शाहरूख खानका छोरा आर्यन खानलाई पक्राउ गर्ने एनसिबी अधिकारीको अहिले निकै चर्चा छ । लागूऔषध नियन्त्रण ब्यूरो (NCB)का अञ्चल निर्देशक समीर वानखेडे अहिले विवादमा फसेका छन् । एनसिपी नेता नवाब मलिकले समीर वानखेडेमाथि धेरै गम्भीर आरोप लगाएका छन् । हाई प्रोफाइल रेभ पार्टी लागूऔषध प्रकरणमा समीरले अनुसन्धान गरिरहेका छन् । समीरको व्यक्तिगत र व्यावसायिक जीवन दुवैको चर्चा अहिले भइरहेको छ । समीर र शाहरूख यसअघि पनि आमनेसामने भइसकेका छन् ।
इन्डिया टुडेमा प्रकाशित रिपोर्ट अनुसार आजभन्दा १० वर्षअघि सन् २०११ मा समीर वानखेडेले शाहरूखलाई कारबाही गरेका थिए । शाहरूख लन्डन र हल्यान्डबाट छुट्टी मनाएर परिवारसँग भारत फर्केका थिए । त्यति बेला वानखेडे भन्सार विभागमा थिए । उनले शाहरूखलाई २० वटा झोलामा सामान ल्याएकाले विमानस्थलमा रोकेका थिए । यस मामिलामा समीरले शाहरूखलाई लामो समयसम्म प्रश्न गरेका थिए ।
यतिमात्र होइन, सीमाभन्दा बढी सामान ल्याएकामा शाहरूखलाई डेढ लाख रुपैयाँ जरिवाना पनि गरिएको थियो । अब यो मुद्दा समाप्त भएको १० वर्षपछि उनीहरू दुवैजना फेरि आमनेसामने भएका छन् । यसपटक आर्यन खानलाई लागूऔषध मुद्दामा समीरले पक्राउ गरेका छन् । शाहरूखका छोरा आर्यनलाई २ अक्टोबरमा रेभ पार्टीबाट पक्राउ गरिएको थियो । एनसिबीले आर्यनमाथि धेरै गम्भीर आरोप लगाएको छ ।
आर्यन खान, अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत आवेदन अक्टोबर २० मा खारेज भएको थियो । मुम्बई उच्च अदालतमा उनको जमानत याचिकामाथिको सुनुवाइ २६ अक्टोबरमा केही घण्टासम्म चलेको थियो । अब यस मुद्दाको सुनुवाइ आज बुधवार पनि भएको छ । तीनैजना हाई प्रोफाइल रेभ पार्टी लागूऔषध मामिलामा पक्राउ परेका हुन् । अभियुक्तहरू अहिले मुम्बईको आर्थर रोड जेलमा रहेका छन् ।