ सङ्क्रमित फेला परेका छन्।
    प्रदेशमा बुधवार साँझसम्म  सङ्क्रमितको सङ्ख्या ३ हजार ९६० थियो। बिहीवार थप भएका सङ्क्रमितसमेत जोड्दा यो सङ्ख्या ४ हजार ६१ पुगेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिएका छन्।
    पर्सा जिल्लामा मात्र विभिन्न आइसोलेशनमा ४६० जना, होम आइसोलेशनमा ७४७ जना गरी १ हजार २०७ जना सङ्क्रमित सङ्ख्या छ। प्रदेशमा सबैभन्दा धेरै सक्रिय सङ्क्रमित पर्सामा देखिएको छ। रौतहट जिल्लाका विभिन्न आइसोलेशनमा ५९ जना र होम आइसोलेशनमा ६९० जना गरी जम्मा ७४९ जना सक्रिय सङ्क्रमित छन्।
    यसैगरी, महोत्तरी जिल्लाका विभिन्न आइसोलेशनमा ४१ जना तथा होम आइसोलेशनमा ६ सयजना गरी कुल ६४१ जना सङ्क्रमित रहेका छन्। धनुषा जिल्लामा आइसोलेशनमा ९८ जना तथा होम आइसोलेशनमा ३०४ जना गरी कुल ४०२ जना सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
    सर्लाही जिल्लामा आजसम्म  आइसोलेशनमा १९६ जना र होम आइसोलेशनमा १४७ जना गरी कुल ३४३ जना सक्रिय सङ्क्रमित रहेका छन्।
त्यस्तै, बारा जिल्लामा विभिन्न आइसोलेशनमा ४२ जना तथा होम आइसोलेशनमा २५९ जना गरेर ३०१ जना सक्रिय सङ्क्रमित छन्। सप्तरी जिल्लाका विभिन्न आइसोलेशनमा २२० जना र होम आइसोलेशनमा एकजनासमेत २२१ जना सक्रिय कोरोनाका सङ्क्रमितहरू उपचाररत छन्।
    प्रदेशका ८ वटा जिल्लामध्ये सबैभन्दा कम सिराहा जिल्लामा छ। जिल्लाका विभिन्न आइसोलेशनमा ५५ जना र होम आइसोलेशनमा १४ जना गरी ६९ जना मात्र उपचारमा रहेका छन्। प्रदेश नंं २ मा हालसम्म सङ्क्रमित हुनेहरूको कुल सङ्ख्या ७ हजार ८ सय ८३ पुगेकामध्ये कोरोनालाई पराजित गरेर ३ हजार ८७६ जना घर फर्किसकेका छन्।
    प्रदेश नंं २ मा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आजसम्म ४८ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here