मानवसेवा आश्रमको एउटा ब्लक वैशाखमा निर्माण सम्पन्न हुने

प्रस, वीरगंज, २१ फागुन/
मानवसेवा आश्रम वीरगंजको निर्माणाधीन भवनको एउटा ब्लक आगामी वैशाखदेखि सञ्चालनमा आउने निर्माण समितिका संयोजक प्रकाश थारूले बताएका छन् ।

लायन्स क्लब इन्टरनेशनलले निर्माण गरिरहेको पहिलो ब्लकको काम आगामी वैशाखमा सम्पन्न हुने र हाल वीरगंज महानगरपालिका–२५ श्रीसियामा प्रदेश सरकारले निर्माण गरेको वृद्धाश्रममा रहेका केही आश्रितलाई स्थानान्तरण गरिने उनले बताए । प्रदेशसभा सदस्य रमेश पटेलको संसदीय कोषबाट छ करोड लागतमा वृद्धाश्रम निर्माण भएको थियो । तर सो वृद्धाश्रम सञ्चालनमा आउन नसकेपछि तत्कालका लागि मानवसेवा आश्रमको भवन निर्माण नहुन्जेलसम्मका लागि आश्रितहरूलाई यहाँ राखिएको छ ।

लायन्स क्लब इन्टरनेशनलले पौने दुई करोडको लागतमा पहिलो ब्लकको निर्माण कार्य चार महीना अघि मात्र शुरू गरेको थियो । अहिले सो ब्लकमा चारवटा हल र तीन/तीन वटा स्नानघर र शौचालय निर्माण भइरहेको छ । प्रत्येक हलमा १४ जना आश्रितका लागि व्यवस्था हुनेगरी लायन्सले ५६ जनाको लागि पहिलो ब्लक निर्माण गर्दैछ ।

अर्काे ब्लक मधेस प्रदेश सरकारले निर्माण गर्दैछ । मधेस प्रदेश सरकारले दोस्रो ब्लकका लागि अहिलेसम्म एक करोड २० लाख खर्च गरिसकेको छ भने अहिले रकम अभावका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन ।

यसैगरी, तेस्रो ब्लकको जिम्मेवारी सांसद वीणा जयसवालले लिएकी छन् । आफ्नो संसदीय विकास कोषबाट उनले एक करोड रकम विनियोजन गरेकी छन् तर यो ब्लकको काम अहिले बजेट प्राप्त नभएको कारण शुरू भने भएको छैन । तीनवटै ब्लक निर्माण भएपछि मानवसेवा आश्रममा १६२ जना आश्रित बस्न सक्ने निर्माण समितिका संयोजक थारूले बताए ।

मानवसेवा आश्रममा अहिले ५५ जना महिला आश्रित छन् । त्यहाँ रहेका १० जना पुरुषलाई अन्यत्र आश्रमको शाखामा स्थानान्तरण गरिएको देवेश मानवसेवाले बताए । श्रीसियास्थित आश्रममा दुई वर्षदेखि पुरुष/महिला आश्रित बस्दै आएका थिए । आश्रमका अन्य शाखामा महिला/पुरुष एकसाथ राख्दा घटना भएपछि दुई महीना अघि पुरुषहरूलाई अन्यत्र शाखामा सारिएको देवेश मानवसेवाले बताए । हाल प्रदेश सरकारले निर्माण गरेको श्रीसियास्थित वृद्धाश्रमलाई पनि मानवसेवा आश्रमको पहलमा थप निर्माण कार्य गरेर व्यवस्थित पारिएको छ । बगैंचाहरू निर्माण गरिएको र ट्रसहरू बनाएर थप व्यवस्थित र आकर्षक पारिएको देवेश मानवसेवाले बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्