बलिराम शुक्ल, बिरुवागुठी, २३ चैत/
मधेस प्रदेश तथा स्थानीय सरकारबीचको सहकार्यमा पर्सागढी नगरपालिकामा जनस्वास्थ्य प्रयोगशालाले बिहीवारदेखि सेवा शुरू गरेको छ ।
मधेस प्रदेश सामाजिक विकास मन्त्रालय र पर्सागढी नपाको सहकार्यमा रु ६० लाखको लागतमा बगवाना–२ मा स्थापित जनस्वास्थ्य प्रयोगशाला (ल्याब) को पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले आज उद्घाटन गरेका हुन् ।
नगरप्रमुख पाठकले नागरिकलाई प्रमुख मानी उपलब्ध साधन–स्रोत प्रयोग गरी स्वास्थ्य सेवा दिन स्वास्थ्य कर्मचारीहरूलाई निर्देशन दिए । ल्याब सञ्चालनमा आएपछि पर्सागढीलगायत ग्रामीण भेगका स्थानीय अबदेखि स्वास्थ्य परीक्षणको लागि वीरगंजलगायत अन्य स्थानमा जानुनपर्ने, बढी खर्च र झन्झट पनि बेहोर्नुनपर्ने बताए । उनले प्रयोगशालाबाट न्यून शुल्कमा मधुमेह, उच्च रक्तचाप, कलेजो, फोक्सो, मिर्गौला, लिपिड प्रोफाइललगायत शरीरका अन्य अङ्गको परीक्ष्Fण गर्न सकिने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराई, वडाध्यक्षहरू वीरेन्द्रप्रसाददास थारू, नवलकिशोर साह, रामबढाई यादव, पूर्ववडाध्यक्ष वेदमनदास थारू, डा राजाबाबू गिरी, ल्याब टेक्निसियन अताउल्लाह अन्सारीले मन्तव्य व्यक्त गरेका थिए ।
बगवाना स्वास्थ्य चौकी इन्चार्ज रजनेश पासवानले स्वागत र सहजीकरण पर्सागढी नपाका स्वास्थ्य प्रमुख नारायण पौडेलले गरेका थिए ।