प्रस, रौतहट, २१ फागुन/
डिभिजन वन कार्यालय, रौतहटको आयोजनामा वन डढेलो नियन्त्रणसम्बन्धी तालीम सम्पन्न भएको छ ।
तालीममा सहभागी सरोकारवालाहरूले रौतहटको वन क्षेत्रमा डढेलो शून्य बनाउने अभियानमा सहयोग एवं सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रमको इलाका प्रशासन कार्यालय, चन्द्रपुरका प्रमुख जनक पन्तले उद्घाटन गर्दै जिल्ला विपद् व्यवस्थापन समितिले कार्ययोजना बनाएर डढेलो नियन्त्रणमा सघाउने बताए । उनले वन डढेलो अधिकांश मानवसृजित कारण हुने गरेको बताए । उनले मानवसृजित डढेलोका कारण दुई तिहाई वन विनाश भइरहेको बताए । उनले रौतहटमा ४३ वटा सामुदायिक र तीनवटा साझेदारी वनको डढेलो नियन्त्रण गर्न कार्यविधि बनाएर वैज्ञानिकतवरबाट अघि बढ्नुपर्ने सुझाए । प्रमुख पन्तले जिल्लाका १८ पालिकामध्ये दुईवटामा वारुणयन्त्र रहेकाले यो पर्याप्त नभएको बताए । जिल्लालाई वन डढेलोबाट जोगाउन उपलब्धि देखिने खालका अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताए ।
डिभिजनल वन प्रमुख साहले वन डढलोको मुद्दामा रु साठी हजार जरिबाना, तीन वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था रहेको बताए ।
उनले वन डढेलोविरुद्ध कार्यविधि–२०८१ जारी भएको र सो कार्यविधि अनुसार अहिले काम भइरहेको बताए । उनले रौतहटको वन डढेलो कुनै घाटगड्डीमा लागे सम्बन्धित वन प्रमुख जिम्मेवार हुने जानकारी गराउँदै आफ्नो क्षेत्रमा यसबारे कडा निगरानी राख्न सुझाए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय, चन्द्रपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राई, सशस्त्र प्रहरी नायब उपरीक्षक राजेन्द्र गुँरागाईं, नेपाली सेनाका उपसेनानी कुलबहादुर नेपाली, नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष सञ्जय कार्की, सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष वेदहरि दाहाल, चन्द्रपुर नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख अजिता पौडेल, जिल्लास्थित साझेदारी वन उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता समूह, सबडिभिजन वन कार्यालयका प्रमुखलगायत सरोकारवालाहरूको सहभागिता थियो ।
कार्यक्रम सञ्चालन सबडिभिजन वन कार्यालय, चन्द्रपुर, रौतहटका वन अधिकृत अनिलकुमार महतोले गरेका थिए भने स्वागत तथा डढेलोसम्बन्धी प्रस्तुतीकरण क्रमशः डिभिजन वन कार्यालय, रौतहटका वन अधिकृत नेपाली साह र राजेश कुमारले गरेका थिए ।