– हरिकृष्ण बराल
(राधामाधव स्वामी)
मूर्ली बगैंचा, वीरगंज
आत्मा एउटा शाश्वत सत्य हो। यो कहिल्यै मर्दैन तर हरेक जीव योनीमा यसले धारण गरेको शरीरको मृत्यु हुन्छ। जन्म जस्तै शरीरको मृत्यु पनि सत्य हो। जसको जन्म भएको छ, उसको मृत्यु निश्चित छ। जुन जीवले जन्म लिन्छ, उसले त्यसै बेलादेखि नै मृत्यु पनि साथमैं लिएर आएको हुन्छ। जीव कुनै पनि बेला मर्न सक्छ। हरेक पलमा मृत्युको बोध अरू जीवलाई नभए पनि मानिसलाई चाहिं हुनुपर्छ। जीवको केवल शरीर मर्छ। जीवात्मा अमर छ, कहिल्यै मर्दैन। मानिसले जन्मँदा केही पनि लिएर आउँदैन र मर्दा पनि केही लिएर जाँदैन। यो शरीर माटोको मूर्ति हो। यो शरीरको मोह नगर्नु, जीवन एकक्षणको खेल हो आदि इत्यादि भनेर हामीलाई आजसम्म शिक्षा दिइँदै आइएको छ। तर आजसम्म पनि म किन मिहिनेत गरूँ सबैथोक भगवान्ले नै गरिदेलान् भनेर चुप लागेर बसेको मान्छे एकजना पनि भेटिएको छैन। मानिसको बसमा त आत्महत्या पनि हँुदैन। मानिसले आत्महत्या गर्नुको मुख्य कारण भावहरूलाई मानसिक विकारहरूको अग्निमा अति धेरै तताएर चिसिनै नदिएर आफ्नो मूल स्वभाव आनन्दमा फर्कन नसकेको कारणले हुने गर्छ।
मानिस सृजनात्मक हुन्छ। सृजनात्मकता पनि आनन्दकै एउटा रूप हो। मानिसलाई मृत्युको बोध हुनु भनेको धेरै नै ठूलो कुरा हो। मृत्युको बोध हुनु भनेको सत्यको बोध हुनु हो। मृत्युको बोध हुनु भनेको धर्मको बोध हुनु हो। धर्मको बोध नभई कसैलाई पनि मृत्युको बोध हुँदैन। जब मानिसलाई मृत्युको बोध हुन्छ, तब उसले आफ्नो स्वभाव अनुसार उसले केही सृजनात्मक कार्य गरेर मात्र मर्न पाए हुन्थ्यो भन्ने सोच्न थाल्छ। उसले आफ्नो परिवारप्रति सकारात्मक विचार राख्नेछ। सबैप्रतिका सबै शिकायतहरू बिर्सनेछ। उसले निश्चय गर्नेछ कि आफ्नो परिवारसँग आनन्दपूर्वक बस्नु छ, बोल्नु छ, खिलखिलाउँदै हाँस्नु छ र उनीहरूको इच्छा पूरा गरिदिनु छ। यो अभ्यासलाई दोहो–याउँदै जानेछ। यसको दायरालाई अझ फराकिलो पार्दै जानेछ। परिवार त्यसपछि समाज गर्दै बिस्तारै–बिस्तारै जब समस्त अस्तित्वसँग प्रेम गर्न सिक्नेछ, तब यो बानीबेहोराकै रूपमा विकसित हुनेछ। जब प्रेम हाम्रो प्रकृति बन्नेछ, तब हामी आफ्नै मूल स्वभावमा फर्किनेछौं। अब जीवनको आनन्द प्रतिदिन बढ्दै जानेछ, कहिल्यै कम हुनेछैन।
कहिलेकाहीं केही मानिस धेरै महान् बन्ने गर्छन्। आफूलाई धेरै ठूलो आध्यात्मिक व्यक्तित्व सम्झन थाल्छन्, अरूहरूलाई ज्ञान बाँड्न थाल्छन्। ती तिनै व्यक्तित्वहरू हुन्छन्, जसले आफ्नो परिवारलाई ठीकसँग सम्हाल्न सक्दैनन्। परिवारका सदस्यहरूसँग उनीहरूको मेलमिलाप हँुदैन। परिवारसँगको सम्बन्ध नै मानिसको आध्यात्मिकता जाँच गर्ने कसी हो। चाहे त्यो परिवार सांसारिक होस् वा आध्यात्मिक। मानिसले आफ्नो परिवारको लागि स्वर्ग बनाउन सकिरहेको छ कि छैन, यो नै जीवनलाई जान्ने सर्वश्रेष्ठ तरीका हो। अरूसँग कसरी जीवनयापन गर्नुपर्छ भन्ने कुरा तपाईंले सिक्न सक्नुभएन भने सबै ठूला–ठूला कुरा, ठूला–ठूला तयारीहरू सबैथोक व्यर्थ हुन जान्छन्। परिवारबाट अलग रहनु, आफूलाई श्रेष्ठताको पहिरन पहि–याइ अरूको विरोध गर्नु, अरूको कमजोरी औंल्याइ उनीहरूसँग दूरी बनाउनु आध्यात्मको चिह्न होइन, यो त पाखण्ड मात्र हो। सबैलाई आफैं जस्तो बनाउने इच्छा राख्नु, सबैलाई आफ्नै दृष्टिकोणले हेर्नु नै मानिसको सबैभन्दा ठूलो कमजोरी हो। जब मानिसले आफ्नो परिवारका सदस्यहरूलाई आफैं जस्तो बनाउन सक्दैन, तब तिनीहरूसँग नाता तोडिदिन्छ। उसले सोच्छ कि मलाई मेरो आत्मकल्याण गर्नु छ, त्यसैले म यिनीहरूबाट टाढै बस्छु। विश्वभरिका मानिसलगायत जीव, चराचर सबैको कल्याण गर्ने भाव र सबै जीवात्मालाई समान भाव राख्ने मानवले मात्र स्वर्गीय आनन्द यसै जुनीमा पाउन सक्छ। तर आफ्नो परिवारलाई समेत समभाव राख्न नसक्ने मानिसले कसरी आफूलाई आनन्द भावमा लैजान सक्ला। उसले आफूलाई रूपान्तरण गर्न चाहँदैन, उसले आफ्नो गलत सोचाइलाई परिवर्तन गर्न चाहँदैन। उसले आफैंलाई ठीक सोच्छ र भन्छ– मैले बिल्कुलै ठीक गरिराखेको छु, मैले गलती नै गरेको छैन भने म किन आफूलाई रूपान्तरण गरूँ। मेरा त परिवर्तन गर्न योग्य गुणहरू केही छैनन्। परिवर्तन त अरूले हुनुपर्छ। उनीहरूले मेरा धारणाहरूलाई मान्नुपर्छ। यस्ता यथास्थितिवादीहरूले यो मानव जुनीमा आनन्द प्राप्त गर्न सक्दैनन्।
सूक्ष्मरूपले जीवनलाई केलाउने हो भने कम वा बेसी गलती सबैले गरिरहेका हुन्छन्। अरूलाई परिवर्तन हुनको लागि शिक्षा त सबैले सजिलै दिन्छन्। अरूलाई परिवर्तन गराउने कोशिश पनि धेरै गर्छन्। तर आफू स्वयंलाई परिवर्तन गर्न चाहँदैनन्। कहिलेकाहीं उसले सोच्छ, अब म पनि रूपान्तरण हुन्छु, म आफूलाई पनि रूपान्तरित गर्छु तर जागरणको अभावको कारणले गर्दा उसको त्यो निर्णय पनि साकार हुन नपाउँदै गर्भमैं तुहिन जान्छ। उसले आफूलाई बदल्न सक्दैन। यदि मानिसले म एकदम ठीक छु। मेरो विचार र धारणाहरू ठीक छन् भन्ने सोच आफूभित्रबाट हटाएर आफूलाई परिवर्तन गर्ने निश्चय गरेमा आफ्ना धेरै कुरा परिवर्तन योग्य पाउने छ। यो तरीका उसले जुन दिनदेखि अपनाउनेछ, त्यस दिनदेखि उसले आफ्नो जीवनमा आनन्द प्राप्त गर्दै जानेछ।