• विश्वराज अधिकारी

विश्व अर्थव्यवस्था पहिलेदेखि नै समस्याग्रस्त थियो, अब अर्को एउटा ठूलो र दीर्घकालसम्म प्रभावित गर्ने समस्या विश्व अर्थव्यवस्थामा थपिएको छ । इजराइल–हमास युद्धले विश्वलाई लामो समयसम्म शान्तिपूर्वक रहन नदिने सङ्केत दिइरहेको छ । कोभिड–१९ को असरबाट मुक्त हुन खोजिरहेको विश्व अर्थव्यवस्था पुनः अर्को समस्याले छोपिन थालेको छ । युक्रेन युद्धले विश्व अर्थव्यवस्थालाई, अर्कोतिर, उत्तिकै सताएको छ ।

आकारको दृष्टिकोणले इजराइल–हमास युद्ध सानो देखिए पनि प्रभावको हिसाबले भने यी दुईबीचको युद्ध ज्यादै ठूलो छ । यो युद्धलाई समयमैं शान्तिवार्ताद्वारा समाप्त नगर्ने हो भने यसले तेस्रो विश्वयुद्धको रूप लिन सक्छ । अहिले नै पनि यो युद्धमा प्रत्यक्षतः केवल दुई पक्ष इजराइल र हमास संलग्न देखिए तापनि अप्रत्यक्षरूपमा अनेक राष्ट्र संलग्न भइसकेका छन् । अप्रत्यक्षरूपमा अमेरिका, ब्रिटेन, फ्रान्स, बेल्जियम, क्यानडा, इरान, इजिप्ट, जोर्डन, सिरिया, लेबेनान, रूस, कतार, साउदी अरेबिया आदि संलग्न भइसकेका छन् ।

मध्यपूर्वमा भएको यो युद्धबारे कुरा गर्नुपूर्व हमासबारे कुरा गर्नु उचित होला । अहिलेसम्म फिलिस्तिनीहरूले गाजा क्षेत्रमा मात्र प्रभावकारी किसिमले इजराइलविरुद्ध कारबाही गरिरहेका थिए । तर अचानक हमास गाजा क्षेत्रभित्र कसरी आयो र यति शक्तिशाली हुन पुग्यो ? गत अक्टुबार ७ (२०२३) का दिन इजराइलभित्र पसेर कसरी १४०० भन्दा बढी व्यक्तिको हत्या गर्न सक्यो ? कसरी २०० भन्दा बढी व्यक्तिलाई बन्दी बनाउन सफल भयो ? फिलिस्तिनी क्षेत्रभित्र रहेर इजराइलविरुद्ध कार्य गरिरहेको यो सङ्गठन हमास कसरी यति शक्तिशाली हुन पुग्यो ? कसले हमासलाई हातहतियार उपलब्ध गराइरहेको छ ? इजराइलविरुद्ध हमास कसरी इजराइलको भूमिमा पसेर हजारौंको हत्या गर्न सक्यो ? सपनामा पनि नसोचिएको कुरा कसरी भयो ?

माथिका प्रश्नहरूको उत्तर अति सजिलो छ । फिलिस्तिनी स्वतन्त्रताका लागि इजराइलविरुद्ध सङ्घर्ष आरम्भ गर्ने सङ्गठन हमासले पर्दा अगाडि फिलिस्तिनी स्वतन्त्रताको लागि सङ्घर्ष गरेको देखिए पनि पर्दापछाडि इरानको लागि कार्य गर्छ । अर्को शब्दमा हमासलाई इरानले प्रयोग गरिरहेको छ । हमास इरानको सेना हो । इजराइललाई कमजोर पार्न, विश्व मानचित्रबाट इजराइललाई हटाउन, इरानले हमास लडाकाहरू तयार पारेको हो ।

लेबनानलाई कमजोर पार्ने इरानले त्यहाँ ‘हिजबुल्ला’ नामक विद्रोही सङ्गठनको स्थापना र सञ्चालन गरेझैं फिलिस्तिनी क्षेत्रमा पनि हमास नामक विद्रोही सङ्गठन स्थापना एवं सञ्चालन गरेको छ । इरान यो क्षेत्रमा ‘महाशक्ति’ बन्न चाहन्छ ।

अर्कोतिर चारैतिरबाट आर्थिक घेराबन्दी वा नाकाबन्दीमा परेको इरान अचानक बलियो भएको छ । कसरी भएको होला ? इरान अहिले रूसको साथ पाएर बलियो हुन पुगेको हो । रूसले अहिले इरानलाई अमेरिकाविरुद्ध प्रयोग गरिरहेको छ । मध्यपूर्वलगायत अरबजगत्मा अमेरिकालाई राजनीतिक र आर्थिकरूपमा कमजोर पार्न इरान रूसको बलियो मोहरा हुन पुगेको छ । यो कारणले गर्दा अहिले रूसले इरानलाई अनेक किसिमका सहयोग गरेर यो क्षेत्रमा बलियो बनाउन खोजिरहेको छ । सामान्य किसिमले हेर्दा हमासले आफ्नो शक्तिले काम गरेको देखिए तापनि भित्री तवरले हेर्ने हो भने हमासलाई इरान र रूसको साथ र सहयोग छ ।

अति महत्वाकाङ्क्षी वर्तमान रूसी राष्ट्रपति सदासर्वदा रूसको नेता र सर्वोच्च स्थानमा रहन चाहन्छन् । शक्ति र सत्ताबाहिर जान चाहँदैनन् । उनको यो महत्वाकाङ्क्षा पूरा गर्नका लागि उनी रूसी जनतालाई आफू राष्ट्रवादी हुँ भनी देखाउन चाहन्छन् । रूसको प्रमुख शत्रु अमेरिका हो भनी आफ्ना देशवासीलाई देखाउन चाहन्छन् । आफूले मात्र अमेरिकासँग टक्कर लिन सक्ने आफ्ना देशवासीलाई भन्नु उनको रणनीति हो ।

साथै अमेरिका आर्थिकरूपमा कमजोर भए मात्र आफू सधैं रूसको गद्दीमा बस्न सक्ने कुरा पुटिनलाई राम्ररी थाहा छ । यो कारणले गर्दा पुटिन अमेरिकालाई नियोजित किसिमले आर्थिकरूपमा कमजोर पार्न खोजिरहेका छन् ।

अमेरिकालाई आर्थिकरूपमा कमजोर पार्न पुटिन अमेरिकालाई निरन्तर युद्धमा संलग्न गराउन चाहन्छन् । पुटिनको यो योजना अनुसार नै उनले रूस–युक्रेन युद्धमा अमेरिकालाई संलग्न गराएका हुन् । अमेरिकाले युक्रेनलाई अर्बौं डलर आर्थिक सहयोग गरेको जगजाहेर छ ।

अमेरिकालाई कमजोर बनाउन नै पुटिनले हमासलाई उचालेका हुन् । हमासले इजराइलमाथि हमला गरेमा इजराइल अशान्त र कमजोर हुन्छ । इजराइललाई यस्तो सङ्कटको घडीमा मित्र अमेरिकाको सहयोग आवश्यक पर्छ । र यस्तो स्थितिमा अमेरिकाले इजराइललाई ठूलो आर्थिक सहयोग गरेमा, वा गर्नुपरेमा, अमेरिका पनि प्रभावित हुन्छ । अमेरिका आर्थिकरूपमा कमजोर हुन थप बल पुग्छ ।

पुटिनको अमेरिकालाई कमजोर पार्ने रणनीतिमा पुटिनलाई इरानले खुलेर सहयोग गरेको छ । तर चीनले भने खुलेर सहयोग गरेको छैन । चीन–अमेरिका व्यापार प्रभावित हुने भयले चीनले खुलेर रूसलाई सहयोग गरेको त छैन, तर रूसले अमेरिकाप्रति गरेको कार्यमा पुटिनलाई चीनको पूर्ण सहयोग प्राप्त छ ।

एउटा शक्तिशाली राष्ट्रको रूपमा रूसको उदय र चीनको बलियो बन्दै गएको आर्थिक स्थितिले विश्वको राजनीतिक सन्तुलन फेरिएको छ । पहिले अमेरिका एक्लो शक्तिशाली राष्ट्र रहेकोमा अहिले रूस पनि शक्तिशाली बन्न पुगेको छ तर चीनको सहयोगमा । यसरी चीन र रूसको मिलेमतोमा निर्माण भएको मोर्चाले अमेरिकासँग अप्रत्यक्षरूपमा टक्कर लिन खोजिरहेको छ । अमेरिकालाई आर्थिकरूपमा कमजोर पार्न खोजिरहेको छ ।

रूस–युक्रेन युद्ध र इजराइल–हमास युद्धमा अप्रत्यक्षरूपमा अमेरिका र रूसको संलग्नताले निश्चय नै यो विश्व अशान्त बन्छ । र त्यो अशान्तिको असर विश्व व्यापारमा पर्नेछ, विश्व अर्थव्यवस्थामा पर्नेछ ।

संसारकै आर्थिक ‘पावरहाउस’को रूपमा रहेको अमेरिको आर्थिक स्थिति कमजोर हुनु अमेरिकी नागरिकहरूका लागि नराम्रो त हो नै, विश्वका अन्य राष्ट्रहरूका लागि पनि नराम्रो हो । अमेरिकासँग ५०औं राष्ट्रको दोहोरो व्यापार छ । अमेरिका आर्थिकरूपमा कमजोर हुनुको अर्थ हो विश्व अर्थव्यवस्था कमजोर हुनु ।

यो नयाँ परिस्थिति, हमास–इजराइली युद्धले इजराइलको अर्थव्यवस्था त प्रभावित हुन्छ नै, यसरी हमासलाई प्रत्यक्ष सहयोग गर्ने इरानको अर्थव्यवस्था पनि प्रभावित हुन्छ । रूसको अर्थव्यवस्था पनि अप्रत्यक्षरूपमा प्रभावित हुन्छ । रूस–युक्रेन युद्धले गर्दा रूसको अर्थतन्त्र पहिलेदेखि नै कमजोर छ । रूसको अर्थव्यवस्था कमजोर पारेर भएपनि शक्ति र सत्तामा रहने पुटिनको कुटिलताले गर्दा रूसको अर्थव्यवस्था कमजोर हुँदै गएको छ । रूसमा बलियो प्रजातन्त्र भएको भए पुटिन उहिल्यै सत्ताबाट बाहिर गइसकेका हुन्थे ।

इरानका धर्मगुरुहरू आफू राज्यसत्ता एवं शक्तिमा रहनका लागि अरबजगत् र मध्यपूर्वलाई जहिले पनि अशान्त राख्न चाहन्छन् । यी क्षेत्र अशान्त रहेमा मात्र सत्ता र शक्तिमाथि आफ्नो पकड बलियो हुने इरानका धर्मगुरुहरूलाई राम्ररी थाहा छ । यस कारणले गर्दा नै पनि इरानले मध्यपूर्वलाई अशान्त राखेर इरानी जनताको ध्यान अन्त केन्द्रित गराएर आफ्नो उद्देश्यपूर्तिको बाटो फराकिलो पारिरहेको छ । मध्यपूर्वलाई अशान्त पार्न इरानले हमास र हिजबुल्ला जस्ता लडाकूहरूको उपयोग गरिरहेको छ ।  

माथि बयान गरिएका परिस्थितिहरूले गर्दा विश्व अर्थव्यवस्थामा ठूलो सङ्कट आउने देखिएको छ । यदि तेस्रो विश्वयुद्ध भएमा विश्व अर्थव्यवस्था ध्वस्त पनि हुन सक्छ । कामना गरौं, तेस्रो विश्व युद्ध नहोस् । इजराइल–हमास युद्ध र रूस–युक्रेन युद्ध सदाको लागि समाप्त होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here