प्रस, जनकपुरधाम, ९ भदौ/
धनुषाको औरही गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा मधेस प्रदेशकै सर्वोकृष्ट भएको छ ।
संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा मधेस प्रदेशका १३६ वटा पालिकामध्ये धनुषाको औरही गाउँपालिका कार्यालय ८३.७५ अङ्क ल्याएर प्रथम भएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को मूल्याङ्कन नतीजा सार्वजनिक गरेको हो । जसमा मधेस प्रदेश अन्तर्गत धनुषाको औरही प्रथम, बाराको कलैया उपमहानगरपालिका ८१.२ अङ्कसहित दोस्रो र रौतहटको गौर नगरपालिका ८० अङ्कसहित तेस्रो भएको छ ।
त्यसैगरी, धनुषाको लक्ष्मीनिया गाउँपालिका ७९.२५ अङ्क पाएर चौथो भएको छ भने बाराको परवानीपुर गाउँपालिका ७८.२५ सहित प्रदेशकै पाँचौं, सिराहाको सिराहा नगरपालिका ७७.७५ अङ्क ल्याएर छैटौं स्थान प्राप्त गरेको छ ।
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका विभिन्न १० वटा विषयगत क्षेत्र छन् । जसमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवाप्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय छन् ।
यी सबै विषयगत क्षेत्र अन्तर्गत जम्मा १०० वटा सूचक रहेका छन् । अङ्क प्राप्त गर्न स्थानीय तहले आवश्यक सबै कागज/प्रमाण राखेर नियमितरूपमा सूचक भरिराख्नुपर्ने हुन्छ ।
सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको कार्य प्रक्रिया तथा उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्दै आवधिक समीक्षाको आधार प्राप्त र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउन संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षण गरी हरेक वर्ष नतीजा प्रकाशन गर्दै आएको छ ।