हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा ठूलो पर्व बडादशैं शुरू भइसकेको छ । नवरात्र शुरू भएपछि दशैं शुरू भएको मानिन्छ । दशैंपछि तिहार, छठ, माघे सङ्क्रान्ति, लोसार, महाशिवरात्रि, फागु पूर्णिमा, बुद्ध जयन्ती, तीजलगायतका पर्वहरू क्रमशः आउने गर्छन् । नेपाल विविधताभित्र अनेकता भएको देश हो । यहाँका मानिसहरूको विविध संस्कृति भएपनि एकले अर्काको धर्म, संस्कृति, परम्पराको सहिष्णुता र सम्मान गर्ने हुँदा हरेक समुदायले फरक समुदायको पर्व पनि पछ्याइरहेका साथै मनाइरहेका हुन्छन् । नेपाली समाजको यही विशेषताका कारण यहाँका हरेक समुदायले अनेक पर्वहरू मनाइरहेका हुन्छन् । कृषिप्रधान मुलुक भएकोले कृषिमा आधारित पर्वहरू पनि धेरै छन् । खेती लगाउने समय, गोडमेल गर्ने, बाली काट्ने, भिœयाउने र उपयोग गर्न शुरू गर्ने पर्वहरूसमेत छन् । एकै किसिमका पर्वका पनि विभिन्न रूपहरू छन् । जस्तै एक वर्षमा दशैं मात्रै चारवटा छन् । ती चारवटा दशैंमध्ये ठूलो दशैंलाई बढादशैं भनिएको हो । त्यसैगरी, दुईवटा छठ पर्व मनाइन्छ । यसैले हाम्रो मुलुकलाई विविध संस्कृतिको धनी मुलुकको रूपमा विश्वले मानेको छ । हरेक पर्वको आआफ्नै महत्व छ ।
पछिल्लो समयमा हामीले मान्ने चाडपर्वहरू भड्किलो र फेसन बनिरहेको छ । हिन्दू, बौद्ध, किरात वा अन्य धर्मावलम्बीहरूले मनाउने पर्वहरूमा सांस्कृतिक मूल्य र मान्यतालाई लत्याएर विकृति भिœयाउने होड चलेको छ । हाम्रा सांस्कृतिक पर्वहरूमा भएका कुरीतिलाई हटाउँदै सभ्य तरीकाले मनाउनुपर्नेमा झन् विकृति थुपार्दै जटिल बनाउँदै लगिरहेका छौं । हाम्रो देश नेपालका मौलिक चाडपर्वका कारण विश्वमा नै धनी मुलुकको रूपमा चिनिने गरिएको पाइन्छ । विकृतिको प्रभाव र संरक्षणका अभावमा कतिपय चाडपर्वहरू लोपोन्मुख अवस्थामा पुगेका छन् । इतिहासलाई फर्केर हेर्ने हो भने चाडपर्व मनाउने धार्मिक तथा ऐतिहासिक पद्धतिभन्दा अहिले आएर मनाउने गरिएका चाडपर्वहरू निकै नै फरक हुँदै गएका छन् । चाडपर्व मनाउने शैली भड्किलो हुँदै गएका छन् । मानिसहरूको दैनिक जीवन पद्धतिबाट उत्पन्न क्रियाकलापहरू नै कालान्तरमा संस्कृति तथा परम्परा बन्ने हुन् । त्यही संस्कृति तथा परम्परा मानिसको पहिचान हो । चाडपर्वमा विकृति भिœयाएसँगै हाम्रा भोलिका सन्ततिको पहिचान जोखिममा पुगेको छ ।
नेपाली जनताको जीवनस्तर सुधार गर्नमा विदेशबाट कमाइका रूपमा आउने विप्रेषणको उल्लेख्य भूमिका रहेको छ । जति विदेशको कमाइ देशभित्र भित्रिएको छ, त्योभन्दा बढी रकम चाडपर्वलाई भड्किलो बनाउन, आधुनिकताको नाममा अरूको संस्कृति भिœयाउन, मौलिक र परम्परालाई भुलेर आधुनिक बन्ने प्रतिस्पर्धामा खर्च भइरहेको छ । लवाइ, खवाइ, हिंडाइ र बोलाइमा समेत विदेशको अनुसरण गर्नुपरेको छ । हामीसँग जति पर्व छन्, त्यति विदेशीहरूसँग छैन । वर्षमा जब एक/दुई वटा मात्रै पर्व मनाउनु छ भने उसले जति पनि खर्च गर्छ । वर्षमा सयौं पर्व मनाउनुपर्ने हामीले वर्षमा दुई/चार वटा पर्व मनाउनेहरूको नक्कल गर्न थाल्यौं भने सडकमा आइपुग्नुको विकल्प छैन । केही जायजेथा र गोजीमा दाम हुनेसम्म देखासिखी, तडकभडक, खर्चिलो र भड्किलो बन्दै गर्दा आफ्ना छरछिमेक तथा समाजमा पनि त्यसको छाप पर्छ, अनि ‘कोभन्दा को कम ?’ आफू डुब्ने, अरूलाई डुबाउने र सन्ततिको पहिचान मेटाउने हदसम्मका क्रियाकलापलाई हरेक नेपालीले अविलम्ब त्याग्नुपर्छ । सुधारको थालनी यही दशैंबाट हुनुपर्छ ।