प्रस, जनकपुरधाम, ९ भदौ/
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विश्वव्यापीरूपमा भइरहेको हरितगृह ग्याँस उत्सर्जन घटाउनका लागि वृक्षारोपण तथा दिगो वन व्यवस्थापन महŒवपूर्ण उपाय भएको बताएका छन् ।

धनुषाको बटेश्वर गाउँपालिकास्थित ८२ बिघा क्षेत्रफलमा लगाइएका छ हजार आँपका बोट फँडानी गरी सोलार प्लान्ट लगाउन लागेको सम्बन्धमा ध्यानाकर्षण गराउन आएका वातावरण अभियन्ताहरूसँग आइतवार छलफल गर्दै मुख्यमन्त्री सिंहले सो कुरा बताएका हुन् ।

आँप बगैचा फँडानी गरी जग्गा भाडामा दिने किसानको बाध्यताबारे अभियन्ता टोलीले मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण गराउँदा उनले वन व्यवस्थापनमा जोड दिइने बताएका हुन् ।

जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फूलगेन मगहीसहितका अभियन्तासँग कुरा गर्दै मुख्यमन्त्री सिंहले सोलार प्लान्टका लागि कृषि प्रयोजनबाट बाँकी रहने नदी उकास जग्गा दिने विषयमा गृहकार्य भइरहेको जानकारी दिए । “सोलार प्लान्ट राष्ट्रिय प्रसारण ग्रिडको निश्चित दूरीमा रहनुपर्ने भएकोले अन्यत्र राख्न केही समस्या छ तर यसको समाधान खोजिनेछ,” उनले भने ।

बटेश्वर क्षेत्रमा कृषि विद्युतीकरण तथा डीप बोरिङमार्फत सिंचाइ व्यवस्थापन र आँप भण्डारण गर्न कोल्ड स्टोर बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको बताउँदै मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा आँपको पकेट क्षेत्र प्रवद्र्धनका लागि सरकारले आवश्यक पूर्वाधार विकासलगायत काम गरिरहेको जानकारी दिए ।

मुख्यमन्त्री सिंहलाई अभियन्ता टोलीले बुझाएको ज्ञापनपत्रमा आँप किसान लक्षित कोल्डस्टोर निर्माण, नीलगाई व्यवस्थापन, नमूना पकेट क्षेत्र अनुसार किसानलाई अनुदान र आँपखेतीका लागि विशेष अनुदानमा कीटनाशक औषधि, मलखाद र उपकरणको व्यवस्था, सिंचाइ तथा बजार व्यवस्थापन गरिदिन प्रदेश सरकारसँग आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here