प्रस, रौतहट, ३२ साउन/
सङ्क्रमितहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएपछि रौतहटमा एक हप्ताको लागि निषेधाज्ञा थप गरिएको छ। शनिवार जिल्ला सुरक्षा समितिले गरेको निर्णय अनुसार भदौ १ गतेदेखि ७ गतेसम्म निषेधाज्ञा थप गरिएको हो।
निषेधाज्ञा अवधिमा सर्वसाधारणहरूलाई अतिआवश्यक उपभोग्य खाद्यान्न सामग्री आपूर्ति सहज बनाउन हप्ताको तीन दिन १ गते सोमवार, ३ गते बुधवार र ५ गते शुक्रवार बिहान ६ देखि ९ बजेसम्म खाद्यान्न पसलहरू खोल्न दिइने जनाइएको छ।
विक्रेता तथा उपभोक्ताहरूले सेनिटाइजर, मास्क तथा पञ्जाको अनिवार्य प्रयोग गर्नुपर्ने, मास्क नलगाउने उपभोक्ताहरूलाई खाद्यवस्तु बिक्री वितरण नगर्ने, भौतिक दूरी कायम गर्नुपर्नेलगायतका निर्णय गरेको छ।
स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको उल्लङ्घन गर्ने र गराउने वा कार्यान्वयनमा अवरोध गर्ने र गराउनेउपर सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारबाई गरिने जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले जानकारी गराएका छन्।