सरकार र स्थानीय प्रशासनले निषेधाज्ञा थप्दै, लम्ब्याउँदै झन्डै महीना दिन पु–याउन थाल्यो। यद्यपि यसपटक नागरिकस्तरबाट निषेधाज्ञा उल्लङ्घन गरेको र सुरक्षाकर्मीले बल प्रयोग गरेको समाचार त्यति सारो सुनिएको छैन। यो नागरिकले सरकारलाई पु–याएको सहयोग हो। तर पनि सडकमा थोरै भए पनि सुरक्षाकर्मी परिचालित छ, सद्बुद्धि देखाउँदै नागरिक गतिविधि पनि जारी छ। यो सुखद अवस्था हो, कामको हर्जा पनि नहुने, नागरिक प्रताडित पनि बन्नु नपर्ने। नागरिक सतर्क छ, सुरक्षाकर्मी र प्रशासन सजग छ, तर के कोरोना सङ्क्रमण फैलन नदिनका लागि मात्र ? कोरोनाको भयावहता, निषेधाज्ञा, सामाजिक हेलमेलमा नागरिक न्यूनताबीचस तस्करी फस्टाएको समाचार भने निरन्तर आइरहेको छ। तस्करी क्रस–बोर्डर मात्र होइन, वन–जङ्गलमा पनि भइरहेको छ, नदी, खोलानालामा पनि तस्करी भइरहेको छ। कोरोनाको निहुमा यी सबैबाट सरकारले पन्छिन मिल्छ ? किनकि कोरोना महामारी तात्कालिक हो, यो जसरी आयो, त्यसैगरी जान्छ पनि। आफैं जाँदैन भने खोपको उपचारबाट भाग्छ।
यहाँ प्रश्न उठाउन सकिन्छ, कोरोना विभिन्न भेरिएन्टमा देखापर्छ। मानिसले पनि आज जुन खोप छ, त्यसभन्दा बढी असरदार खोप बनाउँछ र अन्ततः यसको प्रभावशाली उपचार खोज्छ। यसबीच जो स्वास्थ्य सतर्कताबाट विमुख छ, जसले कोरोनाबाट जोगिने मापदण्ड पालना गरेको छैन, उसले लापरवाहीको सजाय पाउँछ। तर कर्तव्य भनेको सदा रहिरहने चीज हो। कोही आफ्नो कर्तव्यबाट विमुख हुन सक्दैन, हुनुहुँदैन। कर्तव्य विमुखताले ल्याउने महामारीको कुनै उपचार छैन। आज वन–जङ्गल मासिंदो छ, अन्य प्राकृतिक सम्पत्तिको पनि चरम दोहन जारी छ। यसले वातावरणमा जुन प्रतिकूलता ल्याउँछ, समग्र पर्यावरणमा जुन खलबली मचाउँछ, त्यसको कुनै उपचार छैन। त्यसको अन्तिम परिणति धरतीबाट प्राणीमात्रको अस्तित्व नाश मात्र हो। आजको तात्कालिक समस्याबाट मुक्त हुनु जरूरी छ, तर यसैमा अलमलिएर अपूरणीय क्ष्Fतिको कारक बन्नु कुनै पनि अर्थमा बुद्धिमानी होइन। आज यदाकदा सामाजिक अपराधका घटनाबाहेक अन्य घटनामा कमी आएको बेला सुरक्षाकर्मीको गतिविधिमा पनि कमी आएको मान्नैपर्छ। यस्तो अवस्थामा जुन ठाउँमा सुरक्षाकर्मीको आवश्यकता छ, त्यहाँ खटाउन के आपत्ति ?
स्थानीय सरकारहरू पनि कोरोना महामारी नियन्त्रणमा अब खुलेर आउन थालेका छन्। यसमा मानिस सङ्क्रमित नै भयो बाहेकको अवस्थामा खासै आर्थिक समस्या पनि बेहोर्नुपर्दैन। कोरोनालाई स्थानीय सरकारको जिम्मा दिएर सङ्घ सरकार तस्करी नियन्त्रणतिर किन नलाग्ने ? सीमा वारपार तस्करीमा तलदेखि माथिसम्म सबैको मिलेमतो हुन्छ, त्यसमा तत्परता नदेखिएला तर प्राकृतिक संसाधनहरूको दोहन रोक्न सकियो भने आउने पीढीको लागि अनुपम उपहार हुन सक्दछ। यसै पनि विभिन्न कारणले आज वैश्विक तापक्रममा बढोत्तरी हुँदै गएको छ। वातावरणविद्हरूले जुन गतिले तापक्रममा वृद्धि हुँदै गएको छ, त्यसलाई सन् २०५० सम्म १.५० ले कम गर्न सकिएन भने पृथ्वी तातो भट्टीजस्तै हुने भविष्यवाणी गरिसकेका छन्। र यसको सबैभन्दा सजिलो, भरपर्दो र असरदार उपाय भनेको वन–जङ्गलको रक्षा नै हो, यद्यपि तापक्रम बढोत्तरीमा वन विनाशमात्र कारक होइन। यत्तिमात्र गर्न सकियो भने नेपाली मात्रको लागि होइन, विश्वकै जनताका लागि नेपालको उपहार हुनेछ।