अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको छ –प्रम देउवा

0

काठमाडौं, १० कात्तिक/रासस

प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको बताएका छन् । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८औं स्थापना दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले बुधवार यहाँ आयोजना गरेको कार्यक्रममा काङ्ग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अदालतको परमादेशले संसद्, संविधान र लोकतन्त्र बचाएको बताएका हुन् ।

“केपी शर्मा ओलीलाई संसद् भङ्ग गर्ने अधिकार संविधानले दिएको थिएन, संविधानले नदिएको अधिकारलाई दुई/दुई पटक प्रयोग गर्दा सर्वोच्च अदालतले संविधान बचाएको हो,” उनले भने । पाँच दलको गठबन्धनबाट बनेको सरकारसँग स्पष्ट बहुमत रहेकाले जनादेश छैन भन्नुको कुनै अर्थ नरहेको प्रधानमन्त्री देउवाले बताए ।

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश र अदालतका बारेमा सरकार र आफ्नो पार्टीले केही नबोल्ने बताए । उनले भने, “यो अदालतभित्रको कुरा हो, उसैले यसको समाधान निकाल्न सक्छ ।” उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट भर्खरै राजीनामा दिएका गजेन्द्र हमाल काङ्ग्रेसकै नेता भएको समेत स्पष्ट पारे । प्रधानमन्त्री देउवाले पार्टीको १४औं महाधिवेशनलाई सफल बनाउन तरुण युवाको महŒवपूर्ण भूमिका रहने बताए ।

सो अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनमा अनवरत् योगदान गर्दै देशलाई सक्षम नेतृत्व दिएका युवाहरूका प्रेरणाका स्रोत प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले अभिनन्दनपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा तरुण दलका पूर्वअध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाँणले पार्टीलाई सबल, सुदृढ र सफल बनाउन तरुण युवाको महŒवपूर्ण भूमिका रहेको उल्लेख गरे । “काङ्ग्रेसको महŒवपूर्ण खम्बा भनेको तरुण हो, पार्टी बलियो बनाउन तरुण, युवाहरू एकजुट र बलियो हुनुपर्छ,” उनले भने ।

कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले लोकतन्त्रको रक्षा तथा पार्टीको विचारलाई संस्थागत गर्न र पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तरुण युवाहरू लाग्नुपर्ने बताए । उनले तरुण दलले पूर्णता नपाएकामा चिन्ता व्यक्त गर्दै हाम्रो र राम्रो काङ्ग्रेस निर्माणका लागि युवाहरू एकजुट हुन आग्रह गरे । युवाहरू देशको भविष्य र सम्पत्ति भएकाले यसलाई सही ढङ्गले परिचालन गर्नुपर्ने उनको भनाइ थियो ।

तरुण दलका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री महेन्द्र यादवले पार्टीलाई बलियो बनाउन तरुण दल एकजुट र क्रियाशील हुनुपर्नेमा जोड दिंदै आगामी निर्वाचनमा काङ्ग्रेसलाई बहुमत दिलाउन तरुण युवाको महŒवपूर्ण भूमिका रहेको बताए ।

तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले पार्टीलाई बलियो बनाउन र अन्याय, विकृति र विसङ्गतिविरुद्ध सधैं तरुण दल खरो भएर उभिने बताए ।

काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको सक्रियतामा विसं २०१० कात्तिक १० मा स्थापना भएको नेपाल तरुण दल विसं २०१७ पुस १ मा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई पक्राउ गरेसँगै निष्क्रिय अवस्थामा रहेको थियो ।

पुनः विसं २०५४ मा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले तरुण दलको पुनस्र्थापना गरेपछि तरुण दलले आफ्नो सङ्गठनलाई विस्तार गर्दै आएको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here