प्रस, निजगढ, २१ फागुन/
‘प्राथमिक उपचार हाम्रो सरोकार’ नाराका साथ बुधवार निजगढमा प्राथमिक उपचारसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ । प्राथमिक उपचारसम्बन्धी सामान्य ज्ञान नहुँदा अकालमा मानिसको ज्यान गइरहेका कैयौं घटना रहेको जनाउँदै घरघरमा प्राथमिक उपचारसम्बन्धी ज्ञान हुुन जरुरी रहेको योगदान राष्ट्रका लागि नामक संस्थाका अध्यक्ष एवं प्रशिक्षक ओम उप्रेतीले बताए ।
उनले बेहोश हुँदा, अत्यधिक गर्मीका कारण लू लागेका बिरामी, पानीमा डुुबेका, करेन्ट लागेका, आगोले पोलेका, सर्पले डसेका, हृदयघात भएका, दुर्घटनामा घाइतेलगायत अन्य बिरामीहरूले उचित समयमा प्राथमिक उपचार नपाउँदा अकाल मृत्युवरण गर्नुपरेको बताए । उनले अकाल मृत्युको सङ्ख्या घटाउन प्राथमिक उपचारले ठूलो सहयोग गर्ने जानकारी गराए ।
प्रशिक्षक उप्रेतीले आफू लामो समयसम्म वैदेशिक रोजगारमा रहेको र विगत सात वर्षदेखि देशका विभिन्न स्थानहरूमा प्राथमिक उपचारसम्बन्धी जानकारी र तालीम दिंदै आएको बताए । उनले सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी विभिन्न ठाउँका विद्यालयहरूमा गरी अहिलेसम्म दुई लाखभन्दा बढी मानिसलाई प्राथमिक उपचारसम्बन्धी तालीम दिएर सचेत पारेको बताए । उनले विकसित मुलुकहरूमा विद्यालयको पाठ्यक्रममैं प्राथमिक स्वास्थ्यसम्बन्धी ज्ञान दिने गरिएकामा नेपालमा पनि विद्यालय शिक्षामा प्राथमिक उपचारसम्बन्धी पाठ्यक्रम समावेश गर्न आफूले सरकारलाई पटकपटक आग्रह गरे पनि राज्यबाट बेवास्ता भइरहेको गुनासो गरे । नेपालमा पढाइने कतिपय प्राथमिक उपचारसम्बन्धी पाठ्यक्रमलाई अहिले परिमार्जन गर्नुपर्ने उनले बताए ।
प्राथमिक उपचारसम्बन्धी जनचेतनामूलक कार्यक्रमले अकालमा मृत्युु हुनबाट जोगाउन सक्ने जानकारी पाएको स्थानीय रामकृष्ण घिमिरेले बताए । कार्यक्रम होली एन्जल्स बोर्डिङ स्कूलको सभाहलमा भएको र विद्यार्थी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायतको सहभागिता थियो ।