• बैधनाथ श्रमजीवी

बुद्ध धर्मवारे भौतिकवादी साथीहरूकै बीचमा केही अस्पष्टताहरू देखिन्छ । जस्तो कि बुद्ध धर्म पूर्णतः भौतिकवादी हो वा पूर्णतः वैज्ञानिक हो अथवा बुद्ध धर्मलाई अन्धविश्वासमुक्त धर्म मान्ने आदि इत्यादि ।

वास्तवमा बुद्ध धर्म के हो त ? यसबारे हामीले स्पष्ट धारणा बनाउनु जरुरी देखिन्छ । बुद्ध धर्म पनि अरू धर्महरूजस्तै मानव हित अनुकूल नभएको धर्म हो वा अपेक्षाकृत अरू धर्महरूभन्दा रुढिवादिता र अन्धविश्वासको मात्रा कम भएको धर्म हो । विगतमा गौतम बुद्धले समाजभित्र विद्यमान दुःख र दुःखबाट छुटकारा पाउने उपायबारे जे–जस्तो व्याख्या गरे पनि अहिले बुद्ध धर्मले पूर्णतः धार्मिक कर्मकाण्ड तथा पूजापाठको रूप धारण गरिसकेको देखिन्छ । बुद्ध धर्मावलम्बीहरू लामाहरूद्वारा अन्य धर्मका धर्माधिकारीहरूजस्तै पीडित र शोषित रहेका देखिन्छन् । बुद्धको ध्यानलाई पैसा कमाउने व्यवसायको रूपमा सञ्चालन गरेको पनि नदेखिएको होइन । स्तुप तथा गुम्बाहरू पूर्णरूपले पूजापाठको स्थलको रूपमा रूपान्तरित भएको छ । जबकि बुद्ध ईश्वरको अवधारणालाई मान्दैनथे । यस्तोमा गुम्बा र स्तुपभित्र बुद्धकै मूर्ति पूजा गर्नुको औचित्य के ?

वास्तवमा बुद्ध धर्म आस्तिक धर्म हो कि नास्तिक धर्म हो ? वा दुवैको सम्मिश्रण हो, के हो ? यसबारे भौतिकवादीहरूले स्पष्ट धारणा बनाउन जरुरी छ ।

बौद्ध धर्म परम्परागतरूपमा न पूर्ण ‘आस्तिक’ मानिन्छ, न पूर्ण ‘नास्तिक’ नै । यो धर्म भौतिकवाद र अध्यात्मवादको बीचमा रहेको देखिन्छ । बौद्ध धर्मको विश्लेषण गर्दा यसलाई नास्तिक, भौतिकवादी, र अध्यात्मवादी विशेषताहरूको मिश्रण भनेर बुझ्न सकिन्छ ।

१. आस्तिक वा नास्तिक दृष्टिकोण :
– बौद्ध धर्मले अन्य धर्महरूमा जस्तै ‘सर्वशक्तिमान परमेश्वर’को अवधारणा स्वीकार गर्दैन । बुद्धले ‘ईश्वर’लाई केन्द्रमा नराखेर मानिसको कर्म, नैतिकता र ध्यानलाई महŒव दिएका छन् ।

– बुद्धले सृष्टिकर्ता भगवान्बारेमा कुनै स्पष्ट मत दिएनन्, बरु मानिसलाई आप्mनो भोगाइ र अनुभूतिका आधारमा नैतिकता पालन गर्न र मुक्ति प्राप्त गर्न प्रेरित गरे । यस आधारमा बौद्ध धर्मलाई ुनास्तिक भनिन्छ किनभने यो ईश्वर–आधारित धर्म होइन ।

२. भौतिकवाद :
– बौद्ध धर्म भौतिकवादको केही तŒवहरूमा आधारित छ, विशेषगरी यसले संसारको अस्थायी र परिवर्तनशील प्रकृतिलाई मान्यता दिन्छ । बुद्धले संसारलाई ‘अनित्य’ (अस्थायी) मानेका छन्, जसमा सबै वस्तु उत्पत्ति र विनाशको चक्रमा छ ।

– बुद्धले जीवनको पीडा (दुःख)को कारणलाई ‘इच्छा’ र ‘संलग्नता’ (आसक्ति) भनेर व्याख्या गरेका छन् । यसमा कुनै आध्यात्मिक शक्ति वा आन्तरिक आत्मालाई महŒव दिइँदैन, बरु भौतिक संसारको नियमहरूको अध्ययन र अनुभूति हुन्छ ।

३. अध्यात्मवाद :
– यद्यपि बौद्ध धर्ममा कुनै ‘परमात्मा’ मान्य छैन, यसले आध्यात्मिक उन्नतिलाई अत्यधिक महŒव दिन्छ । ‘निर्वाण’को प्राप्ति, ध्यान र आन्तरिक जागरणले यसलाई अध्यात्मवादको दायरामा पनि पार्छ ।

– बुद्ध धर्मले मानिसको चेतनालाई शुद्ध गर्न र मुक्ति (निर्वाण) पाउन ध्यान र आत्मनिरीक्षणलाई महŒव दिन्छ । ध्यानमार्पmत चेतनाको उच्च स्तरमा पुग्न सकिन्छ भन्ने विश्वासले यसलाई आध्यात्मिक सिद्धान्तको रूपमा पनि स्थापित गरेको छ ।

४. उदाहरणहरू :
– ईश्वरको अनुपस्थिति : बौद्ध धर्ममा ईश्वर पूजा गरिंदैन । उदाहरणको रूपमा बुद्धको शिक्षामा ईश्वरले जीवनलाई नियन्त्रित गर्छन् भन्ने धारणा खारेज गरिएको छ । यो ‘नास्तिकता’को सूचक हो ।

– भौतिक संसारको अस्थिरता : बुद्धले चार आर्यसत्य (दुःख, दुःखको कारण, दुःखको निवारण र दुःख निवारणको मार्ग) प्रस्तुत गरे, जसमा उनले संसारका सबै वस्तु परिवर्तनशील छन् भन्ने ‘भौतिकवादी दृष्टिकोण’ प्रकट गरे ।

– आध्यात्मिक मार्गदर्शन : ध्यान, धर्मचक्र प्रवर्तन, र मोक्षको खोज बौद्ध धर्मको केन्द्रमा रहेको छ । यसको अन्तिम लक्ष्य ‘निर्वाण’ प्राप्त गर्नु हो, जसलाई आत्मज्ञान र शुद्ध चेतना प्राप्ति मानिन्छ । यो ‘अध्यात्मवाद’को स्पष्ट उदाहरण हो ।

बौद्ध धर्ममा ‘निर्वाण’ भन्नाले पीडाबाट पूर्ण मुक्ति र अन्तिम आत्मज्ञान बुझिन्छ । यो अवस्थाले सबै प्रकारका दुःख, इच्छाहरू र संसारिक भ्रमहरूबाट मुक्त हुने अर्थ राख्छ । निर्वाण बौद्ध धर्मको अन्तिम लक्ष्य हो, जसलाई प्राप्त गरेपछि पुनर्जन्मको चक्र (संसार) समाप्त हुन्छ र चेतनाको उच्चतम अवस्था प्राप्त हुन्छ । अर्थात् बुद्ध धर्मले पुनर्जन्म – पूर्व जन्मको मान्यतामा विश्वास राख्छन् । सोझै नभने पनि आत्माको अस्तित्व स्वीकार गर्छन् । आत्मालाई नमान्ने हो भने पुनर्जन्मको चक्र भनेको के हो त ? कसको पुनर्जन्म हुन्छ ?

निर्वाणका मुख्य विशेषताहरू :
१. दुःखको अन्त्य :
– बौद्ध धर्मको प्रमुख शिक्षामा ‘दुःख’ जीवनको अविच्छिन्न अङ्ग हो भनिएको छ । मानिस इच्छा, तृष्णा र मोहको कारण दुःख भोग्छ । निर्वाण प्राप्त गर्नाले यी सबै इच्छाहरूको अन्त्य हुन्छ, जसले गर्दा मानिसको दुःख समाप्त हुन्छ । यहाँनिर बुद्धले वर्ग सङ्घर्षलाई पूरै अस्वीकार गरेको देखिन्छ । समाजमा वर्ग हुनुको कारण आर्थिक व्यवस्था हो । यो रहेसम्म वर्ग रहन्छ भन्ने कुरा बुद्ध मान्दैनन् । वर्गीय समाजमा सबै दुःखको कारण वर्ग विभेद र वर्गीय शोषण नै हो भन्ने कुरालाई नजरअन्दाज गर्दै बुद्धले व्यक्तिको आन्तरिक तृष्णा जस्तो विषयलाई प्राथमिकतामा राखेको देखिन्छ । अर्थात् आर्थिक व्यवस्थाभन्दा पनि वा भौतिक कुराभन्दा पनि अध्यात्मिक कुरालाई प्राथमिकतामा राखेको स्पष्ट छ ।

२. इच्छा र आसक्तिको समाप्ति :
– निर्वाणको अर्थ इन्द्रियको इच्छा, तृष्णा र संसारिक वस्तुहरूमा आसक्ति समाप्त हुनु हो । बुद्धका अनुसार मानिसहरूको सबैभन्दा ठूलो समस्या उनीहरूको इच्छा र मोह हो, जसले पुनर्जन्मको चक्रलाई निरन्तरता दिन्छ । निर्वाण प्राप्त गर्दा यी सबै मानसिक अवस्थाहरू नष्ट हुन्छन् ।

३. अज्ञानताको समाप्ति (अविद्या) :
– निर्वाण भनेको ज्ञानको सर्वाेच्च अवस्था पनि हो । बुद्ध धर्ममा अज्ञानता (अविद्या)लाई संसारिक दुःखको मुख्य कारण मानिन्छ । जब अज्ञानता समाप्त हुन्छ, व्यक्तिले सत्यलाई बुझ्छ र आत्मज्ञान प्राप्त गर्छ । निर्वाण भनेको सत्यको प्रत्यक्ष अनुभूति हो, जसले भ्रमको अन्त्य गर्दछ ।

४. पुनर्जन्मको चक्रबाट मुक्ति :
– बौद्ध धर्ममा पुनर्जन्म (संसार)को चक्रलाई दुःखमय मानिएको छ । जब मानिसले निर्वाण प्राप्त गर्छ, उसले यो पुनर्जन्मको चक्रलाई समाप्त गर्छ । यो चक्रबाट मुक्त हुनु भनेको संसारिक जीवनको पीडाबाट पूर्णरूपमा छुटकारा पाउनु हो ।

५. शान्ति र मुक्तिको अवस्था :
– निर्वाण भनेको एकदमै शान्त, स्थिर र स्थायी शान्तिको अवस्था हो, जहाँ मानिसको मन कुनै प्रकारको अशान्ति, पीडा, वा भ्रममा पर्दैन । यसलाई सबै पीडाहरूको अन्त्य र परम आनन्दको रूपमा बुझिन्छ । यो पूर्णतः आध्यात्मिक भाष्य हो । मनबाट मात्रै सबै दुःखबाट मुक्ति सम्भव छ र ?

निर्वाणको व्याख्या :
– निर्वाणको व्याख्या सामान्यतया दुर्ई प्रकारले गरिन्छ :
१. सोपाधिशेष निर्वाण (सजीव निर्वाण) :
यो अवस्था तब प्राप्त हुन्छ जब व्यक्ति इच्छा, मोह र अज्ञानता समाप्त गरेर शारीरिकरूपमा बाँचिरहेको हुन्छ । यस अवस्थामा व्यक्ति अझै संसारमा बाँचिरहेको छ तर पूर्णरूपमा मुक्त भइसकेको हुन्छ ।

२. अनुपाधिशेष निर्वाण (निर्जीव निर्वाण) :
यो अवस्था तब प्राप्त हुन्छ जब निर्वाण प्राप्त गरेको व्यक्तिको शारीरिक मृत्यु हुन्छ । यसपछि ऊ पूर्णरूपमा पुनर्जन्मको चक्रबाट मुक्त हुन्छ ।

यहाँ हामीले ध्यान दिनुपर्ने कुरा यो हो कि मान्छेको मृत्युपश्चात् ऊ यसै मुक्त भइहाल्छ । मृत्यु नै सबै दुःखबाट मुक्त हुनु हो भन्ने कुरामा शङ्का नै छैन, किनभने मानिसको शरीरभित्र न कुनै आत्मा छ, न मरेपछि उसले कुनै पुनर्जन्मको चक्रमा जानुछ । ऊ ज्ञानी होस् वा अज्ञानी होस् पुनर्जन्म नै नभएपछि मरेपछि सबै प्रकारको दुःखबाट मुक्ति पाइहाल्छ ।

यसरी निर्वाण बौद्ध धर्ममा एउटा अन्तिम आध्यात्मिक अवस्था हो, जहाँ व्यक्ति इच्छाबाट मुक्त हुन्छ, दुःखको अन्त्य हुन्छ र पुनर्जन्मको चक्रबाट छुटकारा पाउँछ । यो पूर्ण शान्ति, मुक्ति, र ज्ञानको अवस्था हो, जसलाई प्राप्त गर्न ध्यान, नैतिकता र ज्ञानको मार्ग अवलम्बन गरिन्छ । हो यही पक्षलाई भौतिकवादीहरूले गम्भीरतापूर्वक लिएको देखिंदैन । उनीहरू गौतम बुद्धले ईश्वरलाई नमानेको हुनाले नै भौतिकवादी र नास्तिक हुन् भन्ने कुरालाई प्राथमिकतामा राखेर बहसमा लागेको देखिन्छ ।

निष्कर्षः
बौद्ध धर्मलाई परम्परागतरूपमा ‘नास्तिक’ र ‘अध्यात्मवादी‘ मिश्रण मान्न सकिन्छ, जहाँ यो भगवानको उपस्थिति अस्वीकार गर्छ तर ध्यान, नैतिकता र आत्मज्ञानलाई केन्द्रमा राख्छ । यसले ‘भौतिकवादी’ दृष्टिकोणमा संसारको अस्थायित्वलाई मान्यता दिन्छ तर मानिसको आन्तरिक उन्नतिलाई उच्च महŒव दिन्छ । अहिलेको समाजमा बुद्ध दर्शनमा हिंडेर हाम्रो समाज कुनै पनि प्रकारको दुःखबाट निर्वाण पाउने अवस्था छैन । जबसम्म हामी विभेदमा खडा भएको राज्य सत्तालाई ध्वस्त गर्दैनौं र पूँजीवादी अर्थतन्त्रलाई समाप्त पारी सामुदायिक उत्पादनमा जाँदैनौं, आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दैनौं तबसम्म हामी केवल आत्मज्ञानले मानसिकरूपमा निर्वाण पाएको जस्तो अनुभूति गरे पनि वास्तविकतामा हामी दुःखैदुःखको चाङभित्र निसासिइरहने छौं भन्ने कुरालाई भौतिकवादीहरूले मनन गर्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here