• विश्वराज अधिकारी

रूसी राष्ट्रपति भ्लादिमीर पुटिन केवल हत्यारा मात्र होइनन्, उनी ठूला आर्थिक अपराधी पनि हुन् । उनको स्वेच्छाचारी एवं अराजक क्रियाकलापले गर्दा विश्व अर्थव्यवस्था अहिले ज्यादै सङ्कटग्रस्त हुन पुगेको छ । खासगरी गरीब राष्ट्रहरूको आर्थिक स्थिति झनै नाजुक हुने अवस्था उत्पन्न भएको छ ।

पुटिनका सेनाहरूले अहिले युक्रेनमा ठूलो र बर्बर किसिमले नरसंहार गरिरहेका छन् । रूसी सेनाहरूले युक्रेनमा अहिले ह्दयहीन भएर क्षेप्यास्त्र र बमका वर्षा गरिरहेका छन् । अहिलेसम्ममा २० हजारभन्दा बढी युक्रेनीको ज्यान गइसकेको छ भने लाखौंका सङ्ख्यामा व्यक्तिहरू घाइते भएका छन् । कसैको हात छैन भने कसैको खुट्टा छैन । कोही जीवनभरका लागि अन्धा भएका छन् । बालकहरूसमेतको पनि हत्या गर्न बाँकी राखेका छैनन्, पुटिनका सेनाहरूले । आवासीय भवन त के अस्पतालसमेतमा पनि उनीहरूले बम वर्षा गरिरहेका छन् । त्यतिमात्र कहाँ हो र पुटिनका सेनाहरूले युक्रेनमा ठूलो सन्त्रास फैलाउनका लागि युक्रेनी महिला र युवतीहरूको सामूहिक बलात्कारसमेत पनि गरिरहेका छन् । रूसी सेनाहरूको ती कार्यहरू युक्रेनी समाचारमाध्यम एवं पश्चिमी सञ्चारजगत्ले भनेको आधारमा यी कुराहरू भनिएको होइन । हालसम्म एक किसिमले तटस्थ बसेको देखिए पनि आफ्नो आर्थिक फाइदाका लागि रूसको नजीक हुन पुगेको भारतका पत्रकारहरूले भनेको आधारमा यी कुराहरू भनिएको हो । भारतीय पत्रकारहरूले आफूहरूले आफ्नो आँखाले रूसी सेनाहरूले बलात्कार गरेका युक्रेनी महिलाहरूसँग भेट गरेको भनी समाचारहरूमा उल्लेख गरेका छन् । यसबाहेक भारतीय पत्रकारहरूले युद्धपीडित अनेकौं युक्रेनीहरूलाई भेटेको र उनीहरूसँग अन्तर्वार्ता लिएकोसमेत उल्लेख गरेका छन् ।

राष्ट्रको लागि होइन केवल आफ्नो सत्ता लम्ब्याउनका लागि पुटिनले गरेको यो मानवताविरोधी एवं युद्ध अपराधका लागि उनी एक दिन अवश्य पनि अन्तर्राष्ट्रिय अदालतमा खडा हुनेछन् र स्लोभोदान मेलोसोभिचझैं सजाय भोग्नेछन् । पापले एक दिन अवश्य पनि धुरीबाट कराउनेछ ।

पुटिनकै भनाइ ‘रूसलाई घेराबन्दीमा पार्न नाटोले युक्रेनलाई उपयोग गरेको र युक्रेनले नाटोको कुरा नमानेर रूसलाई सहयोग गर्नुको सट्टा उल्टो नाटोको बुई चढेर रूसलाई तर्साउन खोजेको’लाई पत्याउने हो भने पनि युक्रेनका राष्ट्रपतिलाई रूसको पक्षमा ल्याउने अन्य विभिन्न कूटनीतिक तरीकाहरू थिए । तर ती तरीकाहरूको प्रयोग गर्नुको साटो आफ्नो सत्ता लम्ब्याउन र रूसभित्र आफू राष्ट्रवादको नाममा लोकप्रिय हुन पुटिनले युक्रेनमाथि सैनिक कारबाही गर्नुलाई एक अति सुवर्ण अवसरको रूपमा देखे । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनको आग्रहलाई बेवास्ता गरेको परिणामस्वरूप लाखौं युक्रेनीको हत्या गर्नु कुनै पनि दृष्टिकोणबाट उचित देखिंदैन । त्यस कारण युक्रेनमाथि रूसले गरेको आक्रमणका लागि रूस होइन मात्र पुटिनलाई जिम्मेवार ठहर गरेर इतिहासले उनीलाई मानवताविरोधी अपराधीको रूपमा प्रस्तुत गर्नेछ । युद्ध अपराधी ठहर गर्नेछ ।

तर यस आलेखमा भने हामी पुटिनको राजनीतिक होइन, आर्थिक अपराधबारे चर्चा गर्नेछौं । उनको यो दुष्कार्यले विश्व अर्थव्यवस्थालाई कसरी ठूलो खाडलमा खसाउँदै छ, त्यसबारे चर्चा गर्नेछौं ।

पुटिनको आर्थिक अपराधलाई बुझ्न वर्तमान विश्व अर्थव्यवस्थाको प्रकृति र स्वरूप बुझ्न आवश्यक रहेकाले आउनुहोस् सर्वप्रथम त्यसलाई बुझौं ।

वर्तमान विश्व अर्थव्यवस्था १९ र २०औं शताब्दीको जस्तो छैन । वर्तमान विश्व अर्थव्यवस्थाको प्रकृति एवं स्वरूप भिन्न र विशेष किसिमको छ । वर्तमान विश्व अर्थव्यवस्थामा प्रत्येक राष्ट्र विश्व अर्थव्यवस्थासँग अनिवार्य किसिमले जोडिनुपरेको छ । किन र कसरी ?

वर्तमान विश्व अर्थव्यवस्थामा संसारका कुनै पनि राष्ट्रले आफ्नो देशलाई आवश्यक पर्ने सम्पूर्ण वस्तु एवं सेवाहरू उत्पादन आफू स्वयम्ले नै गर्दैन । अमेरिका, जापान, फ्रान्स, जर्मनी जस्ता धनी राष्ट्रहरूले पनि गर्दैनन् ।

वर्तमान विश्व अर्थव्यवस्थामा कुनै पनि राष्ट्रले आफ्नो देशमा उत्पादन गर्दा सस्तोमा उत्पादन गर्न सकिने वस्तुहरू मात्र उत्पादन गर्छन् र ती वस्तुहरूलाई महँगोमा बिक्री हुन सक्ने राष्ट्रहरूमा लगेर बिक्री गर्छन् । यसैगरी, कुनै पनि राष्ट्रले आफ्नो देशमा उत्पादन गर्दा महँगोमा उत्पादन हुने वस्तु आफ्नो देशमा उत्पादन गर्दैनन् र त्यो वस्तु अन्य राष्ट्रहरूबाट जहाँ सस्तोमा खरीद गर्न सकिन्छ, त्यहाँबाट सस्तोमा खरीद गर्दछन् । बुझ्न सजिलोको लागि यहाँ एउटा उदाहरण प्रस्तुत गर्दछु । अमेरिकाले संसारभरिमा नै सस्तोमा भटमास उत्पादन गर्दछ र आफ्नो देशमा उत्पादित भटमास महँगोमा विभिन्न राष्ट्रहरूलाई बिक्री गर्छ । खासगरी चीनलाई ठूलो परिमाणमा भटमास बिक्री गर्छ । त्यही अमेरिकाले फेरि ठूलो परिमाणमा तयारी लुगाहरू सस्तोमा चीनबाट खरीद गर्छ । अमेरिकाले आफ्नो देशभित्र ती तयारी लुगाहरू उत्पादन गर्ने हो भने उत्पादन लागत चर्को हुन पुग्छ । त्यस कारण अमेरिकालाई चीनबाट लुगाफाटो आयात गर्नु सस्तो हुन पुग्छ अनि चीनबाट आयात गर्छ ।

आफ्नो देशभित्र उत्पादन गर्दा सस्तोमा उत्पादन हुने वस्तुहरू मात्र उत्पादन गर्ने र महँगो हुने वस्तुहरू आयात गर्ने । यसैगरी, आफ्नो देशमा सस्तोमा उत्पादन गर्न सकिएका वस्तुहरू विश्व बजारमा महँगोमा बिक्री गर्ने सामान्य सिद्धान्तमा रहेर अहिले संसारका लगभग सम्पूर्ण राष्ट्रले कार्य गरिरहेका छन् । यो कारणले गर्दा अहिले संसारका प्रत्येक राष्ट्र अन्तर्राष्ट्रिय अर्थव्यवस्थामा आबद्ध हुनुपरेको छ । परिमाणस्वरूप अहिले विश्वका प्रत्येक राष्ट्र अन्य राष्ट्रहरूमा निर्विकल्परूपमा आश्रित हुनुपरेको छ, जर्मनी ऊर्जाका लागि रूसमाथि आश्रित भएझैं । रूसबाट अहिले जर्मनीले ऊर्जा आयात नगर्ने हो भने जर्मनीको व्यापार र उद्योग अति प्रभावित भएर, उत्पादनमा ¥हास आएर, जर्मनीमा ठूलो बेरोजगारी हुने स्थिति उत्पन्न हुन सक्छ । त्यस कारण जर्मनीले नचाहँदा नचाहँदै पनि रूसबाट ऊर्जा आयात गर्नुपर्ने बाध्यात्मक स्थिति छ ।

पुटिनले युक्रेनमाथि हमला गरेर व्यापारको क्षेत्रमा रहेका विभिन्न राष्ट्रहरूको अन्तरनिर्भरतालाई नराम्ररी भत्काइदिएको छ । युक्रेनमाथि गरिएको हमलाले विश्वभरिमा तेल (पेट्रोलियम पदार्थ)को मूल्यवृद्धि मात्र गरेको छैन साथै तेलको आपूर्तिलाई अति अनिश्चितसमेत  पारिदिएको छ । यो कारणले गर्दा पनि नेपालमा तेलको भाउमा वृद्धि भएको हो र यो युद्ध जारी रहेमा तेलको भाउ झनै आकाशिनेछ । त्यस कारण नेपालमा पेट्रोल, डिजेलको मूल्य बढेकोमा नेपाली जनताले नेपाल सरकारको विरोध गर्नुको साटो रूसी दूतावासमा गएर पुटिनको आर्थिक अपराधको विरोध गरे बेस हुनेछ ।

युक्रेनमाथि रूसी आक्रमणले गर्दा अमेरिका जस्तो विश्वको सर्वाधिक धनी राष्ट्रको पनि आर्थिक स्थिति समस्याग्रस्त हुन पुगेको छ । अमेरिकामा चालीस वर्षयता सर्वाधिक मुद्रास्फीति हुन पुगेको छ । अमेरिकामा अहिले विभिन्न उपभोक्ता वस्तुहरूको मूल्य १० देखि १५ प्रतिशतले वृद्धि भएको छ । अमेरिकाले ठूलो परिमाणमा युक्रेनबाट विभिन्न सामग्रीहरू आयात गर्दछ । युक्रेनबाट अमेरिकामा हुने आयात व्यवस्था यो युद्धले गर्दा अनिश्चित हुन पुगेको छ ।

युक्रेनले ठूलो परिमाणमा खाद्यान्न युरोपका विभिन्न मुलुकहरूलाई निर्यात गर्दछ । अहिले युक्रेन युद्धरत हुन पुगेकोले उसको निर्यात व्यवस्था नराम्ररी प्रभावित हुन पुगेको छ र परिणामस्वरूप विभिन्न देशहरूमा सामानहरूको अभाव हुन पुगेको छ ।

सजिलै सबैले बुझ्न सक्ने किसिमले भन्ने हो भने शान्त रहेको तलाउ (विश्व अर्थव्यवस्था)मा अर्थ न बर्थसँग पुटिनले ठूलो ढुङ्गा प्रहार गरेर हलचल (भताभुङ्ग) उत्पन्न गराइदिएका छन् । विश्व अर्थव्यवस्था अनिश्चित पारिदिएका छन् । र यो अनिश्चितताले गर्दा सर्वाधिक पीडित भने गरीब देशका नागरिकहरू हुनेछन् । गरीब देशका नागरिकहरू कोभिड–१९ को कुप्रभावको चपेटामा त थिए नै, अब पुटिनको दुष्कर्मको चपेटामा पर्नेछन् । संसारभरिका गरीबहरूको आर्थिक स्थिति झनै नाजुक हुनेछ ।

संसारभरिका गरीब नागरिकहरूलाई पुटिनले आफ्नो दुष्कर्मले सताएका हुनाले नै यिनलाई आर्थिक अपराधी भन्नुपरेको हो ।

धनी राष्ट्रहरूले आफ्ना अन्य विभिन्न स्रोतहरूको प्रयोग गरेर भएपनि आफ्ना देशका नागरिकहरूलाई आर्थिक सहयोग गर्नेछन् तर गरीब देशहरूलाई आफ्ना गरीब नागरिकहरूलाई आर्थिक सहयोग गर्न कठिन हुनेछ । विश्वमा गरीबी झन बढ्नेछ । यो कारणले गर्दा पनि पुटिनलाई आर्थिक अपराध गर्नबाट रोक्न अति आवश्यक छ ।

केवल आफ्नो उच्च महŒवाकाङ्क्षा पूरा गर्नका लागि पुटिनले जस्तोसुकै अपराध गर्न बाँकी राखेका छैनन् । रूसमा नै पनि रूस–युक्रेन युद्धको नराम्रो असर देखिन थालेको छ । रूसको आर्थिक स्थिति पनि सङ्कटग्रस्त हुन थालेको छ । रूस पनि विश्व अर्थव्यवस्थाको एक अङ्ग हो । रूसले ठूलो परिमाणमा विश्वका अनेक राष्ट्रहरूलाई ऊर्जा बिक्री गर्दछ ।

रूसको सञ्चारमाध्यम पुटिन नियन्त्रित भएकोले रूसको अर्थतन्त्रमा यो युद्धले पारेको असरको ठीकठीक जानकारी प्राप्त हुन सकेको छैन । तर जानकारहरू भन्छन्– रूसको आर्थिक स्थिति पनि सङ्कटनजीक पुग्दैछ । यो तथ्यको आधारमा पनि, रूसी जनताको लागि पनि, पुटिन एक आर्थिक अपराधी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here