प्रस, वीरगंज, १ कात्तिक/
कानून, न्याय तथा संसदीय न्यायमन्त्री अजयकुमार चौरसियाले संविधान संशोधनको मुद्दाबाट नेपाली काङ्ग्रेस र एमाले पछि नहटेको बताएका छन् ।

बिहीवार नेपाल प्रेस युनियन, पर्साले आयोजना गरेको शुभकामना कार्यक्रममा मन्त्री चौरसियाले नेका र एमालेबीच संविधान संशोधनलगायत सात बुँदे सहमति भएर सरकार गठन भएको र यो सरकार संविधान संशोधनको मुद्दामा दृढ रहेको दाबी गरे । उनले यस विषयमा गहन छलफल भइरहेको पनि दाबी गरे ।

अहिले आन्तरिक छलफल भइरहेको र पछि सबै दलको साझा सहमतिमा संविधान संशोधन गरिने उनले बताए । मन्त्री चौरसियाले अहिले बजारमा चलाइएको जस्तो दुई दलबीच कुनै पनि किसिमको मनमुटाव नरहेको बताए । दुई ठूला दलको सहमतिमा सरकार बनेको र यो सरकार आगामी आमनिर्वाचन २०८४ सम्म टिकाउ रहने दाबी गरे । आगामी चुनाव अघि कुनै पनि अवस्थामा सत्तासमीकरण परिवर्तन नहुने उनले बताए । मन्त्री चौरसियाले वर्तमान सरकारको सय दिन सफल भएको दाबी गरे । जनतामा रहेका असन्तुष्टिलाई सरकारले सम्बोधन गर्दै बिस्तारै हटाउने बताए ।

उनले १५ वर्षदेखि टिआरसी विधेयक आपूm कानूनमन्त्री भएपछि सर्वदलीय सहमतिमा संसद्बाट पारित गरेर राष्ट्रपतिबाट प्रमाणीकरणसमेत भएको भन्दै यो सरकारको सबैभन्दा ठूलो उपलब्धि भएको पनि दाबी गरे ।

प्रेस युनियन, पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, नेका पर्साका उपसभापति अशोक गुप्ता, नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, प्रेस युनियनका सचिव अशोक तिवारी, केन्द्रीय सदस्य श्रीराम रायमाझी, पूर्वनगरप्रमुखद्वय नितेन्द्र साह र लोकनारायण यादवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here