गलेश्वर, १० कात्तिक/रासस

धेरै मानिसको रहर काठमाडौंमा घर बनाउने, त्यहीं बस्ने र रमाउने हुन्छ । यही रहर पूरा गर्नका लागि कैयौं व्यक्ति विदेश जान्छन् । गाउँको जायजेथा बेचेरै भएपनि दुई/तीन आनाको टुक्रे जग्गा किनेर काठमाडौंमा घर बनाउँछन् तर म्याग्दीका एक व्यक्ति कोरिया र काठमाडFैं छोडेर गाउँमा स्थानीय जातका कुखुरापालन र १४ रोपनी क्षेत्रफलको धान फल्ने खेतमा केराखेती गरेर गाउँमा नै रमाएर बसेका छन् ।

काठमाडौंको गोङ्गबुमा रहेको आफ्नो पाँच तले घर अरूलाई भाडामा दिएर गाउँ फर्किएका बेनी नगरपालिका–२ बगरफाँटका दुर्गाबहादुर थापाको दैनिकी कुखुरा र केराखेतीको स्याहारसुसारमा बित्ने गर्छ ।

करीब २० वर्ष कोरिया बसेर फर्किएका थापा काठमाडौंमा घर बनाएर एक दशकसम्म होटेल व्यवसायमा पनि लागे । आफ्नै घरमा सञ्चालन गरेको सपना गेस्ट हाउस अहिले अर्कैलाई भाडामा दिएको उनले बताए ।

बिहान उठेदेखि राति नसुतुन्जेलसम्म उनी कुखुराको खोर र केराबारीमा नै व्यस्त रहन्छन् । काठमाडौंको बसाइलाई बिट मारेर गाउँ फर्किएका ५४ वर्षीय थापाले गाउँमा रहरलाग्दो गरी कुखुरापालन र केराखेती गरेका छन् । रु आठ लाखको लगानीमा उनले स्थानीय जातका कुखुरापालन गरेका छन् । “खोर बनाउन र कुखुराका चल्ला खरीद गर्न रु आठ लाख लगानी भइसकेको छ,” थापाले भने, “काठमाडौंको एकाकी जीवनभन्दा यही आनन्द छ । आफ्नै माटोमा रमाउनुको मज्जै बेग्लै हुँदो रहेछ । मनमा शान्ति छ, शरीरमा स्फूर्ति छ, यहाँभन्दा बढी के चाहियो र ?”

दुई वर्षअघि कोभिड–१९ को सङ्क्रमण शुरू हुने बित्तिकै पत्नी, छोरा र बुहारीसहित गाउँ फर्किएका थापाले कोरोना सङ्क्रमणको पहिलो लहर शुरू हुने बित्तिकै आठ रोपनी जग्गामा करीब एक हजार केराका बिरुवा लगाएर कृषि कर्मको शुभारम्भ गरे । “यो खेतमा पहिला धान फल्थ्यो, धानखेती गर्न लागत बढी लाग्ने, उत्पादन कम हुने, झन्झटिलो हुने र कृषि मजदूरको पनि अभाव हुने भएकाले मैले धान फल्ने खेतमा केराखेती गरेको हुँ,” घरपछाडिको केराबारीलाई देखाउँदै थापाले भने, “दुई वर्ष भयो, अब आउँदो वर्षदेखि केरा बिक्री गरेर वार्षिक रु चार लाखभन्दा बढी कमाई गर्ने लक्ष्य लिएको छु ।” थापालाई उनकी पत्नी र छोराले पनि सघाउने गरेका छन् । त्यसैगरी, थापाले यस क्षेत्रमा नै पहिलोपटक व्यावसायिकरूपमा स्थानीय जातका कुखुरापालन गरेका छन् । उनको खोरमा अहिले ६०० भन्दा बढी स्थानीय जातका कुखुरा बिक्री गर्नका लागि योग्य भएका छन् ।

प्रतिकुखुरा करीब तीन किलोग्राम बराबरका छन् । प्रतिगोटा रु दुई हजारका दरले बिक्री गर्न शुरू गरेका छन् । दशैंमा विशेष छुटका साथ कुखुरा बिक्री गरेको थापाले बताए । “मैले रहरले गरेको व्यवसाय हो, एकैपटक धेरै नाफा कमाउने उद्देश्यले मैले व्यवसाय गरेको होइन, ग्राहकलाई खुशी बनाएर पठाउने र सन्तुष्टि दिलाउने मेरो प्रयास हुनेछ,” उनले भने ।

घरवरिपरि रहेको १४ रोपनी जग्गामध्ये आठ रोपनीमा केराखेती र बाँकी ६ रोपनीमा फलफूल, तरकारी खेती गर्नाका साथै कुखुराको खोर बनाएका छन् । सानाठूला गरी तीनवटा खोरमा उनले स्थानीय जातका कुखुरा पालेका छन् । एउटा खोरमा कालिज प्रजातिको ‘कक्कड’ नामक कालो कुखुरा पनि बिक्रीयोग्य भएका छन् ।

“जीवनमा धेरै दुःख गरियो, धेरै थोरै कमाइयो पनि,” उनले भने, “तर कहीं पनि मन रमाउन सकेन, यसैले आफ्नै गाउँ फर्कियौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here