प्रस, परवानीपुर, ६ माघ/
वीरगंज–पथलैया रूटमा नियमविपरीत ईरिक्शा र अटोचालकहरूले सवारीसाधन गुडाएपछि रूट परमिट पाएका म्याजिक भ्यान चालकहरू समस्यामा परेका छन् ।
सो रूटमा हलुका सवारीसाधनमा पहिलेको परवानीपुरको टेम्पो सङ्घका सवारीधनी अहिलेका म्याजिक भ्यान चालकहरू समस्यामा परेको गुनासो गरेका छन् ।
आधिकारिकरूपमा वीरगंज–पथलैया–चपुर रूटमा बारा/पर्सा परवानीपुर यातायात व्यवसायी सङ्घ र वीरगंज–पथलैया मझौला यातायात सङ्घलगायत केही हलुका सवारीसाधनका समितिलाई सवारी गुडाउन रूट परमिट छ । तर वीरगंजका हजारौं ईरिक्शा र अटोचालकहरूले गैरकानूनीरूपमा सवारी चलाउँदा आफूहरूलाई समस्या भएको यातायात व्यवसायीहरूले आरोप लगाएका छन् ।
बारा पर्सा परवानीपुर यातायात व्यवसायी सङ्घका सचिव दीपनारायण साहका अनुसार ईरिक्शा र अटोका कारण आफूहरूको व्यवसाय खोसिने अवस्था आएको बताए । उनले आफूहरूको व्यवसाय सुरक्षाको लागि स्थानीय सरकार, प्रहरी प्रशासनसँग माग गरे । ‘ईरिक्शा र अटोलाई राजमार्गमा सवारी चलाउन रूट परमिट छैन, तैपनि चलाइरहेका छन्,” उनले भने, “ट्राफिक प्रहरीले जुन रूपमा कडाइ गर्नुपर्ने हो गर्दैनन्, हामीहरू निकै मारमा परेका छौं ।” सोही सङ्गठनका कोषाध्यक्ष असलम अन्सारीले आफूहरूको व्यवसाय कम हुँदै गएपछि अहिले बैंकको किस्ता तिर्न पनि समस्या भइरहेको बताए ।
उक्त रूटमा म्याजिक भ्यानका दुर्ईवटा संस्थासँग ६५ र ७५ गरी कुल १४० वटा म्याजिक भ्यान सञ्चालनमा रहेको उनले बताए । एउटा गाडीको मूल्य करीब १८ लाख पर्छ । सबै खर्च कटाएर दैनिक चार हजारदेखि साढे चारहजारसम्म कमाउनुपर्छ । तर अहिले दैनिक दुई हजार पनि कमाइ भइरहेको छैन, उनले दुःखेसो पोखे । व्यवसाय खोसिएपछि किस्ता तिर्न नसकेर कतिपय व्यवसायीका सवारी बैंकले तानिरहेको उनले बताए ।
वीरगंज महानगरमा जम्मा तीन सय ईरिक्शा दर्ता भई यातायात व्यवस्था कार्यालयबाट रूट परमिट लिएको तर करीब पाँच हजार ईरिक्शा अवैधरूपमा सञ्चालनमा रहेकाले वीरगंजको ट्राफिक व्यवस्था प्रभावित बन्नुका साथै अन्य यातायात व्यवसायमा नकारात्मक असर परिरहेको छ । अवैधरूपमा गुड्ने ईरिक्शा तथा अटोका सङ्गठनहरूले स्थानीय सरकार, प्रहरी प्रशासनलाई मासिक लाख रुपियाँभन्दा बढी नजराना बाँडेर अवैधरूपमा गुडाइरहेकाले सरोकारवालाको ध्यान जानुपर्ने उनीहरूको माग छ । यदि यस्तो अवस्था रहिरहेमा आगामी दिनमा सङ्घ आन्दोलन गर्न बाध्य हुने म्याजिक व्यवसायीहरूको चेतावनी छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुव दाहालका अनुसार गण्डकभन्दा बाहिर जान नपाउने नियम रहेको चर्चा गर्दै प्रहरीले पैसा लिएको आरोप गलत भएको दाबी गरे । उनले कोही कसैले घरमा बिरामी लगेको भन्दै रूटबाहेक ईरिक्शा र अटो लैजाने गरेको पनि स्वीकार गरे ।