प्रस, वीरगंज, २१ फागुन/
नेपाल पुलिस क्लब दोस्रो वीरगंज गोल्डकप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक वीरगंज युनाइटेड क्लबलाई सडेनडेथमा पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा पुगेको हो । नेपाल पुलिस क्लब पहिलो संस्करणको वीरगंज गोल्डकपको विजेता हो ।
आदर्शनगर रङ्गशालामा भएको आजको खेलमा दुवै टीमले निर्धारित समयमा गोलरहित बराबरी खेलेका थिए । जीतहारको लागि टाइब्रेकर भएपनि दुवै टीमले तीन/तीन गोल गरी बराबरी गरे । दुवै टीमले दुई चरणको बराबरी खेलेपछि सडेनडेथबाट जीतहारको निर्णय गरिएको थियो । टाइबे्रकरमा नेपाल पुलिसका उज्ज्वल राईको प्रहार पोल बाहिर गयो भने सञ्जीव लामाको प्रहारलाई गोलकीपरले रोकेका थिए । पुलिसको तर्फबाट रामचन्द्र बाजी, अमित टामाटा, विवेक पाण्डेले हानेको प्रहार गोलमा परिणत भएको थियो । यसैगरी, वीरगंज युनाइटेडका विदेशी खेलाडी बल्टोरको प्रहार पोलमा ठोक्कियो भने सनतबहादुर गुरुड्ढो प्रहारलाई गोलकीपरले रोके । शिशस थापा, आशा गुरुङ र कृपाकान्त चौधरीले प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।
सडेनडेथमा पुलिसका शिशिर चौधरी, नीरज खड्का, प्रज्वल चौधरी र सुनील तामाङले गोल गरेका थिए भने वीरगंज युनाइटेडका विवेक चौधरीको प्रहार गोलपोस्ट बाहिर गएको थियो । वीरगंजका अजित चौधरी, विक्रम ठाकुर र प्रमजय चौधरीको प्रहार गोलमा परिणत भएको थियो । यस खेलको ‘म्यान अफ द म्याच’ नेपाल पुलिस क्लबका गोलकीपर अमित टामाटा घोषित भए । उनले रु १० हजार नगद र शिल्ड प्राप्त गरे ।
भोलि बिहीवार दोस्रो सेमिफाइनल खेल मच्छिन्द्र फूटबल क्लब काठमाडौं र सहलेश फूटबल क्लब सिराहाबीच हुने आयोजक कमिटीका सदस्य सन्तोष खनालले बताए ।