गोलभेंडाले बजार पाएन, किसानहरू डेढ रुपैयाँ किलोमा बिक्री गर्न बाध्य

प्रस, परवानीपुर, २१ फागुन/
जीतपुरसिमरा उपमहानगरपालिकाका चारवटा वडामा गरिएको व्यावसायिक गोलभेंडा खेतीले बजार नपाउँदा किसानहरू लगानी डुब्ने भयले चिन्तित बनेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका–११, १२, १९ र २० का सिसनिया, फत्तेपुर, इनर्वासिरा र कञ्चनपुरमा सय बिघा बढी खेतमा यसपटक गोलभेंडा खेती गरिएको त्यहाँका किसानहरूले बताएका छन् ।

जीतपुरसिमरा–११ सिसनियाका किसान सन्तोष यादवले इजरायलबाट कृषि कर्म गरेर नेपालमा सोही अनुसारको कृषि कर्म थालेकामा लाखौं मूल्यको घाटा भएको बताए । उनले करीब चार बिघामा गोलभेंडा खेती गरेकामा अहिले प्रतिकिलो डेढ रुपैयाँमा बिक्री गर्दा पनि व्यापारीहरूले चासो नदेखाएकाले खेतमा नै गोलभेंडा खेर गइरहेको बताए । उनले रु २० लाख लगानी गरेको तर अहिलेसम्म आठ लाख बढीको पनि गोलभेंडा बिक्री नभएको दुःखेसो पोखे । किसान यादवले भने– २५ किलोको क्यारेट यस अघिसम्म डेढ हजारमा बिक्री हुँदै आएकामा अहिले ७० रुपैयाँमा बिक्री गर्दा पनि व्यापारी नपाएको बताए । उनले प्रतिक्यारेट तयार गर्दा ज्याला नै ३० रुपैयाँ पर्न जाने र ४० रुपैयाँमा एक क्यारेट गोलभेंडा बिक्री गरेर कसरी लगानी उठ्छ होला चिन्ता व्यक्त गरे ।

अर्का किसान जीतपुरसिमरा–१२ फत्तेपुरका रवीन्द्र सहनीले पाँच बिघामा रु२७ लाख लगानी गरेको तर अहिलेसम्म रु १० लाख पनि लगानी ननिस्केको बताए । उनले नेपाली गोडभेंडाले बजार नपाउनुको कारण भारतबाट खुला सीमाबाट अवैधरूपमा गोलभेंडा भित्रनुलाई बताएका छन् । सरकारले चोरी पैठारीमा कडाइ नगर्ने हो भने नेपाली किसानहरूको लगानी डुब्ने र आत्मनिर्भर हुन नसकिने बताए । उनले अवैध पैठारीले गोलभेंडा खेती गर्ने किसानहरू निरुत्साहित बनेका र आगामी वर्ष किसानले गोलभेंडा खेती नगर्दा भारतमा निर्भर हुनुपर्ने अवस्था आउने र नेपाली किसानहरू बेरोजगार हुने बताए ।

गोलभेंडा खेती गर्न भदौमा बिरुवा तयार गरी असोजमा रोप्ने र मङ्सिरको अन्तिमदेखि आगामी वैशाखसम्म गोलभेंडा उत्पादन हुने अनुमान गरिएको छ । यसपालि मङ्सिर महीनाभरिपञ्चवर्षीय गढीमाई मेला लागेकोले हरिया तरकारीको मोल आकाशिएको थियो । मेला समापन भएसँगै किसानहरूको उत्पादन एकैपटक बजारमा आउँदा पुसको पहिलो सातादेखि हरिया तरकारीहरूको मोल ह्वात्तै घटेको थियो र सो क्रम अहिलेसम्म जारी छ । काउली, बन्दाकोभी, आलु, हरियो केराउ आदिको मोल अहिलेसम्म ओरालो लागेकै अवस्थामा छ । कतिपय स्थानमा हरिया तरकारीले बजार नपाउँदा किसान खेतमैं सडाउने गरेका छन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्