प्रस, वीरगंज, २१ फागुन/
ठाकुर राम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि १० हजार ६७४ जना मतदाता रहेको निर्वाचन अधिकृत दिलीप सिंहले बताएका छन् ।
उनले स्ववियु निर्वाचन कार्यविधि अनुसार अहिलेसम्म १० हजार ६७४ जना मतदाता रहेको र फागुन २५ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने बताए । यो अवधिमा मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने उनले जानकारी गराए ।
ठाराब क्याम्पसमा यही फागुन २३ गतेसम्म स्नातक तह चौथो वर्षका लागि भर्ना अभियान जारी छ । भर्ना भएका विद्यार्थीहरू स्ववियु निर्वाचनमा सहभागी हुन पाउने हुँदा सो अवधिसम्म केही विद्यार्थी मतदाता सङ्ख्या बढ्न सक्ने उनले बताए । स्ववियु निर्वाचनका लागि ठाराब क्याम्पसमा यस अघि सङ्घ, सङ्गठन, संयुक्त प्यानल र समूह दर्ता हुँदा ३४ वटा फाराम दर्ता भएका थिए ।
स्ववियु निर्वाचन कार्यविधि तालिका अनुसार फागुन २५ गते अन्तिम नामावली प्रकाशन हुने र फागुन २७ गते उम्मेदवारी दर्ता हुने कार्यक्रम रहेको निर्वाचन अधिकृत सिंहले बताए । ठाराब क्याम्पसमा १६ वर्षपछि स्ववियुको निर्वाचन हुन गइरहेको छ ।
प्रत्येक दुई वर्षमा हुने स्ववियु निर्वाचन यो क्याम्पसमा २०६५ सालपछि हुन सकेको छैन । पछिल्लोपटक २०६५ सालमा सम्पन्न स्ववियु निर्वाचनमा नेविसङ्घका वैकुण्ठ श्रीवास्तव जितेका थिए । ठाराब क्याम्पसको इतिहासमा २०३६ सालमा अनेरास्ववियुका प्रमोद कण्ठ सभापतिमा जितेका थिए भने अहिलेसम्म अनेरास्ववियुबाट सभापतिमा पाँचजनाले जितेका छन् भने बाँकी कार्यकाल नेविसङ्घका उम्मेदवार जितेका थिए ।
चिकित्साशास्त्र अध्ययन संस्थान वीरगंज नर्सिङ क्याम्पसमा भने नेविसङ्घले २०६५ सालमा एकपटक मात्र निर्वाचन जितेको छ । २०७९ सालमा यो क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुकी मनीषा चौधरीले जितेकी थिइन् । शुरूदेखि अनेरास्ववियु र नेविसङ्घबीच मात्र प्रतिस्पर्धा हुँदै आएकोमा यसपटक भने अनेरास्ववियु, नेविसङ्घ, अखिल क्रान्तिकारी र अनेरास्ववियु समाजवादी गरी चारवटा सङ्घ, सङ्गठन दर्ता भएको निर्वाचन अधिकृत अञ्जुकुमारी महतोले बताइन् । यो क्याम्पसमा २७५ जना मतदाता छन ।
दुवै क्याम्पसमा सङ्घ, सङ्गठन, प्यानल र समूह दर्ताको प्रक्रिया सकिएको छ र विद्यार्थीहरू चुनावी गतिविधिमा सक्रिय छन् । पर्सा जिल्लामा त्रिवि अन्तर्गतका यी दुई क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुँदै आएको छ ।